नृसिंह, देगुतलेजु र बालकुमारी मन्दिर पुनर्निर्माण हुने – Nepal Press

नृसिंह, देगुतलेजु र बालकुमारी मन्दिर पुनर्निर्माण हुने

रासस । मंगलबजारस्थित नृसिंह र देगुतलेजु तथा बालकुमारीमा रहेको बालकुमारी मन्दिर पुनःनिर्माण गरिने भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बिहीबार ‘महानगरपालिकाको १०२औं स्थापना दिवस’ मा ती मन्दिर पुनःनिर्माण गरिने जानकारी दिएका हुन् ।

उनका अनुसार बालकुमारी मन्दिर पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको काम भइरहेको छ भने लगनखेलको ‘न्हूपुखु’ पोखरी बनाउन डेढ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ।

जनतालाई कर र नक्सा पास गर्न महानगपालिका आउनु नपरोस् भनेर अनलाइन प्रविधिमार्फत सुविधा पुर्याउन लागिएको उनको भनाइ थियो । महानगरपालिकामा रहेका ७९ हजार घरदैलोमा ब्लक नम्बर नरहँदा घर पत्ता लगाउन कठिन भइरहेकाले सडक सञ्जालमा आधारित सो नम्बर राख्नका लागि अध्ययन गरिसकेको महर्जनले जानकारी दिए । ‘हामीले वडा नं ३ का एक हजार घरमा ब्लक नम्बर वितरण गरिसक्यौं,’ उनले भने, ‘आगामी वर्ष यहाँका प्रत्येक घरमा २१औं शताब्दीलाई सुहाउँदो नम्बर राखिसकिनेछ ।’

त्यसैगरी महानगरपालिकलाई स्मार्ट सिटी बनाउन स्मार्ट बत्ती, साइकल लेन र हरियाली प्रवर्द्धन गर्नुपर्ने आवश्यक रहेको हुँदा यो वर्ष वाग्मती पुलबाट सातदोबाटोसम्म ६७९ स्मार्ट सडक बत्ती हाल्ने काम लगभग सकिन लागिसकेको उनको भनाइ छ । यस वर्ष मङ्गलबजारबाट ग्वार्को अनि हिमालय होटलबाट अशोक सिनेमा हलसम्म तथा हरिसिद्धि, खोकना, बुङ्मती क्षेत्रमा पनि स्मार्ट बत्ती जडान गरिने योजना उनले सुनाए ।

अर्कोतर्फ महानगरपालिकामा अघि बढाइएको पानी र हरियालीजन्य परियोजनाअन्तर्गत जावलाखेलको पाँच ठाउँमा उद्यान निर्माण भइरहेको र लगनखेल अनि कुमारीपाटीको एक–एक ठाउँमा उद्यान निर्माण गरिने भएको उहाँको भनाइ थियो ।

महानगरपालिकाले अघि बढाएको हरियालीजन्य परियोजनाअन्तर्गत वाग्मती पुलबाट दायाँबायाँ हरियाली प्रवर्द्धनका विभिन्न काम भइरहेका छन् । ‘यी क्षेत्रमा हुर्किएका रुख बिरुवामा पानी हाल्न महानगपालिकाले एक ट्याङ्कर किनिसकेको छ भने पिम्बहाल र पूर्णचण्डी पोखरी पनि सुधार गरिसकेका छौं,’ उनले थपे,  ‘७.९ किलोमिटर चक्रपथ सडक महानगपालिकाभित्र पर्ने र ट्राफिक बत्ती व्यवस्थापन नहुँदा नेपाल सरकारलाई सो क्षेत्रमा स्मार्ट सिटी लाइट राखिदिन अनुरोध गरिरहेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर