ज्वाला संग्रौलाको अर्को काण्ड : प्रहरी हिरासतमै युवा नेतृमाथि हमला ! (भिडियो) – Nepal Press

ज्वाला संग्रौलाको अर्को काण्ड : प्रहरी हिरासतमै युवा नेतृमाथि हमला ! (भिडियो)

प्रहरी कार्यालयभित्रै प्रहरीलाई थर्काएर विवादमा आएकी ज्वाला संग्रौलाको अर्को अझ गम्भीर घटना बाहिरिएको छ । आफूमाथि ज्वाला र उनको समूहले प्रहरी हिरासतमै आक्रमण गरेको भन्दै एक युवा नेतृले महानगरीय प्रहरी परिसरमा उजुरी गरेकी छन् ।

उजुरी गर्ने खुस्बु घिमिरे भन्छिन्, ‘हिरासतभित्रै उनीहरूले मलाई अर्धनग्न बनाएर हमला गर्दा प्रहरी मुकदर्शक बन्यो ।’

गत १६ जेठको घटनाबारे खुस्बुको वर्णन उनकै शब्दमा :

बिहान १० बजे म १० वर्षको छोरासँगै खाना खाइरहेकी थिएँ । तलबाट ‘डोर बेल’ बज्यो । छोराले बाहिर गएर कौसीबाट हेर्‍यो ।

‘मामू, एकजना अंकल आउनुभएको छ, तल जानु रे,’ छोराले भन्यो ।

‘किन आउनु रे सोध न ?’ मैले भनेँ । छोरा फेरि बाहिर गयो र सोधेर आयो ।

‘प्रहरी अंकल रे । गौशलाबाट आउनुभएको,’ उसले भन्यो । प्रहरी भनेपछि म अलिक झस्किएँ । अघिल्लो दिन मलाई धेरै धम्कीका फोन आइरहेका थिए ।

उठेर कौसीमा गएँ । मुखमा मास्क लगाएका एक ‘ज्याङ्गो’ पुरुष उभिएका थिए ।

‘प्रहरी हो तपाईं ? कार्ड देखाउनुस् त,’ मैले सोधेँ ।

‘हो । छिटो तल आउनुस्, कुरा गरौं,’ उनी अलि हतारमा देखिन्थे । कार्ड देखाएनन् ।

‘तपाईंसँग पक्राउ पुर्जी छ ?’ आफूलाई पक्राउ गर्न आएको आशंकाले मैले सोधेँ ।

उनले सोधपुछको लागि मात्रै आएको र पक्राउ पुर्जी नभएको बताए । मेरो मनमा भने चिसो पसिसकेको थियो । त्यसैले एकजना पार्टीको साथीलाई फोन लगाएँ । उहाँले प्रहरी कार्यालयमा फोन गर्न सुझाव दिनुभयो ।

मैले तल कुरिरहेको मानिसलाई कौसीबाटै भनेँ, ‘सर, तपाईंले कार्ड पनि देखाउनु भएन । म पहिले प्रहरी चौकीमा बुझ्छु ।’

‘तपाईंले दुःख गर्नु पर्दैन । मै गर्छु फोन,’ उनले जवाफ दिए ।

मेरो हात जुठै थियो । हात धोएर म फेरि बाहिर निस्किएकी मात्र के थिएँ, केही युट्युवर र ‘अभियन्ता’सहित एक हुुल प्रहरी मेरो घरअघि जम्मा भइसकेका रहेछन् ।

बर्दी लगाएका प्रहरीले ठूलो स्वरमा भने, ‘खुस्बु घिमिरे तपाईं होइन ? तल आउनुस् ।’

म कपडा फेर्न रुमभित्र जान लागेकी मात्र के थिएँ, एक महिला प्रहरी सिधै पाँच तल्लामाथिको मेरो रुममा प्रवेश गरिन् ।

‘ल जौं, छिटो हिँड्,’ महिला प्रहरी कड्किइन् । म हतार-हतार लुगा फेर्न थालेँ । ‘घुम्न जान लागेको हो र हिरोनी हुनुपरो’ भन्दै उनले थर्काइन् ।

लुगा फेरेर निस्किँदा तल बसेका युट्यूवर मेरो घरको फोटो/भिडियो खिच्ने गरिरहेका थिए । उनीहरूले मेरो बच्चाको पनि फोटो खिचे ।

बाहिर प्रहरी र युट्युवर मात्रै थिएनन् । मैले पहिलेबाट चिनेकी ज्वाला संग्रौला, जेरी ताम्राकार, हिमाल उपाध्याय, हेमा श्रेष्ठ, मुना अधिकारी, शर्मिला वाइबा लगायतको ठूलै दलबल थियो । प्रहरी भ्यान बाटोमा खडा थियो ।

म छोरालाई तल भाडामा बस्ने इन्जिनियर भाइको जिम्मा लगाएर खुरुखुरु भ्यानको पछाडि गएर बसेँ । छोरा ‘म पनि मामुसित जाने’ भन्दै रुवावासी गरिरहेको थियो । मलाई भक्कानो छुट्न मात्रै बाँकी थियो ।

अघिअघि प्रहरीको भ्यान दौडिरहेका बेला पछिपछि युट्युबरहरू छाडा बोल्दै मेरा फोटो र भिडियो खिच्न थाले । मलाई प्रहरी चौकीमा पुग्दा नै सकस भइसकेको थियो ।

‘यसलाई मारेर त्यो जंगलमा फ्याँकिदिनुपर्छ । अब त घर पनि देखियो । यसको छोरालाई पनि ल्याएर सोधपुछ गर्नुपर्छ,’ यस्ता संवादहरू मेरो कानमा ठोक्किइरहेका थिए ।

महानगरीय प्रहरी वृत्त गौशालामा पुगेपछि मलाई सरासर भित्र लगियो । युट्यूवर र अभियन्ताको जमात पनि पछिपछि आयो ।

भित्र गएपछि मेरो सोधपुछ सुरु भयो । अभियन्ता र युट्यूवरहरू ममाथि अपशब्द बोलिरहेका थिए । त्यसपछि प्रहरीले भिडभाड भएको भन्दै पुरुषहरु जतिलाई बाहिर जान भन्यो । उनीहरु निस्किए र महिलाहरू मात्रै बाँकी रहे ।

सोधपुछका क्रममा मलाई सहायक निरीक्षक विजया पौडेलले आपत्तिजनक प्रश्न गरिन्, ‘रातभरि केटा लिएर हिँड्छस् रे, के हो ?’

डिएसपी जितेन्द्रबहादुर बस्नेत पनि त्यहीँ थिए । अभियन्ता र प्रहरीबीच स्पष्ट मिलेमतो देखिएको थियो । डिएसपीले मेरोसामु आएर एउटा फाइल देखाए । फाइलमा मैले लेखेको फेसबुक स्टाटसको फोटोकपी थियो ।

डिएसपीले भने, ‘यस्तो लेख्ने ? अरुलाई गाली-बेइज्जती गर्ने ? कानुन लाग्छ, मुद्दा लाग्छ भन्ने थाहा छैन तँलाई ?’

मैले स्पष्टीकरण दिन खोजेँ । उहाँ कन्भिन्स्ड हुनुभएन ।

त्यसपछि अरु प्रहरीलाई छलफल गराउनु भनेर डीएसपी सा’ब बाहिर निस्किनुभयो । अनि सइ पौडेलले मलाई फेरि अनेकथरि लाञ्छना लगाउन थालिन् । एकछिनमा उनी पनि खाना खान भनेर बाहिर निस्किइन् । कोठाभित्र अभियन्ताहरु र म मात्रै थियौं । बाहिर रहेका प्रहरीहरु काउन्टरबाट रमिता हेरिरहेका थिए ।

अनि सुरु भयो, ज्वाला समुहको हमला । उनीहरुले मलाई विभिन्न आरोप लगाएर गालीगलौज गर्न थाले । एकजनाले भिडियो खिचिरहेका थिए ।

‘भिडियो नखिच । म आएँ त यहाँ । कानुनले सजाय दियो भने भोगौंला नि त,’ मैले भनेँ ।

त्यसपछि शर्मिला वाइबा र ज्वालाले ‘तैंले हामीलाई अर्डर गर्ने ?’ भन्दै ममाथि हात हाले । उनीहरुले मेरो कपाल भुत्ल्याएर भुइँमा लडाए । ज्वालाले मेरो हातमा करप्प टोकिन् । शर्मिला र मुनाले बुटैबुटले मेरो छाति र पेटमा हान्न थाले । उनीहरुले मेरो लुगाहरू च्यातचुत पारेर अर्धनग्न बनाए । भित्रको ‘इनर वेयर’ पनि छिन्यो । तर, यति हुँदासम्म पनि बाहिर रहेका प्रहरी रोक्न आएनन् ।

घटना हुँदै गर्दा मैले चिनेका एक व्यक्ति आइपुग्नुभएको थियो । शर्मिलाले मलाई गमलाले हान्न खोज्दा उहाँले रोक्नुभयो ।

एक जना वृद्ध पनि त्यहाँ हुनुहुन्थ्यो । उहाँ चिच्याउनुभयो, ‘प्रहरी चौकीभित्र यसरी कुट्न मिल्छ ? यहाँको प्रशासन कहाँ गयो ? प्रहरीले यसरी किन कुट्न दिएको ?’

त्यसलगत्तै डिएसपी आउनुभयो । उहाँलाई देखेपछि आक्रमणकारी अलि शान्त भए ।

‘मैले महिला प्रहरीलाई छलफल गर्नु भनेर छोडेको । कहाँ गएछन् ?’ उहाँले भन्नुभयो ।

ज्वालाहरुले डिएसपीलाई उल्टै भने, ‘सर, यसले नै पहिले हामीलाई हात छाडेकी ।’

मेरो शरीरको कपडा धुजाधुजा भएको थियो । म रोइकराइ गरिरहेकी थिएँ । लुछिएका मेरा कपालहरु भुइँभरि छरिएका थिए ।

म भुइँमा अर्धनग्न भएर लडिरहँदा एक प्रहरीले भने, ‘तँ किन नाङ्गै सुतेकी ? तेरो गेस्ट आउँछ हो ?’

एकछिनपछि मलाई डिएसपीको कोठामा लगियो र मिलापत्र गर्न दबाब सुरु भयो । डिएसपीले फाइल पन्छाउँदै ज्वालातर्फ हेरेर भने, ‘तपाईंहरूको मुद्दा यहाँ हेरिँदैन । भोटेबहाल गएर साइबर ब्यूरोमा केस हाल्न सक्नुहुन्छ । यो मेरो अधिकारक्षेत्रभित्र पर्दैन ।’

त्यसपछि मैले रुँदै भनेँ, ‘डिएसपी साप, तपाईंहरूले मलाई यहाँ कुट्न ल्याउनुभएको ? यत्रो ग्याङले मलाई आक्रमण गर्दा प्रहरी मुकदर्शक बन्नुभयो । तपाईंसँग अलिकति पनि मानवीयता छैन ? कानूनको दायरामा आएको मान्छेलाई यसरी कपडासमेत च्यातेर अर्धनग्न बनाउँदा प्रहरीले कारवाही गर्नु पर्छ कि पर्दैन ?’

डिएसपीले उल्टै भने, ‘गल्ति तिम्रो छ । तिमीलाई ६ वर्षको सजाय हुनसक्छ । धरौटी हुनसक्छ । त्यसैले मिलापत्र गर ।’

उनले थपे, ‘यहाँभित्र त तिमीलाई यसरी कुटे । पछि तिम्रो घरमा गएर पनि कुट्लान् ।’

डिएसपीलाई थुप्रै ठाउँबाट फोन आइरहेको थियो । मैले पार्टीका एक साथीलाई जानकारी गराउन भ्याएकाले सायद माथि कुरा पुगेको थियो । बिस्तारै उनी मसँग नरम बन्दै गए ।

‘तिमीले जथाभावी लेखेर यस्तो भएको हो बहिनी । यस्तो लेख्न छाड । यस्तो लेख्यौ भने तिमीलाई मार्छन् यिनीहरूले । यो घटनालाई बिर्सिदेऊ । तिमीलाई डर लाग्छ भने म प्रहरी सिभिलमा खटाइदिन्छु,’ डिएसपीले मलाई भने ।

मलाई प्रहरी कार्यालयबाट घर जान सक्ने आँट पनि थिएन । मैले लगाएको सर्टका टाँक सबै छिनेका थिए । हातले दुवैतिर सर्ट समातेर शरीर ढाक्ने प्रयास गरिरहेकी थिएँ । मैले यस्तो अवस्थामा एक्लै घर जान नसक्ने बताएपछि प्रहरीले मोटरसाईकलमा राखेर घरमै ल्याइदिए । म अस्तव्यस्त हालतमा साँझ घर पुगेँ । त्यसको भोलिपल्टसम्म ओछ्यानबाट उठ्न सकिनँ ।

दुई दिनपछि मलाई महानगरीय प्रहरी परिसर टेकुबाट एक एसपीको कल आयो । उहाँले घटनाबारे सोध्नुभयो । मैले सबै कुरा सेयर गरेँ ।

‘तपाईं टेकु आएर एउटा उजुरी दिनुस्,’ उहाँले भन्नुभयो ।

त्यसपछि म गएर निवेदन दिएँ । प्रहरीले छलफलका लागि पीडकहरुलाई बोलाइरहेको छ । ज्वाला राहत बाँड्न व्यस्त रहेको भन्दै आएकी छैनन् । हेमा श्रेष्ठ र मुना अधिकारी आएका थिए । प्रहरीकै अगाडि अहिले पनि उनीहरू मलाई गालीगलौज गर्छन् ।

पछिल्लोपटक जेठ २८ गते छलफल गर्न प्रहरीले बोलाएका थिए । साँझ ५ बजेसम्म कुर्दा पनि ज्वालाहरू आएनन् ।

त्यो घटनादेखि म राम्ररी निदाउन सकेको छैन । मेरो छोरा पनि बारम्बार तर्सिरहन्छ । म न्यायको पर्खाइमा छु ।

प्रहरीको मौनता

नेकपा एमाले निकट युवा संघकी केन्द्रीय सदस्यसमेत रहेकी खुस्बुले हामीसँग सुनाएको घटना विवरण कति सही हो त ? हामीले यस विषयमा महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतसँग बुझ्न खोज्यौं । उनले खासै खुलेर बोल्न चाहेनन् ।

‘हामीले मिलापत्र गरेर पठाएका हौं । तर, उहाँ पछि महानगरीय प्रहरी परिसर टेकु जानुभएछ । अब सबै कुरा उतै सोध्नुहोला,’ डिएसपी बस्नेतले भने ।

‘प्रहरी कार्यालयभित्र आक्रमण भएको चाहिँ हो कि होइन भन्ने नेपाल प्रेसको प्रश्नमा उनी ‘मैले अब यो विषयमा बोल्न मिल्दैन’ भन्दै पन्छिए ।

मिलापत्र गरेको विषयमा खुस्बु भन्छिन्, ‘त्यसबेला त्यहाँबाट उम्किनका लागि मसित अरु उपाय नै भएन । धम्की दिएर मिलापत्रका लागि बाध्य पारिएको हो ।’

गौशलामा मिलापत्र गरेर निस्केको दुई दिनपछि खुस्बुले टेकुमा उजुरी दिएकी थिइन् ।

महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहलाई पनि हामीले सोध्यौं ।

उनले भने, ‘उजुरीकर्ताले आफूमाथि कुटपिट भएको भन्नुभएको छ । हामी छानविन गरिरहेका छौं । आइतबार दुवै पक्षलाई बोलाएका छौं । त्यसपछि निर्क्यौल गर्न सकिएला । अहिले थप बोल्न मिल्दैन ।’

प्रत्यक्षदर्शी यसो भन्छन् :

गौशला प्रहरी वृत्तमा लफडा हुँदाका एक प्रत्यक्षदर्शी हुन् निशान थापा । उनी आफू संयोगले त्यहाँ पुगेको बताउँछन् ।

उनको भनाइ जस्ताको तस्तै :

हामी अक्सिजन व्यवस्थापनमा स्वयम्सेवकका रुपमा खटिएका थियौं । त्यही सिलसिलामा गौशला पुग्दा प्रहरी कार्यालय अगाडि हेमा श्रेष्ठ बहिनीलाई देखेँ । नजिकबाट चिनेको भएकाले किन प्रहरी चौकी आइछन् भन्ने कौतुहल भयो र गाडी मोडेर उनीतिर गएँ ।

उनले खुस्बु घिमिरे भन्नेमाथि केस हाल्न आएको बताइन् । मलाई नाम सुनेजस्तो लाग्यो । ‘को खुस्बु घिमिरे ?’ भन्दा युवा संघको मान्छे हो भनेपछि मैले पनि चिनेँ । हाम्रो नजिकको सम्बन्ध थिएन, तर फेसबुकमा साथी भएकाले चिनेको हुँ । म आफू पनि एमाले भएकाले उहाँको विषयमा अलि बढी चासो लाग्यो ।

भित्रबाट ठूलो हल्लाखल्लाको आवाज आइरहेको थियो । के भएछ भनेर दौडिदै भित्र गएँ । भित्रको अवस्था तनावग्रस्त थियो । ज्वाला, शर्मिला वाइवा लगायतले खुस्बुमाथि हातपात र दुर्व्यवहार गरिरहेका थिए । कार्यालयमा एकजना महिला सइ हुनुहुन्थ्यो, तर केवल मुकदर्शक भएर बस्नुभएको थियो ।

पिट्न चाहिँ नराम्रोसँग पिटेका हुन् । उहाँको सर्टका टाँकहरूसमेत छिनेका थिए । प्रहरीकै अगाडि यस्तो दृष्य देख्दा दुःख लाग्यो र रिस पनि उठ्यो ।

पछि डिएसपी सा’ब आउनुभो । उहाँलाई मैले गाली पनि गरेँ । ‘डिएसपीसा’ब, के पारा हो ? हिरासतभित्रै हात हाल्न पाइन्छ ? तपाईं त ल्याङ्ग्रे हुनुहुँदो रहेछ भनेर गाली गर्दा उहाँले कुनै जवाफ दिनुभएन ।

यत्तिकैमा एकजना इन्स्पेक्टर आउनुभो । उहाँले ‘यिनीहरू समाजसेवी हुन् सर, केही गर्‍यो भने इस्यु हुन्छ’ भनेर डिएसपीलाई सम्झाउनुभयो । मलाई त भन् रिस उठ्यो । समाजसेवी भन्दैमा जसलाई यसरी हातपात गर्न पाइन्छ ?

त्यसपछि मैले एसपी अशोक सिंहलाई फोन गरेँ । उहाँले डीएसपीसा’बसँग कुरा गर्छु भन्नुभयो ।

म पनि एमालेको सदस्य हुँ । मजदुर संगठनमा छु । तर, मैले एउटै पार्टी भएकाले खुस्बुजीप्रति सहानुभूति राखेको होइन । मसँग उहाँको गहिरो चिनजान पनि थिएन । बरु हेमाजीसँग नै मेरो राम्रो थियो । तर, मैले आँखा अगाडि जे देखेँ, त्यसले साह्रै नमज्जा लाग्यो ।

आरोपितको दाबी : उनले पनि मुख छोडेकी थिइन्

घटनाका दुई प्रमुख आरोपीमध्ये ज्वाला संग्रौलासँग कुरा गर्न बारम्बार प्रयास गर्दा उनको फोन रिसिभ भएन । अर्की शर्मिला वाइवासँग हाम्रो सम्पर्क भयो ।

सुरुमा उनले आफू खुस्बु घिमिरे भन्ने कसैलाई नचिनेको दाबी गरिन् ।

‘मलाई यो विषयमा केही पनि थाहा छैन, म खुस्बु घिमिरे चिन्दिनँ,’ उनले भनिन्, ‘सब पुलिसलाई सोध्नुस् ।’

तर, तपाईले खुस्बु घिमिरेलाई पिटेको भनेर फेसबुकमै लेख्नुभएको रहेछ त ?’ भन्दा उनले जवाफ दिइन्, ‘मैले खुस्बु घिमिरेको नाम लेखेको छ र ?’

उहाँको स्टाटसमा कमेन्ट गरेर लेख्नुभएको रहेछ । कसलाई भन्न खोज्नुभएको त ?

‘कति जनाले फेक आइडी बनाएका छन्, शर्मिला वाइवा भनेर । कहिले ह्याक पनि हुन्छ । फेरि मैले कसैको नाम लेखेको भए पो त,’ उनले गोलमटोल कुरा गर्दै भनिन् ।

तपाईं प्रहरी चौकी त जानु भएको थियो नि होइन ?

‘म त्यहाँ ?’ अलि अक्मकिदै भनिन्, ‘म गएको त थिएँ । तर मलाई भित्रै जान दिएनन् । बाहिरै बसेको हो ।’

किन जानुभएको थियो ?

त्यो खुस्बु भन्नेले ज्वाला दिदीमाथि पटक-पटक नराम्रो शब्द फेसबुकमा लेखेको भएर हामी उजुरी गर्न गएको हो ।

अनि खुस्बुलाई पक्राउ गर्न प्रहरी उहाँको घर जाँदा तपाईंहरु चाहिँ किन सँगसँगे जानुभएको ?

‘कहाँ जानु घरमा गएको छैन । गएको प्रमाण भए देखाउनुस । खुस्बुको कुरा सुन्यो भने त पागल हुनुहुन्छ । हामी पुलिस चौकीमा मात्रै गएको हो ।’

अनि तपाईंहरुले उजुरी गरेपछि प्रहरीले पक्राउ गरेर ल्याउँदासम्म पुलिस चौकीमै बसिरहनुभयो ?

हो । तर, मलाई त भित्र पस्नै दिएन नि । ज्वाला दिदी, मुना अधिकारी दिदीहरु भित्र जानुभएको हो । म त बाहिरै बसेँ ।

तर खुस्बुले त ज्वाला र तपाईंले हातपात गरेको भनेर उजुरी हाल्नुभएको छ नि ?

त्यो कुरा प्रहरीमा सोध्नुस । उसले प्रहरी चौकीभित्र बोलेका शब्द सुन्नुभयो भने तपाईं बौलाउनुहुन्छ ।

उहाँले नराम्रो शब्द बोलेपछि हातपात गर्नुभएको हो ?

पहिले उसैले हात हालेको हो । हामी त निवेदन दिन र छलफल गर्न भनेर गएका हौ.। किन हात हाल्नु ?

अघि भित्रै गएको थिइनँ भन्नुहुन्थ्यो । खुस्बुले अपशब्द बोलेको र हातपात गरेको कसरी देख्नुभयो ?

(फेरि अक्मकिदै) हामीसँग भ्वाइस रेकर्ड थियो नि त ।

(त्यसपछि ‘भयो म बोल्दिनँ’ भन्दै उनले फोन काटिन् ।)

अर्की आरोपी ज्वावाले यस घटनालाई लिएर लेखेको स्टाटस भेटिएको छ । उनले खुस्बुको नाम उल्लेख नगरी आफ्नो चरित्र हत्या गरेकाले कारवाहीका लागि निवेदन दिएको बताएकी छन् । साथै प्रहरी चौकीभित्र सोधपुछका क्रममा खुस्बुले नै ‘स्याल जसरी झम्टेर आएको’ आरोप ज्वालाले लगाएकी छन् ।

हेर्नुस् स्टाटस

खुस्बु र ज्वालाको सम्बन्ध

इलामकी खुस्बु र झापाकी ज्वालाको सम्बन्ध निकै पुरानो हो । खुस्बुका अनुसार १८ वर्षअघि एउटा साहित्यिक कार्यक्रममा भाग लिने सिलसिलामा पहिलोपटक भेट भएका थियो । ज्वाला १५ वर्षअघि काठमाडौं आउँदा सुकेधारामा रहेको आफ्नै फ्ल्याटमा राखेको खुस्बुले बताइन् ।

‘खगेन्द्र संग्रौला (काका) ले आफूसँग राख्न नमानेको भन्दै मकहाँ आएकी थिइन् । मैल दुई वर्ष उनलाई आफ्नै फ्ल्याटमा राखेको हुँ,’ खुस्बुले भनिन् । तर, विस्तारै उनको चालचलन मन नपरेपछि हटाएको उनी बताउँछिन् ।

ज्वाला पछि जापान गइन् । जापान बस्दा नै सामाजिक सञ्जालमा चर्का स्टाटसहरु लेखेर भाइरल हुन थालिन् । सामाजिक कार्यका लागि भन्दै उनी रकम संकलन समेत गर्थिन् ।

अघिल्लो लकडाउनअघि ज्वालाले आफूसँग समाजसेवाका लागि पैसा मागेको तर आफूले नदिएपछि रिसाएको खुस्बुको दाबी छ । उनीहरूबीच दुरी बढ्नुको अर्को कारण चाहिँ वैचारिक द्वन्द्व पनि थियो ।

एमालेकी कार्यकर्ता खुस्बु सरकारको बचाउ गरेर नथाक्ने, अनि भाइरल गर्लका रुपमा चिनिएकी ज्वाला सरकारको सत्तोसरापमा रमाउने । यसै क्रममा दुवैले एकअर्काको नाम उल्लेख नगरी छेडखानीको क्रम सुरु भयो । आफ्नो स्टाटसमा उशृङ्खल र आपत्तिजनक शब्द प्रयाग गर्न दुवै हिच्किचाउँदैनथे ।

ज्वालाले खुस्बुमाथि उजुरी गर्न जानुको कारण चाहिँ उनले जेठ १४ गतेले लेखेको स्टाटस हो । त्यो स्टाटस खुस्बुको वालमा अहिले पनि छ । त्यसमा उनले ज्वालाको फोटोसमेत राखेर ‘बडीसेमिङ’ समेत गर्दै विभिन्न आरोप लगाएकी छन् ।

हेर्नुस् विवादित स्टाटसः

हामीले खुस्बुलाई सोध्यौं, ‘कसैको शारीरिक बनोटलाई लिएर सामाजिक सञ्जालमा व्यंग्य गर्ने वा अपुष्ट आरोप लगाएर चरित्र हत्या गर्ने काम दण्डनीय मानिन्छ भन्ने तपाईंलाई थाहा थिएन ?’

उनको जवाफ छ, ‘मेरो लेखाइमा केही तलमाथि भयो होला । तर, ममाथि अति नै तल्लोस्तरको गालीगलौज भएपछि सहनै नसकेर त्यस्तो लेख्न पुगेँ ।’

‘ठीक छ, मेरो स्टाटसको जिम्मेवारी लिएर कानून बमोजिम सजाय भोग्न तयार छु । तर प्रहरी चौकीभित्रै प्रहरीकै अगाडि मलाई नांगेझार पारेर कुट्ने आक्रमणकारी र मुकदर्शक प्रहरीमाथि के कारवाही हुन्छ ?’

कुटपिटबाट आफ्नो हातको नशा चुँडिएको उनले बताइन् ।

‘अहिले पनि यत्रो औषधि खाइरहेकी छु, राती निदाउन सकेको छैन, मेरो छोरामा समेत मानसिक असर परेको छ । मलाई घरबाट बाहिर निस्किन पनि दिँदैन । मामु कतै नजानुस, मान्छेहरुले पिट्छन् भन्छ,’ खुस्बुले सुनाइन् ।


प्रतिक्रिया

7 thoughts on “ज्वाला संग्रौलाको अर्को काण्ड : प्रहरी हिरासतमै युवा नेतृमाथि हमला ! (भिडियो)

  1. अरुसंग चन्दा मागेर समाजसेवाको नाटक गर्ने यस्ता पात्रहरु नेपालको काननु भन्दा माथि हुन् ? यिनिहरुलाई किन कार्वाहि हुदैन ? कोरोना भाइरस भन्दा यस्ता कथित् सामाजिक अभियन्ताहरुको प्रकोप धेरै भयो समाजमा ।

  2. Jwala sangaraula kasto manxe ho maile pani ramro sanga chineko xu. Tapai jwala ko fan bhayekale testo lageko hola, natra news ta thikai lagyo. Kasai na kasai le uchalerai jwala jasta kaudi ka manxe haru rasthasebak haru lai aatankit pardai hideka xan.

    1. Yo samajik kaam ko naam ma police ,patrakar , sarbsadharan lai dhamkaune ra arka ko paisa baat moz garne bakhra ko khol ma serni po rahe6 kanoon ko dayara ma lyaunu paro

  3. यी घिमिरेको स्टाटसमा मेरो समर्थन छ सत्य सुन्दा तितो नै हुन्छ ।तर शब्द चयन र सारिरिक बनावटको कुरा लेख्न नहुने तर यी कथित अभियान्ताहरु यसरी चन्दा असुलिको धन्दा गरेर मालिक बनेकै हुन कोहि बन्ने चक्करमै छन अनि जहाँ सम्म पादलाइ पनि बासना मानेर स्पर्श गर्नेको पनि कमि छैन यहाँ ।कानुनन चन्दा उठाउनु गैर कानुनी हो त्यसैले यो त्यो वा जो कोहिलाइ पनि यो अर्काको पैसामा समाजसेवी बन्ने छुट दिनु हुदैन ।समाजसेवा त त्यो हो जो आफ्नो पारिश्रमिकको पैसा काटेर जस्ले दिन्छ बृद्द बा आमाले बृद्द भत्ताको पैसा काटेर जो दिनुहुन्छ त्यो समाजसेवा हो ।अर्काको पैसा लियर त्यसमा पनि आफ्नो पालन पोषण गरेर उस्तै परे घर गाडी किनेर यसो कुखुरालाइ चारो छरेझै अर्काको पैसा छर्नु समाजसेवा हुँदै हुदैन ।यो कानुनन अपराध हो हामी कानुनी राज्यमा बिश्वास गर्छौ ।हुनुपर्ने पनि त्यही हो ।

  4. याे ज्वाला भन्ने काे हाे र? किन बिर्सेकाे महिलाकाे ईज्जतलाई अाफु पनि महिला हाे भनेर? सायद याे के काे उन्मादी हाे?

  5. Yo samajik kaam ko naam ma police ,patrakar , sarbsadharan lai dhamkaune ra arka ko paisa baat moz garne bakhra ko khol ma serni po rahe6 kanoon ko dayara ma lyaunu paro

Leave a Reply

Your email address will not be published. Required fields are marked *