नितेशजंग कुँवर किन पलायन हुँदैछन् नेपाली संगीतबाट ? – Nepal Press

नितेशजंग कुँवर किन पलायन हुँदैछन् नेपाली संगीतबाट ?

काठमाडौं । युवापुस्तामा लोकप्रिय गायक नितेशजंग कुँवरले आइतबार गरेको फेसबुक पोस्टले उनका प्रशंसकमाझ तरंग सिर्जना गरेको छ । स्टाटसमा उनले आइन्दा नेपाली गीत नगाउने संकेत गरेका छन् ।

नितेशले लेखेका थिए- प्रिय साथीहरु ! मलाई लाग्छ, अब मेरो नेपाली संगीत यात्रा टुंगोमा पुगेको छ । यो उतारचढावपूर्ण शानदार करिअरमा साथ दिने सबैलाई हार्दिक धन्यवाद ।’

उमेरले २६ वर्षमा हिँडिरहेका नितेशले छोटो समयमै किन विश्राम लिन खोजे त ? उनका फ्यानहरुमा कौतुहल छ । स्टाटसमा उनले केही कारण खुलाएका छैनन् ।

स्रोतका अनुसार कुँवर संगीत क्षेत्रबाटै पलायन हुन खोजेका भने होइनन् । तर, अब नेपाली गीत चाहिँ नगाउने उनको मनसाय रहेको स्रोतको भनाइ छ । उनी अब अंग्रेजी गीतमा केन्द्रीत हुन चाहन्छन् ।

केही महिनाअघि नितेशाले अंग्रेजी गीत सार्वजनिक गरेका थिए भने थप केही अंग्रेजी गीतहरु लन्चको तयारी गरेका छन् । ‘अंग्रेजी गीत पाइपलाइनमा भएकाले उनले यस्तो निर्णय गरेका हुन सक्छन्,’ उनी निकट स्रोतले भन्यो ।

नितेशले केही महिना अगाडि आफ्नो अंग्रेजी गीत सार्वजनिक गरेका थिए, जसले औसत सफलता पाएको छ ।

करिब पाँच वर्ष अगाडि ‘गेडाजस्तो जिन्दगी’ ले नितेशलाई चर्चामा ल्याएको थियो । उनको सर्वाधिक चर्चित गीत चाहिँ ‘हाम्रो नेपालमा’ हो, जसले यूट्यूवमा दुई करोडभन्दा बढी भ्यूज कमाएको छ । उनी सफ्ट मेलोडीका लागि चिनिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *