समानुपातिको नाम टुंग्याउन आज सबै दलहरु बैठकमा, ४ बजेसम्म आयोगमा बुझाइसक्नुपर्ने – Nepal Press

समानुपातिको नाम टुंग्याउन आज सबै दलहरु बैठकमा, ४ बजेसम्म आयोगमा बुझाइसक्नुपर्ने

काठमाडौं । प्रतिनिधिसभामा छनोट हुने समानुपातिक उम्मेदवारहरुको नाम टुंग्याउन राजनीतिक दलहरु अन्तिम छलफलमा जुटेका छन् । निर्वाचन आयोगले समानुपातिक सांसदको नाम बुझाउनका लागि आज ४ बजेसम्मको समय दिएको छ ।

समानुपातिक निर्वाचनको मतपरिणाम आएसँगै कुन पार्टीले कति सिट पाउने भन्ने टुंगो लागिसकेको छ । त्यसैबमोजिम आज दलहरुले आज निर्णय गरेर आयोगमा नाम बुझाउने छन् । चुनावअघि आयोगलाई बुझाएको बन्द सूचीबाट दलहरुले नाम छनोट गर्नुपर्ने छ । यसैका लागि सबै दलहरु आज आन्तरिक वैठकमा जुटेका हुन् ।

समानुपातिकमा सवैभन्दा बढी एमालेले ३४ सिट पाएको छ । यसैगरि दोस्रो स्थानमा रहेको कांग्रेसलाई ३२ सिट प्राप्त भएको छ । त्यसपछि क्रमशः नेकपा माओवादीले १४, राष्टिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपाले ५, जनमत पार्टीले ५ सिट जितेका छन् ।

आफूले पाएका सिटमा नाम छनोट गर्न दलहरुले आज वैठक बोलाएका छन् । चुनावपछि सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको वैठक अहिले बस्दैछ । दिउसो १ बजे बैठक बोलाइएकोमा बिहान ९ बजेलाई सारिएको थियो ।

समानुपातिकतर्फ सर्वाधिक सिट जितेको नेकपा एमालेको पनि अहिले वैठक बसिरहेको छ । पार्टीको सचिवालय वैठक केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको हो । एमालेले शुक्रबार बोलाएको वैठक तयारी नपुगेको भन्दै आजका लागि सारेको थियो ।

तेस्रो दल नेकपा माओवादीले भने हिजो नै वैठक राखेर छलफल गरेको थियो । महिलाको कोटामा सबै नामहरु फाइनल भए पनि दुई पुरुषको कोटामा विवाद रहेको स्रोतले बतायो । अन्ततः अध्यक्ष प्रचण्डले नै निर्णय लिने वैठकमा सहमति भएको छ ।

चुनावपछि चौंथो ठूलो दल बनेको रास्वपाले पनि समानुपातिकको नाम टुंग्याउन अहिले वैठक डाकेको छ । पार्टीको केन्द्रीय कार्यालयमा १० बजे वैठक बोलाइएको हो । जनमत पार्टीले भने समानुपातिकको नाम टुंग्याइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर