माओवादी अध्यक्षसहित ६ जना र ८ संस्थालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न ८ जना व्यक्ति र विभिन्न आठ वटा संस्थालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट लागु गरिएको निर्वाचन आचारसंहिता, २०७९ उल्लङ्घन गरेकाले आयोगले उनीहरूलाई स्पष्टीकरण साधेको हो ।
आयोगमा परेका उजुरी तथा प्राप्त जानकारी आधारमा प्रचण्डसहित, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत, बाराको पचरौता नगरपालिकामा प्रमुख जलन्धरसिंह जैसवार, हाम्रो नेपाल पार्टीका अध्यक्ष अनन्तराज घिमिरे, नुवाकोट प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ का नेकपा (एमाले)का उम्मेदवार बद्री मैनाली र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका सातौँ तहका अधिकृत गोकुल वस्तीलाई आयोगले स्पष्टीकरण सोधेको हो ।
यसैगरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, बीमा समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई आयोगको सहमति बमोजिम मात्र कार्यसम्पादन गर्न स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता भट्टराईले जानकारी दिए ।