प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ सुरु : सुरुमै सांसदले उठाए समावेशीताको सवाल – Nepal Press

प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ सुरु : सुरुमै सांसदले उठाए समावेशीताको सवाल

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले भारत, संयुक्तअधिराज्य बेलायत र संयुक्तराज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ सुरु गरेको छ । सरकारले भारतका लागि डा शङ्कर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूतमा प्रस्ताव गरी सुनुवाइका लागि संसदमा पठाएको हो ।

सुनुवाइका क्रममा प्रस्तावित राजदूतले आफ्नो अनुभव, योग्यता, क्षमता, सोंच र अवधारणा प्रस्तुत गर्नुहुने र त्यसमा संसदीय समितिलाई चित्त बुझेमा उनीहरुको नाम अनुमोदन हुनेछ । यसअघि समितिको आजको पहिलो बैठकमा प्रस्तावित राजदूतको नाम सिफारिमा समाबेशीताको प्रश्न उठाएर उजुरी गर्नुहुने उज्वलकृष्ण श्रेष्ठसँग छलफल गरिएको थियो ।

उनीहरु तीनै जनाको संसदीय सुनुवाइका लागि यसअघि बोलाइएको बैठक आवश्यक गणपूरक सङ्ख्या न्यून भएपछि स्थगन भएको थियो । ती मुलुकमा यसअघि रहेका राजदूत नीलाम्बर आचार्य, डा युवराज खतिवडा र लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएपछि त्यहाँ नेपाली राजदूत खाली रहँदैआएको छ ।

समिति सभापति लक्ष्मणलाल कर्णले तीनैजना प्रस्तावित राजदूतको सुनुवाइ आजै सम्पन्न हुने जानकारी दिए । राजदूतको संसदीय सुनुवाइको सुरुआत बेलायतका लागि प्रस्तावित राजदूत आचार्यबाट भएको छ ।

सुरुआतमै कांग्रेस सांसद पुष्पा भुषालले उजुरीको सूचना निकाल्नुअघि नै पर्याप्त छलफल गर्नुपर्ने बताइन् । उनी भन्छिन्, ‘समितिले राजनीति नियुक्तिका लागि गरिने सिफारिसमालाई गम्भीर रूपमा लिनु जरूरी छ । उजुरी लिनुभन्दा पहिले नै समावेशिताको प्रश्न उठ्नुपर्ने हो । प्रक्रियाअघि बढिसकेपछि बोल्नु अलि उपयुक्त हुँदैन । उजुरीको सुचना निकाल्नुअघि नै पर्याप्त छलफल गर्न सकिन्थ्यो । आगामी दिनमा गम्भीरतापूर्वक हेर्नुपर्छ । ’

एमाले सांसद सुमनराज प्याकुरेलले राजदूत नियुक्तमा समावेशीबारे प्रश्न उठाए । समावेशी नगरी गरिने राजदूत नियुक्तिमा समितिको ध्यान जानुपर्ने उनले बताए । ‘समावेशिताको प्रश्न गम्भीर उठ्यो, के कसो सरकारसँग जानकारी मागौं । अर्को बैठक बसेर सुनुवाइ अगाडि बढाउँ’ उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर