प्रि-बजेट राउण्ड टेबल: खस्किएको मनोबल बजेटमार्फत् उकास्न निजी क्षेत्रको माग (भिडिओ) – Nepal Press

प्रि-बजेट राउण्ड टेबल: खस्किएको मनोबल बजेटमार्फत् उकास्न निजी क्षेत्रको माग (भिडिओ)

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रको मनोबल उच्च बनाउँदै अर्थतन्त्र चलायमान बनाउने गरी ल्याउन निजी क्षेत्रले माग गरेको छ ।

बिहीवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको प्रि–बजेट राउण्डटेबल कार्यक्रममा बोल्दै अधिकांश निजी क्षेत्रका उद्योगी व्यवसायीहरुले यस्तो बताएका हुन् । उनीहरुले विगतमा सरकारले लिएका संकुचन नीतिको कारण निजी क्षेत्रको मनोबल कमजोर भएको भन्दै मनोबल उच्च बनाउने गरी विगतका नीतिहरुलाई परिमार्जन गरी खुकुलो नीति लिनुपर्ने बताए ।

उद्योगी व्यवसायीहरुले सरकारले बजेटमा एउटा नीति लिने र राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति फरक हुने हुँदा समस्या भएको बताए । उनीहरुले आगामी वर्षको बजेट र मौद्रिक नीतिको तालमेल मिल्ने गरी बजेट ल्याउन जरुरी रहेको बताए । व्यवसायीहरुले बैंकिङ क्षेत्र समेत अफ्ठ्यारो अवस्थामा पुगेको बताए ।

उनीहरुले सरकारले निजी क्षेत्रलाई नियमन गर्ने एजेन्सीहरु यकिन गर्नुपर्ने भन्दै काम देखाउनको लागि जथाभावी रुपमा निजी क्षेत्रलाई त्रसित बनाउने काम नगर्न आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीति र बजेटको तालमेल मिल्ने गरी बजेट ल्याउन जरुरी रहेको बताए ।

उनले भने,‘निजी क्षेत्रले रेगुलेसन र नियमन गर्ने मल्टिपल एजेन्सीहरु भए । त्यसलाई एकद्वार प्रणालीमार्फत नियमन गर्ने वातावरण बनाउनुपर्छ । त्यस्ता एजेन्सीहरुले देखाउनको लागि निजी क्षेत्रलाई गरेको नियमनले उद्योगी व्यवसायीहरुको मनोबल कमजोर बनाउँदै लगेको छ । अब आउने बजेटले स्पष्ट बनाउनुपर्छ । अहिले बैंकहरुले धेरै नाफा कमाए भन्ने भाष्य भएपनि नेपाली बैंकिङ उद्योगको अवस्था डरलाग्दो अवस्था छ । चैत मसान्तसम्मको आर्थिक अवस्था हेर्दा धेरैको नेगेटिभ तथ्याङ्क आएको छ । सरकार समयमा नै सुधार गर्न सकेन भने बैंकिङ क्षेत्रको समस्याले मल्टिपल असर पार्छ । आगामी बजेटले स्पष्ट मार्ग निर्देशन लिनुपर्छ । पुँजीगत खर्च भएको छैन । पुँजीगत खर्च बढाएर बाँकी भुक्तानीलाई तत्काल गरेर सकारात्मक सन्देश दिन जरुरी छ ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन ल्याउन आवश्यक रहेको बताए । कुल गार्हस्थ्य उत्पादन भन्दा बढी कर्जा बिस्तार भएको र दुरुपयोग भएको भाष्य कायम भएको उनको भनाइ छ । जिडिपीको ९० प्रतिशत कर्जामा कमर्सियल कर्जा र अन्य कर्जा छुुट्याउन आवश्यक रहेको बताउँदै उनले ९० प्रतिशत कर्जामा ५० अर्ब रुपैयाँ निजी क्षेत्रमा गएको कर्जा दुरुपयोग नभएको दाबी गरे

उनले भने,‘निजी क्षेत्रलाई हेर्ने देष्टिकोणमा पनि परिर्वतन ल्याउन आवश्यक छ । पछिल्लो दुई वर्षमा निजी क्षेत्रमा कर्जा धेरै गयो । कुलगार्हस्थ्य उत्पादन भन्दा बढी कर्जा गयो र दुरुपयोग भयो भन्ने भाष्य कायम भएको छ । जिडिपीको ९० प्रतिशत कर्जा गयो । ९० प्रतिशत कर्जालाई कमर्सियल कर्जा र अन्य कर्जा छुुट्याउनुपर्छ । ५० अर्ब रुपैयाँ निजी क्षेत्रमा गएको कर्जा दुरुपयोग भएको छैन । यति धेरै जलविद्युत आयोजना,रिसोर्ट र उद्योगहरु स्थापना भएको छ । सरकारका नीतिहरु दुरुपयोग भयो भन्ने हिसावले आए । निजी क्षेत्रको कर्जा कम गर्ने गरी संकुचनकारी मौद्रिक नीति ल्याउने काम भयो । पुँजी निर्माण घटेर २४.५ प्रतिशतमा आएको छ ।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सरकारले आर्थिक शिथिलताको अन्त्य गर्ने गरी बजेट ल्याउनुपर्ने बताए । उनले सरकारको नीति तथा कार्यक्रम र बजेटमा आर्थिक शिथिलताको अन्त्य प्राथमिकतामा पर्नुपर्नेमा जोड दिन्छन् । उनले निजी क्षेत्रको नीतिगत रुपमा संरक्षणको आवश्यकता रहेको उल्लेख गरे । उनले निजी क्षेत्रको ५० प्रतिशत सम्पतीमा ह्रास भएको पनि बताए । राजश्व संकलन बढाउने चेपुवामा निजी क्षेत्र परिरेहेको उनको भनाई छ ।

उनले भने,‘सरकारले आर्थिक शिथिलताको अन्त्य गर्नेगरी बजेट ल्याउनुपर्छ । सरकारको नीति तथा कार्यक्रम र बजेटमा आर्थिक शिथिलताको अन्त्य प्राथमिकतामा पर्नुपर्छ । निजी क्षेत्रको नीगित रुपमा संरक्षणको आवश्यकता छ । निजी क्षेत्रको ५० प्रतिशत सम्पतीमा ह्रास भएको छ । त्यसले गर्दा मुलुकमा लगानी गर्ने क्षमता कमजोर भएको छ । यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल माथि उठ्न सक्दैन । राजश्व संकलन पनि कमजोर छ । राजश्व संकलन बढाउने चेपुवामा निजी क्षेत्र परिरेहेको छ ।’

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले विद्युत बिक्री गर्न र प्रशारणलाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिनुपर्ने माग गरे । उनले निजी क्षेत्रलाई प्रसारणलाइन बनाउन दिँदा जलविद्युत क्षेत्रको विकासमा थप टेवा पुग्ने दाबी गरे ।

यस्तै नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालमा एसेट म्यानेजमेण्ट कम्पनी आवश्यक रहेको बताए । उनले एसेट म्यानेजमेण्ट कम्पनी बनाउनको लागि सरकारले छुट्टै ऐन बनाएर जानसके बैंकहरुले अरु क्षेत्रमा प्राथमिकता दिने बताए । बैंकमा पैसा भएपनि पुँजी पर्याप्त नभएका कारण कर्जा बिस्तारमा समस्या रहेको उनको भनाई छ ।

उनले पावर ट्रेडिङ लगानीको ठूलो क्षेत्र भएको र यसमा बैंकिङ क्षेत्रको लगानी बढाउन आवश्यक रहेको उल्लेख गरे । अध्यक्ष केसीले भौतिक पूर्वाधार क्षेत्रमा निजी क्षेत्र तथा बैंक सँगसँगै हुनुपर्ने बताउनु भयो । उहाँले पूर्वाधार क्षेत्रमा अहिले खराबकर्जा बढीरहेको बताए । उनले १० वर्षअघि २२ प्रतिशत रहेको आरओई अहिले ८.५५ रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *