एमाले कपिलवस्तुका नेतृत्वको लागि शर्मा र खनालले बनाए प्यानल – Nepal Press

एमाले कपिलवस्तुका नेतृत्वको लागि शर्मा र खनालले बनाए प्यानल

रुपन्देही । नेकपा एमाले कपिलवस्तुको १० औ अधिवेशनबाट नयाँ नेतृत्वका लागि अहिलेका अध्यक्ष डम्मर शर्मा र यसअघिका प्रतिस्पर्धी बाबुराम खनाल प्यानलगत चुनावी तयारीमा लागेका छन् ।

बुधबार अधिवेशन उद्घाटनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जसरी पनि सर्वसम्मत नेतृत्व छान्न दिएको निर्देशन विपरीत शर्मा र खनालले प्यानल तयार पारेका हुन् । ओलीले एकले अर्कोलाई त्याग गरेर सहमतिमा नेतृत्व छान्न र कुनै कारणले निर्वाचनमा जानुपर्ने भए प्यानल बनाएर नेताहरुको नाम नजोड्न निर्देशन दिएका थिए ।

उनले प्रदेश तथा जिल्ला इन्चार्जहरुलाई केन्द्रको यो निर्देशनलाई पालना गर्न बारम्बार दोहोराएर कार्यान्वयन गर्न आग्रह गर्दै समूहगत निर्वाचनमा गएर फाइदा कसैलाई नहुने बताएका थिए ।

नेताहरुले सर्वसम्मत नेतृत्व छान्ने प्रयास गरे पनि आकांक्षीहरुको व्यवस्थापन गर्न नसक्दा यो अवस्था आएको नेताहरुको विश्लेषण छ ।
नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष डम्मर शर्मा पुनः एक कार्यकाल आफैले नेतृत्व लिने तयारीमा छन् । उनले आफ्नो कार्यकाल पूरा नभएका कारण पुनः अवसर पाउनुपर्ने भन्दै प्रतिनिधिसमक्ष पुगेका छन् । शर्मा २०७८ पुसमा भएको ९ औँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

यसैगरी यसअघिकै प्रतिस्पर्धी बाबुराम खनाल पनि बलियो दावेदारका रुपमा अगाडि सरेका छन् । एमाले कपिलवस्तुका विभिन्न जनवर्गीय संगठन र पार्टीको लामो राजनीति गरेका खनाल जिल्ला सदस्य, सचिव, उपाध्यक्ष हुँदै पार्टीको प्रदेश कमिटी सदस्य बनिसकेका अनुभवी नेता हुन् ।

गत अधिवेशनमा अध्यक्षका लागि उम्मेदवार रहेका खनाल शर्मासँग पराजित भएका थिए । यस्तै एमाले कपिलवस्तुका उपाध्यक्ष रहेका विश्राम प्रसाद थारु पनि अध्यक्षका दावेदार रहेपनि उनलाई नेताहरुले फिर्ता गराएर अन्तै व्यवस्थापन गर्ने सहमति गरेका छन् । चौधरी पछाडि हटेपछि शर्मा र खनालबीच नै प्रतिस्पर्धा हुने भएको छ ।

उपाध्यक्षका लागि बाणगंगा नगर इन्चार्ज शंकर पाण्डे र जिल्ला कमिटी सचिवालय सदस्य भेषराज पाण्डे मुख्य प्रतिस्पर्धी रहेका छन् । सचिवमा अहिलेका सचिव सिबी गहतराज, सचिवालय सदस्य विश्व कार्की मुख्य प्रतिस्पर्धी रहेका छन् । उपसचिवका आकांक्षीहरु एक दर्जनभन्दा बढी छन् । उनीहरु व्यक्तिगत ढङ्गले प्रचारप्रसारलाई जोड दिएका छन् ।

बुधबार सुरु भएको अधिवेशनमा ५५९ जना प्रतिनिधि सहभागी रहेका छन् । अहिले बन्द सत्रका सबै काम सकिएर निर्वाचन प्रकृया सुरु भएको र केही समयमा उम्मेदारी दर्ता प्रकृया सुरु गरिने केन्द्रीय निर्वाचन समितिका सदस्य डा। हरि भण्डारीले जनाएका छन् ।

अहिले उम्मेदारी दर्ताको समय चलेपनि नेताहरुले सर्वसम्मत बनाउन पहल गरिरहेका छन् । यसका लागि एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल, प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज खिमलाल भट्टराई, बलाराम अधिकारीसहितका नेताहरु लागेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर