नेपाल प्रहरीमा प्राविधिक समूहतर्फ दुई डीआईजीको विशेष पद सिर्जना – Nepal Press

नेपाल प्रहरीमा प्राविधिक समूहतर्फ दुई डीआईजीको विशेष पद सिर्जना

काठमाडौं । सरकारले नेपाल प्रहरीमा प्राविधिक समूहतर्फ दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी)को विशेष पद सिर्जना गरेको छ ।

चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र केनाइन कार्यालयमा कार्यरत व्यक्तिको कार्यकाल समाप्त भएपछि स्वतः खारेज हुने गरी प्राविधिक प्रहरी समूहतर्फ दुई प्रहरी नायब महानिरीक्षक विशेष पद सिर्जना गर्ने निर्णय गरेको हो ।

सरकारको नियमित पत्रकार सम्मेलनअन्तर्गत आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिएकी हुन् ।

उनका अनुसार सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय गरेको छ ।

सिंहदरबारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता शर्माले संसद सचिवालयमा दर्ता भएको उक्त विधेयकलाई फिर्ता लिन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरिएको जानकारी दिइन् ।

त्यस्तै अन्तर्राष्ट्रिय कृषि विकास कोषबाट करिब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्नेसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको उनले बताइन् ।

नेपाल खानेपानी संस्थान कर्मचारी सेवा शर्तसम्बन्धी विनियमावली २०८० सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय भएको पनि उनले बताइन् ।

बैठकले ठूला आयोजना कार्यान्वयन अनुगमन तथा सहजीकरण निर्देशिका २०८० स्वीकृतसमेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *