शंकरदेव स्ववियुले गर्‍यो सरकारी सेवासम्बन्धी निःशुल्क ओरेन्टेसन – Nepal Press

शंकरदेव स्ववियुले गर्‍यो सरकारी सेवासम्बन्धी निःशुल्क ओरेन्टेसन

काठमाडौं । शंकरदेव क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले सरकारी सेवासम्बन्धी निःशुल्क ओरेन्टेसन कक्षा सञ्चालन गरेको छ । आज एक समारोहबीच लोकसेवा, बैंकिङलगायत विभिन्न सेवाका बारेमा स्ववियुले विद्यार्थीलाई निःशुल्क ओरेन्टेसन कक्षा सञ्चालन गरेको हो ।

कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव टोकराज पाण्डे, पूर्वसहसचिव हेमराज शर्मा, अर्थविद् खकेन्द्र कटुवाल, बैंकिङ क्षेत्रका जानकार कृष्ण निरौला, क्याम्पस प्रमुख डा. कृष्ण आचार्य र नेम इन्स्टिच्युटमा कार्यरत माधव पाण्डेयलगायतले सरकारी सेवाको महत्त्वबारे प्रस्ट पारेका थिए ।

दक्ष जनशक्ति सरकारी सेवामा प्रवेश गरे राष्ट्र निर्माणमा ठूलो टेवा पुग्ने उनीहरूको धारणा थियो । तलब लिएर राष्ट्र सेवा गर्न पाइने भएकाले सरकारी सेवाको ठूलो महत्त्व रहेको उनीहरुको भनाइ थियो ।

स्ववियु सभापति सुशान्त बस्नेतले शंकरदेव व्यवस्थापनको कलेज भएकाले सबै क्षेत्रको व्यवस्थापनको नेतृत्व लिन तयार रहेको बताए ।

‘हामी यहाँबाट उत्पादित जनशक्तिलाई मुलुकका प्रत्येक क्षेत्रमा स्थापित गर्न चाहन्छौं । शंकरदेवका विद्यार्थीहरूको नेतृत्वदायी कौशलता मुलुकका प्रत्येक क्षेत्रमा आवश्यक छ’, उनले भने ।

स्ववियु सचिव मदनराज उपाध्यायले अन्य क्याम्पसभन्दा शंकरदेवको स्ववियु निकै सक्रिय रहेको बताए । उनले आगामी दिनमा पनि यसखाले कार्यक्रमलाई निरन्तरता दिइने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर