हज यात्रीलाई मक्काको लागि गृहमन्त्री लामिछानेले गरे विदाइ
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १५० हज यात्रीलाई विदाइ गरेका छन् ।
गृहमन्त्री लामिछानेले बुधबार राति विभिन्न जिल्लाका हज यात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका हुन् । हिजरी संवत् १४४५ को हजका लागि पहिलो टोली साउदी अरब प्रस्थान गरेको हो।
पहिलो समूहको उडानमा १४९ हजयात्री र १ जना हज प्रतिनिधिमण्डल सदस्य गरी जम्मा १५० जना सहभागी भएका छन् ।
हज यात्री साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्का मदिना पुग्ने नेपाल हज समितिले जनाएको छ ।
यस वर्ष जम्मा ७६४ जना हजयात्री जाने समितिले जनाएको छ । बुधबार राति गएका हजयात्री साउदी अरबमा ४४ दिनको बसाईपछि २९ जुनमा फर्कने कार्यक्रम रहेको छ ।