‘डिग्री माइला’ को ट्रेलर- ‘कबड्डी’ को धङधङीबाट मुक्त, दयाहाङको भूमिकामा नयाँपन – Nepal Press

‘डिग्री माइला’ को ट्रेलर- ‘कबड्डी’ को धङधङीबाट मुक्त, दयाहाङको भूमिकामा नयाँपन

काठमाडौं । निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईको जोडीले दिने जुनसुकै ‘प्रडक्ट’ मा दर्शकको उच्च अपेक्षा हुन्छ ।

कबड्डी सिरिजबाट स्थापित यो ‘कम्बो’ को पछिल्लो निर्माणाधीन फिल्म हो- डीग्री माइला- एम ए थर्ड क्लास ।

प्रतीक्षित फिल्मको सूचीमा परिसकेको ‘डिग्री माइला’ को ट्रेलर आज रिलिज गरिएको छ । चार मिनेटभन्दा लामो ट्रेलर हेर्दा कबड्डी सिरिजमा जस्तै ग्रामीण परिवेशमा कथा बुनिएको र पात्रहरू उनै भए पनि विषयवस्तु पृथक देखिन्छ ।

फिल्ममा दयाहाङको भूमिकामा नयाँपन छ । उनले मास्टर डिग्री पास गरेको तर घमन्डी र अड्बाङ्गे चरित्रको युवकको भूमिका निभाएका छन् ।

ओखलढुंगाको रुम्जाटारस्थित एउटा क्याम्पसलाई अंग्रेजी पढाउने शिक्षकको सख्त आवश्यकता परेको छ । शिक्षकको खोजीका क्रममा सोही गाउँका दयाहाङको नाम प्रस्तावित हुन्छ । तर, उनले आफ्नो योग्यताको चर्को डिमान्ड गर्छन् । सोही गाउँकी युवती आँचल शर्मासँग दयाहाङको प्रेम देखाइएको छ, जो प्रेमीले गाउँमै बसेर कलेज पढाएको हेर्न चाहन्छिन् । दयाहाङ र आँचलको नोकझोक पनि ट्रेलरमा समेटिएको छ ।

बाँसुरी फिल्मसले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर यो चलचित्रको निर्माण गरेको हो । फिल्ममा दयाहाङ र आँचलका अलावा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ । ट्रेलरमा ऋचा शर्मा पनि देखिएकी छन् । चलचित्रले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ ।

यही नाममाथि अभिनेता दयाहाङकै निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भएको थियो । सोही नामको नाटकमा आधारित रहेर यो चलचित्र बनेको हो । चलचित्र आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *