मीनरत्नले कैद गरेको मनिषा कोइरालाको त्यो सर्सराउँदो तस्वीर – Nepal Press

मीनरत्नले कैद गरेको मनिषा कोइरालाको त्यो सर्सराउँदो तस्वीर

काठमाडौं । २०४५ सालतिर मीनरत्न बज्राचार्यले भर्खर फोटो पत्रकारिता सुरु गर्दै थिए । एउटा विज्ञापनमा देखिएकी एक नवयौवनाको ‘फ्रेस’ चेहराले उनको ध्यान तान्यो ।

त्यसबेला ‘रुपरंग’ नामक म्यागजिनमा काम गर्थे मीनरत्न । यी मोडेलको ‘रुपरंग’मा फोटोसेसन गराउन पाए गजब हुन्थ्यो भन्ने सोचिरहेका थिए । तर, उनी को हुन् भन्ने मेसो पाएका थिएनन् । खोजीनीति गरेपछि थाहा भयो- उनी रहिछिन् भूतपूर्व प्रधानमन्त्री बीपी कोइरालाकी नातिनी मनिषा कोइराला ।

‘विज्ञापनमा उहाँ साह्रै क्युट र इनोसेन्ट देखिनुभएको थियो । मलाई थाहा थिएन, उहाँ बीपी कोइरालाको नातिनी भनेर । त्यो बेला मैले ठ्याक्कै मनिषाको बुवा प्रकाश कोइरालालाई भेटेको थिएँ’, मीनरत्न सम्झिन्छन् ।

उनले प्रकाशलाई भने, ‘हाम्रो रुपरंग म्यागजिनमा तपाईंकी छोरीको फोटोसुट गर्न मन छ । कतिको सम्भव होला ?’

प्रकाशले सहज रुपमा लिँदै जवाफ दिए, ‘भाइको नम्बर देऊ न, छोरीले मानी भने कलब्याक गर्छु ।’

त्यसको एकदुई हप्तापछि उनलाई फोन आयो, ‘मीन भाइ, छोरीले मानिन्, खिच्न आउनुस् ।’

त्यो समयमा जनआन्दोलनको माहोल तयार हुँदै थियो । रमण घिमिरे र मीनरत्न झोला बोकेर मनिषाको घरतिर लागे । त्यो बेला अहिले जस्तो लाइटको सुविधा कहाँ थियो र ? झ्यालमा सिन्क्रोनाइज फ्ल्यास साइड साइडमा राखेर ब्याक लाइटहरु दिएर खिचियो । यो फोटो उनलाई एन्टीलाइटमा खिच्न मन थियो ।

फोटो खिचेपछि ‘रुपरंग’मा मनिषा, पार्वती अधिकारी, निशा शर्मा, निलम केसी, अग्नि गुरुङलगायत पाँच-सात जनाको कभर स्टोरी छापिएको थियो । उनीहरुमध्ये मनिषाको तस्वीरले नै सर्वाधिक चर्चा पायो । तस्वीरमा मनिषा औधी कोमल र सर्सराउँदी देखिएकी थिइन् ।

त्यसबेलासम्म मनिषाले फिल्ममा डेब्यु गरेकी थिइनन् । यो फोटो स्टोरी आएपछि मनिषालाई नेपाली चलचित्र ‘फेरि भेटौंला’बाट अफर आएको मीनरत्न बताउँछन् । सो चलचित्रमा मनिषाले प्रकाश अधिकारीको जोडी भएर खेलिन् । चलचित्र औसतमात्र चल्यो । तर, मनिषाको सुन्दरताको खुबै तारिफ भयो ।

मनिषाले नेपाली चलचित्रमा निरन्तरता दिइनन् । उनी सीधै बलिउड छिरिन् । प्रख्यात निर्देशक सुभाष घईले उनलाई ब्रेक दिए । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन । एक दशकभन्दा बढी बलिउडमा राम्रै हैकम जमाइन् ।

‘रुपरंग’ म्यागजिनमा फोटो छापिएपछि मनिषाको पहिलो नेपाली फिल्म ‘फेरि भेटौंला’ को सुटिङ सुरु भएको थियो । मीनरत्नलाई पनि सुटिङ रिपोर्ट गर्न आउने प्रस्ताव आयो । उनी पोखरा गए ।

पोखराको डाँडाकाँडामा फोटो खिचेर फर्केपछि उनी होटेल जान लागेका थिए । फिल्मको हिरो प्रकाश अधिकारीले रोकेर भने, ‘रुम शेयर गरेर बसौं । म पनि एक्लै छु । मसँगै मनिषाको रुम पनि छ । बेलुका खाना खाने बेला मौका पायो भने कुरा गर्न पाइन्छ ।’

त्यही हिसाबले होटेलमा रुम शेयर गरेर बसे । तर, मनिषाको राजनीतिक परिवार भएकाले सुरक्षा थियो । बोलचाल हुने कुरै भएन ।

पोखरामा खिचेको फोटो चाहिँ पछि कामना म्यागजिनमा ब्लोअपमा छापियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *