तीव्र विकासको जनचाहना पूरा गर्न समृद्धि यात्रालाई गति दिनेछौं : अर्थमन्त्री पुन – Nepal Press

तीव्र विकासको जनचाहना पूरा गर्न समृद्धि यात्रालाई गति दिनेछौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले जनताको तीव्र विकासको चाहना पूरा गर्दै समृद्धिको यात्रालाई गति दिन सरकारले ध्यान दिने प्रतिबद्धता जनाएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक २०८१ को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले नयाँ सत्ता समीकरणमा संलग्न राजनीतिक दलका तर्फबाट न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प तयार भएको भन्दै जनताको तीव्र विकासको चाहना पूरा गर्दै समृद्धिको यात्रालाई गति दिने बताए ।

उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीब्रता दिन र निजी क्षेत्रलाई विश्वासमा लिई अगाडि बढ्ने उनको भनाइ छ । पुँजीगत खर्चको न्यूनताको समस्या समाधान गर्न नीति, कानून र प्रक्रिया सुधार अघि बढाइने पुनको भनाइ छ ।

आवश्यकता, सम्भावना र सोचलाई सम्बोधन गर्नेगरी सन्तुलन मिलाएर आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता कायम गरिने उनको भनाइ छ ।

आगामी वर्षको बजेट सोह्रौं योजनाको सोच अनुसारको पहिलो वर्षको प्रमुख कार्यक्रम कार्यान्वयन गर्ने वर्ष हुने भन्दै अर्थमन्त्री पुनले सुशासन, सामाजिक न्याय र समृद्धिको सोचसहित कार्यान्वयनमा आउने योजनाबाट आगामी आर्थिक वर्ष संविधानमा उल्लेख भए बमोजिमको समाजवादउन्मुख अर्थतन्त्र र सामाजिक प्रणालीको विकासको लागि केही ठोस आधार तयार हुने धारणा राखेका छन् ।

बजारमा पहुँच र प्रविधि हस्तान्तरणलाई केन्द्रविन्दुमा राखी अतिकम विकसित राष्ट्रको दर्जाबाट स्तरोन्नति भएपछिको संक्रमणकालीन रणनीति कार्यान्वयन गरिने उनको भनाइ छ । सहकारी र लघु वित्तमा रहेका समस्या तथा र मिटरब्याज पीडितहरूको साथमा सरकार रहेको भन्दै उनले यसका लागि सरकारले काम अगाडि बढाइ सकिएको जानकारी दिए ।

कृषिलाई आर्थिक वृद्धि, रोजगारी सिर्जना, गरिबी निवारण, औद्योगिकीकरण, निर्यात व्यापार र आपूर्ति व्यवस्था अभिवृद्धिको प्रमुख क्षेत्रका रूपमा विकास गरिने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर