‘महाजात्रा’ प्रिमियरमा सेलिब्रिटीको भिड, कस्तो दिए प्रतिक्रिया ? – Nepal Press

‘महाजात्रा’ प्रिमियरमा सेलिब्रिटीको भिड, कस्तो दिए प्रतिक्रिया ?

फिल्म । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ को भव्य प्रिमियर गरिएको छ । प्रिमियरमा उपस्थित अतिथिहरूले फिल्मको खुलेर प्रशंसा गरे ।

महाजात्राको प्रिमियरमा कलाकारहरूको राम्रै भिडभाड थियो । अभिनेता मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, किरण केसी, जितु नेपाल, निर्मल शर्मा, दयाहाङ राई हलमा पुगेका थिए ।

अभिनेत्रीहरू निशा अधिकारी, केकी अधिकारी, ऋचा शर्मा, दीप श्री निरौलाको उपस्थिति थियो । गायक प्रकाश सपूत, निर्देशक रामबाबु गुरुङ,पुर्नेन्दु झा, सौरभ चौधरी, प्रचण्डमान श्रेष्ठ, अभिनेता गजित विष्ट, सुशील श्रेष्ठ, अरुण क्षेत्री, मोडल आश्मा विश्वकर्मा लगायतका सेलिब्रेटीले फिल्म हेरेका थिए ।

अभिनेता मदनकृष्ण श्रेष्ठले फिल्म हेरिरहँदा समय बितेको पत्तै नपाएको बताए । उनले फिल्मको विषयवस्तु, प्राविधिक पक्ष, कलाकारको अभिनय र सन्देशको खुलेर तारिफ गरे ।

‘फिल्म राम्रो र रमाइलो बनेको छ । कुनै फिल्म राम्रो हुन्छ, कुनै रमाइलो हुन्छ, यो दुवै विधामा अब्बल छ । यसले सन्देश दिन्छ तर जात्राकै शैलीमा । परिवार एकसाथ बसेर हेर्ने फिल्म बनेको छ,’ अभिनेता श्रेष्ठले भने ।

अभिनेत्री तथा निर्देशक दीप श्री निरौलाले निर्देशक भट्टराईबाट अपेक्षा गरिने मनोरञ्जनात्मक र सन्देशमूलक फिल्म बनेको प्रतिक्रिया दिइन् ।

‘फिल्म हेरिरहँदा एउटा मात्र पक्षलाई तारिफ गर्न सकिँदैन । समग्रमा नै फिल्म राम्रो बनेको छ । कलाकारले पनि निकै मेहनत गरेका छन् । उनीहरू रेगुलर देखिरहने भन्दा फरक देखिएका छन्’, अभिनेत्री निरौलाले भनिन् ।

अभिनेत्री निशा अधिकारीले ‘जात्रा’ शृङ्खलाबाट बढिरहेको अपेक्षालाई आइरहेको फिल्मले पुरा गरेको बताइन् ।

‘हामीले लिएर आउने अपेक्षालाई जात्रा टिमले महाजात्रासम्म आइपुग्दा पनि घट्न दिएको छैन, पुरा भएको छ । यसको कथा, पटकथा, संवाद सबै उत्कृष्ट छ । धित मर्ने फिल्म बनेको छ’, अभिनेत्री अधिकारीले भनिन् ।

गायक तथा अभिनेता प्रकाश सपूतले समसामयिक विषयवस्तुमा सुन्दर फिल्म बनाएको भन्दै निर्माण पक्षलाई धन्यवाद दिए ।

‘जात्रादेखि नै बनिरहेको शृङ्खलामा मनोरञ्जनसँगै जीवनका सबै रङ्गहरू समेटिएका छन् । एकदमै हाँस्न पाइन्छ, रुन पाइन्छ, विचार समेटिएको छ । एउटा दर्शकले फिल्म हेर्दा जे–जे खोज्छ त्यो सबै समेटिएको छ,’ गायक सपूतले भने ।

अभिनेत्री केकी अधिकारीले फिल्म हेरिरहँदा ‘बलिदान’ फिल्मको हरिवंश आचार्यको याद आएको प्रतिक्रिया दिइन् । ‘जात्राका पात्रहरूसँगै थपिएका पात्र पनि महत्त्वपूर्ण छन् । यहाँ अनुहारका लागि मात्र अभिनय गराइएको छैन । मैले हेरुन्जेल कहीँकतै दिक्क फिल गरिनँ,’ उनले भनिन् ।

चलचित्रका अभिनेता हरिवंश आचार्यले लेखिएको भन्दा प्रिमियरमा हेरेको फिल्म राम्रो बनेको प्रतिक्रिया दिए ।

‘मैले भन्दै आइरहेको कुरा नै आज फिल्म हेरेपछि सबैले भन्नु भयो । स्क्रिप्ट राम्रो भएपछि निर्देशक भट्टराईले मन हाँस्ने फिल्म बनाउँछन् भन्नेमा आशावादी थिएँ, अहिले सबैले त्यही भन्दा डबल हर्षित छु’, अभिनेता आचार्यले भने ।

अभिनेत्री वर्षा राउतले सबैले दिएको प्रतिक्रियाले आफूलाई दंग बनाएको बताइन् ।

‘म आज टिम भएर फिल्म हेर्दा र प्रतिक्रिया बटुल्दा निकै उत्साहित छु । अब दर्शकसँग फिल्म हेर्न निकै उत्सुक छु । फिल्मको पात्रसँग हलमा रहेका दर्शकहरू कनेक्ट भएको पाउँदा म निकै खुसी छु’, अभिनेत्री राउतले भनिन् ।

अभिनेता विपिन कार्कीले ‘जात्रा’ र ‘जात्रै जात्रा’ भन्दा बढी मनोरञ्जन ‘महाजात्रा’ मा पाउने दाबी गरे ।

‘अघिल्ला शृङ्खला भन्दा बढी माया पाउनेमा विश्वस्त छु । मलाई हिरो बनाएको र चिनाएको फिल्म नै जात्रा शृङ्खला हो । यो मेरो करिअरलाई अगाडि बढाउने फिल्म हो । जात्रा झैँ महाजात्राले पनि मलाई नयाँ उचाइमा पर्याउने छ’, अभिनेता कार्कीले भने ।

लेखक तथा निर्देशक भट्टराईले फिल्मले प्राप्त गरिरहेको प्रतिक्रियाले डर भागेको बताए ।

‘हामीलाई मन परेर र राम्रो लागेर नै फिल्म बनाएका थियौँ । हाम्रो टिम र समूहलाई विश्वास गरेर हलसम्म आउने दर्शकको पैसा र समयको सदुपयोग हुन्छ । जात्रामा हामीले तीन साथीको कथा भनेका थियौँ भने यस पटक राष्ट्रिय विषयलाई पनि जोडेका छौँ’, निर्देशक भट्टराईले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *