म घडीभन्दा पनि व्यस्त छु, हिँडेको हिँड्यै छु: हरिवंश आचार्य – Nepal Press

म घडीभन्दा पनि व्यस्त छु, हिँडेको हिँड्यै छु: हरिवंश आचार्य

काठमाडौं । अभिनेता हरिवंश आचार्यले आफू घडीभन्दा पनि व्यस्त भएको बताएका छन् । चलचित्र ‘महाजात्रा’ को टीमले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको समयमा आफू निकै व्यस्त रहेको बताएका हुन् ।

कार्यक्रममा चलचित्रका निर्देशक प्रदीप भट्टराई, निर्माता म्याक्स दीपेश खत्री, कार्यकारी निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँ, कलाकारहरु हरिवंश आचार्य, दिव्यदेव र रवीन्द्र झा उपस्थित थिए ।

अभिनेता विपीन कार्की काठमाडौं बाहिर र अभिनेत्री वर्षा राउत चलचित्र ‘मेयर’को सुटिङमा भएकाले कार्यक्रममा सहभागी भएनन् । कार्यक्रममा हरिवंश केही ढिला आइपुगेका थिए । आफ्नो व्यस्त समयको कारण आउन केही ढिला भएको उनको भनाइ थियो ।

कार्यक्रममा उनले भने, ‘म घडीभन्दा पनि व्यस्त छु । घडीको ब्याट्री सक्यो भने बरु एकछिन भए पनि आराम गर्न पाउँछ । तर, मेरो ब्याट्री सकिए पनि आराम गर्न पाउँदिनँ । हिँडेको हिँड्यै छु ।’

यही शुक्रबार प्रदर्शनमा आउने चलचित्र ‘महाजात्रा’मा उनी भ्रष्ट नेताको भूमिकामा देखिँदैछन् । नकारात्मक भूमिका निर्वाह गरे पनि पर्दामार्फत दर्शकलाई सकारात्मक सन्देश दिने उनको तात्पर्य छ । ‘नकारात्मक कार्य वा गतिविधि गर्न हुँदैन भन्ने यसले मनोरञ्जनात्मक शैलीमा ज्ञानसमेत दिन्छ। यसैका कारण पनि म यस भूमिकालाई निर्वाह गर्न सहमत भएको हुँ’, उनले भने ।

वरिष्ठ कलाकार आचार्यले ‘महाजात्रा’ आफ्नो घरको फिल्म भएको र निर्देशक प्रदीप भट्टराई र षट्कोण आर्ट्सले निर्माण गर्ने चलचित्रप्रति आफू ढुक्क भएर काम गर्न सक्ने पनि बताए ।

‘घरको तरकारी जे पाके पनि मीठो भने जस्तै हो यो चलचित्र र टीम मेरो लागि । मैले स्क्रिप्ट पनि हेरिनँ । मलाई यो चलचित्रमा खेलाउँछन् कि खेलाउँदैनन् भन्ने थियो । यदि खेलाए भने पनि मलाई नराम्रोमा खेलाउँदैनन् भन्नेमा म ढुक्क थिएँ’, उनले जोडे, ‘प्रभावित भइसकेको छ सबै । उमेरमा म परिपक्व होला । तर, चलचित्रको नेतृत्वमा प्रदीप, रवीन्द्र र सम्पूर्ण टीम परिपक्व छ ।’

‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुँदैछ । जुन नेपाली चलचित्रको लागि गौरवको विषय भएको उनी बताउँछन ।

‘यो चलचित्र भव्य रूपमा प्रदर्शन हुँदै गरेको आभाष सार्वजनिक पोस्टरले दिएको छ । अहिले नेपालीले मात्र हेरिरहेको चलचित्र विस्तारै विदेशी दर्शकले पनि हेर्ने दिन आउनेछ । यो हुनु पनि पर्छ । त्यो स्थानमा पुर्‍याउन महाजात्रा पनि एक खुड्किलो हो’, उनले भने ।

‘जात्रा’ र ‘जात्रैजात्रा’को अपार सफलतापछि निर्देशक प्रदीप भट्टराईले ‘महाजात्रा’ बनाएका हुन् । ‘जात्रा’मा पैसा र ‘जात्रैजात्रा’मा सुन भेटिएको कहानी प्रस्तुत गरेका भट्टराईले ‘महाजात्रा’मा भने राजनीति घुसाएका छन् । चलचित्रका लेखक पनि उनै हुन् ।

‘महाजात्रा’ मनोरञ्जनसँगै सन्देश पनि दिने हिसाबले सम्पूर्ण वर्गका दर्शकलाई लक्षित गरेर तयार गरिएको उनी बताएँछन् ।

निर्देशक भट्टराईले भने, ‘नेपालको प्राक्टिक्समा राजनीतिक फिल्म त्यति राम्रोसँग चल्दैन । त्यसैले राजनीति टच गरेर कमेडी फिल्म बनाएको हो । यसमा राजनीति जोडिएको छ । तर, चलचित्र त्यसमा केन्द्रित भने छैन । यो सन्देशमूलक चलचित्र हो।’

अभिनेतासँगै कार्यकारी निर्मातासमेत रहेका रवीन्द्रसिंह बानियाँ पनि चलचित्रलाई लिएर ढुक्क छन् ।

‘हामीले जात्रा शृंखलाको लिगेसीलाई बढाउने गरी महाजात्रा तयार गरेका छौं’, उनले भने, ‘यसमा हरिवंश दाइ जोडिनु भएकाले महाजात्रा भएको छ । ‘जात्रा’ र ‘जात्रैजात्रा’बाट हामीले हासिल गरेको विश्वास महाजात्राले टुट्न दिँदैन । बल, बुद्धि र पैसाले भ्याएसम्म ‘महाजात्रा’ राम्रो बनाउने कोसिस गरेका छौं ।’

‘जात्रा’मा ‘मुन्ना’को भूमिकाले परिचित रवीन्द्र झाले पनि चलचित्रको तेस्रो भागले रमाइलोसँगै सन्देश दिने बताए । उनले चलचित्रमा आफ्नो पात्र पुरानो भए पनि अभिनय नयाँ दिने कोसिस गरेको सुनाए ।

उनले भने, ‘यो चलचित्रमा सबै वर्गले आफ्नो कथा भेट्नुहुनेछ । मधेशबाट आएको पात्रले कसरी काठमाडौंमा संघर्ष गरिरहेको छ भन्ने यसमा देख्न सकिन्छ ।’

पत्रकार सम्मेलनमा कलाकार दिव्यदेवको कामको खुवै तारिफ भएको थियो । रवीन्द्रसिंह बाँनियाले दिव्यदेव आफूलाई भविष्यको अमिताभ बच्चन लागेको बताए ।

त्यस्तै हरिवंशले पनि उनको काम मन परेको बताए । चलचित्र युनिटसँग काम गर्दाको अनुभव शेयर गर्दै दिव्यदेवले ‘महाजात्रा’ले आफूलाई राम्रो टीमसँग काम गर्ने अवसर प्रदान गरेको जनाए । ‘महाजात्रा’ गराउने टीममा म प्रहरीको रूपमा छिरेको छु । त्यो ‘महाजात्रा’ गराउन मेरो पनि योगदान छ’, उनले थपे ।

चलचित्रमा हरिवंश, विपीन, रवीन्द्रसिंह, वर्षा, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारको अभिनय छ । चलचित्रका निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *