प्रशासक अमरदीपकाे गीत ‘दिनरात सधैं सधैं’ सार्वजनिक – Nepal Press

प्रशासक अमरदीपकाे गीत ‘दिनरात सधैं सधैं’ सार्वजनिक

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी रहँदा ‘लिखु खोलाको तिरैतिर’ लिएर आएका कवि तथा गीतकार अमरदीप सुनुवार ललितपुरको सहायक सीडीओ भएका बेला आफ्नो दोस्रो प्रस्तुति ‘दिनरात सधैं सधैं’ लिएर आएका छन् ।

हालै गृह मन्त्रालयको उपसचिवमा सरुवा भएका प्रशासक सुनुवारको पछिल्लो गीत परदेशीलाई गाउँघर सम्झाउने नोस्टाल्जिक रहेको छ । जन्मेको गाउँ छाडेर टाढा रहेका युवाले आफ्नो गाउँ, साथीसंगी र आफन्त अनि त्यहाँको जीवन सम्झेको उक्त गीतको म्युजिक भिडिओ पनि मार्मिक छ ।

वरिष्ठ संगीतकार शान्तिराम राईको संगीत र भ्वाइस अफ नेपालका विजेता विनोद राईको स्वर रहेको सो गीत शान्तिराम राईको युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको छ ।

गीत सार्वजनिक कार्यक्रममा निर्देशक तथा लेखक प्रकाश सायमीले अमरदीप सुनुवारको गीतले पछिल्लो अवस्थामा नेपालबाट विदेशिने युवाको मर्म बोकेको बताए ।

सुनुवारले कक्षा १२ को परीक्षा दिएर बसेका बेला १८ वर्षअघि लेखेको गीतलाई शान्तिराम राईले संगीत र धुनबाट न्याय गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *