लेखनाथ न्यौपानेको टिप्पणी- पद र पैसाको लागि मरिहत्ते गर्ने माओवादी पनि उहीं ड्याङको मुला – Nepal Press

लेखनाथ न्यौपानेको टिप्पणी- पद र पैसाको लागि मरिहत्ते गर्ने माओवादी पनि उहीं ड्याङको मुला

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पद र पैसाको लागि मरिहत्ते गर्ने प्रवृत्ति नेपाली राजनीतिको महारोग भएको टिप्पणी गरेका छन् ।

पार्टी उपाध्यक्ष कृष्णबहादुर महरालाई सुन तस्करी प्रकरणमा पक्राउ परेकोप्रति लक्षित गर्दै उनले लाभको पदमा गएर वा लामो समयसम्म एउटै पदमा बसेपछि विकृति झाँगिएको बताए ।

उनले लेखेका छन्- ‘विकृतिको केन्द्र सत्ता हो, चाहे हिजोको नयाँ सत्ता होस्, चाहे हिजो हामीले भन्ने गरेको आजको पुरानो सत्ता होस् । जोजो पटक पटक लाभको पदमा गए वा लामो समयसम्म एउटै पदमा बसे, विकृति झाँगिएको त्यही छ । पद र पैसाको लागि मरिहत्ते गर्ने प्रवृत्ति नेपाली राजनीतिको महारोग हो, यसमा त्यत्रो सपना र बलिदानबाट आएको माओवादी पनि उहीं ड्याङको मुला भन्ने सर्वसाधारणको भनाइलाई जस्ताको तस्तै पार्टीभित्र र बाहिर राख्दै आएको हो निरन्तर । यसकारण मलाई प्रचण्डविरोधी भनेर आरोप लगाउने गरिएको छ ।’

उनले आफूले सत्य कुरा राख्न जिल्लाहरु जान नदिनेगरी अवरोध गर्ने र कुनै कार्यक्रममा जाँदा कसले बोलायो यसलाई भनेर आयोजकलाई झपार्ने गरेको सुनेको उल्लेख गरेका छन् ।

उनले थपेका छन्- ‘जसले आफूलाई प्रचण्डको खास मान्छे भन्दै शासन चलाएका छन् । ती तोरीलाउरेहरुले आजभोलि के सोच्दै होलान् ? दुःख लाग्छ, यस्ताहरुले माओवादी आन्दोलनको नेतृत्व गरेपछि हुने यस्तै हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर