भक्तपुरमा बागमती प्रदेशस्तरीय धिमे प्रतियोगिता, पहिलो पुरस्कार २५ हजार नगद र ४ थान वाद्यवादन – Nepal Press

भक्तपुरमा बागमती प्रदेशस्तरीय धिमे प्रतियोगिता, पहिलो पुरस्कार २५ हजार नगद र ४ थान वाद्यवादन

भक्तपुर । भक्तपुरमा यही चैत २४ गते बागमती प्रदेशस्तरीय धिमे प्रतियागिता हुने भएको छ ।

नेपालभाषी समुदायको वाद्यवादन धिमेको संरक्षण तथा प्रवर्द्वन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको भक्तपुर जिल्ला मानन्धर संघले जानकारी दिएको छ ।

संघका अध्यक्ष बाबुकाजी मानन्धरले पछिल्लो समय धिमे बाजामा नयाँ पुस्ताको आकर्षण ह्वात्तै बढेकाले प्रतियोगिता गरिएको बताए ।

उनका अनुसार काठमाडौं महानगरपालिकाको सहकार्यमा प्रतियोगिता हुने भएको हो । भक्तपुरको दत्तात्रय मन्दिर परिसरमा चोकमा चैत्र २४ गते धिमे बाजा प्रतियोगिता हुन लागेको हो ।

धिमेबाजासँगै ताल मिलाउन एकएक जोडी भुछ्या र सिछ्या बजाइन्छ । प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लामा रहेका नेपालभाषी समुदायको ५० वटा समूहले भाग लिने संघले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । संघका अनुसार काठमाडौं उपत्यका बाहिरबाट प्रतियोगितामा भाग लिने समूहलाई खाने र बस्ने सुविधा आयोजकले व्यवस्था गर्नेछ ।

संघका अनुसार प्रतियोगितामा धिमे बजाउने २ र भुछ्या तथा सिछ्या बजाउने एकएक गरी ४ जनाको समूह हुनेछ । उनीहरुलाई धिमे बजाउन ५ मिनेटमात्रै समय दिइने प्रतियाेगिता संयोजक तुलसीकाजी मानन्धरले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा बोल तथा तालमा ५०, हाउभाउमा २०, भेषभुषामा १५, अनुशासनमा १० र समयमा ५ गरी १०० पूर्णांक राखिएको छ ।

प्रतियोगिताको विजेतालाई २ वटा धिमे, २ जोर भुछ्या र नगद २५ हजार रुपैयाँ पुरस्कार वितरण गरिने संयाेजक मानन्धरले बताए । त्यस्तै दोस्रो हुनेलाई १ वटा धिमे, १ जोर भुछ्या र नगद १५ हजार तथा तेस्रो हुनेलाई १ वटा धिमे र नगद १० हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा उत्कृष्ट भेषभुषा र बाजाको बोलमा गरिएको हाउभाउसमेतको मूल्यांकन गरी विजेता छानिने संघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *