जात्रा सिक्वेलको ‘मुन्ना ठाकुर’ बारे के भन्छन् रवीन्द्र झा ? – Nepal Press

जात्रा सिक्वेलको ‘मुन्ना ठाकुर’ बारे के भन्छन् रवीन्द्र झा ?

काठमाडौं । मुन्ना ठाकुर अहिले नेपाली चलचित्रप्रेमी दर्शकको लागि परिचित नाम बनिसकेको छ । फिल्म ‘जात्रा’ मार्फत मुन्नाको रुपमा दर्शकसँग साक्षात्कार गरेका रवीन्द्र झा अहिलेका व्यस्त कलाकार हुन् ।

प्रायः निर्माता तथा निर्देशक उनलाई ससाना भूमिकामा अभिनय गराउन तत्पर छन् । तर, उनलाई फिल्ममा स्थापित गराउने ‘जात्रा’ शृङ्खलामा उनको भूमिका सशक्त छ । फडिन्द्र (विपीन कार्की) र जोयश (रवीन्द्रसिंह बानियाँ)सँग उनले समानान्तर भूमिका पाएका छन् ।

निर्देशक तथा लेखक प्रदीप भट्टराईले मरिहत्ते गरेर अभिनेता झालाई ‘जात्रा’ मा ल्याए । मैथिली नाटक, रेडियोका लागि नाटक उत्पादन र फिल्मको ससाना भूमिकामा रमाइरहेका अभिनेता झा अहिले पूर्ण रुपमा फिल्ममै व्यस्त छन् । उनको मुन्ना अवतारलाई आउँदो चैत ९ गते ‘महाजात्रा’ मा पुनः हेर्न सकिनेछ ।

‘मुन्ना सोझो व्यक्ति हो । तर, उसको जिम्मेवारीले उसलाई प्रलोभनमा पर्न उत्प्रेरित गर्छ । मधेशबाट काठमाडौं आएको मुन्नाको आवश्यकता बढ्दै गएपछि उसले साथीहरूसँग विविध काममा सहकार्य गरेको हो’, अभिनेता झाले भने ।

सुन र पैसा देखेर भाग्ने मुन्नालाई आवश्यकता र परिस्थितिले गडबड गर्न बाध्य बनाए पनि उसमा कसैको हत्या वा नोक्सानी गर्ने नियत नभएको उनले बताए । यसपटक ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ रमाइलोसँगै सन्देशमूलक बनेको रवीन्द्रले बताए ।

‘फिल्मले अघिल्ला शृङ्खलाभन्दा बढी रमाइलो दिन्छ नै । यसले सन्देश पनि दिन्छ । गम्भीर विषयवस्तुलाई निर्देशक भट्टराईले फिल्मी शैलीमा रमाइलो किसिमले प्रस्तुत गर्नुभएको छ । यो फिल्ममा सबै वर्गले आफ्नो कथा भेट्नुहुनेछ’, अभिनेता झाले भने, ‘मेरो भूमिकाले धेरै कुरालाई इङ्गित गरेको छ । मधेशबाट आएको पात्रले कसरी काठमाडौंमा सङघर्ष गरिरहेको छ भन्ने यसमा देख्न सकिन्छ ।’

उस्तै किसिमको भूमिका वा ‘टाइप कास्ट’ भइरहेको महसुस गरेका अभिनेता झाले निर्देशक र निर्माताले ‘रिस्क’ लिन नचाहेको अनुभूति गरेका छन् । किनकि उनले नाटक, मैथिली र भोजपुरी फिल्ममा नकारात्मकदेखि फरक भूमिका निर्वाह गरिसकेका छन् । तर, ‘जात्रा’ हिट भएपछि उनलाई उस्तै भूमिकामात्र अफर भयो ।

‘मैले भिलेनदेखि विभिन्न पात्रमा आफूलाई प्रस्तुत गरेको छु । तर, जात्राले दिएको पहिचानलाई अन्य मेकर्सले निरन्तरता दिन खोज्नु भो । मैले अभिनयलाई निरन्तरता दिनु थियो । दर्शकले पनि स्वीकार गरिरहनु भएकाले त्यसलाई फरक रुप दिन खोजेर देखिँदा केहीमा टाइप कास्ट देखिएँ’, अभिनेता झाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *