पुष्प खड्का अभिनीत म्युजिक भिडियोले राख्यो सबैभन्दा उचाइमा सुटिङ भएको विश्व कीर्तिमान – Nepal Press

पुष्प खड्का अभिनीत म्युजिक भिडियोले राख्यो सबैभन्दा उचाइमा सुटिङ भएको विश्व कीर्तिमान

काठमाडौं । नायक पुष्प बहादुर खड्का अभिनीत म्युजिक भिडियोले विश्व कीर्तिमान कायम गरेको छ । उच्च स्थानमा भिडिओको छायांकन गरेर पुष्प अभिनीत भिडियो ‘तिलिचो ताल’ ले विश्व कीर्तिमान कायम गरेको हो।

काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले टिमलाई विश्वकीर्तिमानको सम्मान प्रदान गरेका हुन् । भिडियोमा खड्कालाई श्रद्धा क्षेत्रीले साथ दिएकी छन्।

रेकर्डका लागी गिनिज बुक अफ वर्ल्ड रेकर्डका क्रूसहित निर्माण टिम तिलिचो ताल पुगेको थिए । आफू अभिनीत भिडियोले विश्वकीर्तिमान कायम गरेपछि खड्काले सबैलाई आभार प्रकट गर्दै सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन्।

‘अहिले खुसी लाग्यो। आजको खुसीले हिजोको पीडा बिसाईदियो। त्यति अग्लो स्थानमा छायांकन गर्न सहज थिएन। छायांकनको दौरान श्रद्धा घोडाबाट लडेर झण्डै भिरबाटै खसेको थियो। लडेको भए मर्ने खालको ठाउँमा छायांकन गरियो,’उनले खुसी साट्दै नेपाल प्रेससँग भने।

‘खुट्टाको पाइला राख्नेबाहेक अरू ठाउँ थिएन। केही तलमाथि भयो भने ढ्ंगाले मान्छेसमेत लग्ने बाटो हुँदो रहेछ त्यहाँ,’उनले थपे,‘ डिआर उपाध्याय सरलाई त अन्नपूर्ण बेस क्याममै गाह्रो भएर इमर्जेन्सी हेलिकप्टर बोलाएर पोखरा ल्याई काठमाडौँ ल्याउनु परेको थियो। त्यस्तो गाह्रो हुँदा पनि हामीले रेकर्ड राख्नुपर्छ भनेर पिडालाई पनि उछिन्दै रमाउँदै काम गर्‍यौं। आज मेहेनतको फल पाएका छौँ।’

चुनौतीपूर्ण काम गर्न आफूलाई मन पर्ने भएकाले यो भिडियो गरेको खड्काको भनाइ छ। ‘वर्ल्ड रेकर्डमा नायक पुष्प खड्का देख्दा त मन झनै आनन्दित भयो। टिमले धेरै मेहनत गरेको छ। मेहनतको फल पाइयो, त्यो भन्दा खुसीको कुरा त के होला र ?,’ उनले जोडे।

डा. डिआर उपाध्यायको शब्द, भेश प्रसाद श्रेष्ठको संगीत र सरद कुमार अधिकारीको स्वर रहेको गीतको भिडियो तिलिचो तालमा छायांकन गरिएको हो। भिडियो ५ हजार १ सय ०५ मिटर उचाइमा छायांकन गरिएको छ। तिलिचो ताल विश्वकै अग्लो स्थानमा रहेको ताल हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *