‘महाजात्रा’ साउदीमा प्रदर्शन हुने पहिलो नेपाली फिल्म, एकै पटक ४० देशका २५० सहरमा रिलिज हुँदै – Nepal Press

‘महाजात्रा’ साउदीमा प्रदर्शन हुने पहिलो नेपाली फिल्म, एकै पटक ४० देशका २५० सहरमा रिलिज हुँदै

फिल्म । नेपाली चलचित्र ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । ‘महाजात्रा’ षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग हो।

विदेशमा रहेका दर्शकको बढ्दो चासोलाई मध्यनजर गर्दै चलचित्रलाई नेपालसँगै प्रवासमा रहेका नेपालीको लागि ४० देशको २ सय ५० बढी सहरहरूमा प्रदर्शन गर्न लागिएको हो। रिलिजको आधारमा हेर्ने हो भने यो अहिले सम्मकै ठूलो रिलिज हो ।

विदेशमा प्रदर्शनका लागि वितरण गरिरहेको एमएसएम इन्टरटेन्मेन्टस् र यसका साझेदार कम्पनीले यसलाई भव्य रिलिज गर्दैछन् । प्रवासमा रहेका नेपालीले यो पारिवारिक चलचित्रलाई नेपालमा झैँ रमाइलोसँग हेर्न पाउने छन् ।

उक्त कम्पनीका अनुसार संयुक्त राज्य अमेरिका र क्यानडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशाल आवाज मल्टिमिडिया प्राली, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा स्वयम् एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले फिल्मलाई वितरण र प्रदर्शन गर्दैछ ।

यसका साथै, बेलायतमा रेगुलर बक्स अफिसमा प्रदर्शन हुने ‘महाजात्रा’ साउदी अरेबियामा प्रदर्शन हुने पहिलो नेपाली फिल्म बन्दैछ । अर्थात् यस अगाडि साउदी अरेबियामा कुनै नेपाली फिल्म प्रदर्शन भएको छैन । एमएसएम इन्टरटेन्मेन्टस् र मध्यपूर्व देशका वितरक कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसनको प्रयासले साउदी अरेबियामा पहिलोपटक नेपाली फिल्मको रूपमा ‘महाजात्रा’ प्रदर्शन हुँदैछ ।

निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलतापछि तयार भएको तेस्रो शृङ्खला ‘महाजात्रा’ हो । यो भागमा ‘जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अरविन खड्का, प्रकाश घिमिरे, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य, दिव्य देव, गौमाया गुरुङ थपिएका छन् ।

पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्या यसपटकको चलचित्रको कथा रहेको छ । चलचित्रमा तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्छन् । जीवन समृद्ध तुल्याउने सपना र आपत्कालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गरिएको चलचित्र हाँसो र रोदनको मिश्रण छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *