सुरू भयो निफ महोत्सव- सञ्चारमन्त्रीबाट उद्घाटन – Nepal Press

सुरू भयो निफ महोत्सव- सञ्चारमन्त्रीबाट उद्घाटन

काठमाडौं । सातौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौंमा सुरू भएको छ ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको निफको सञ्चारमन्त्री रेखा शर्माले उद्घाटन गरिन् । चैत ५ गतेसम्म चल्ने महोत्सवमा ६० देशका ५ सय बढी फिल्मबाट छनौट भएका ४० देशका ८८ फिल्म देखाइने प्रतिष्ठानले जनाएको छ ।

महोत्सवलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय दुई भागमा विभाजन गरी दुवै भागमा फिचर चलचित्र, लघु चलचित्र र वृत्तचित्र विधामा अवार्ड वितरण गरिने आयोजकले जनाएको छ । निफको उद्घाटन गर्दै सञ्चारमन्त्री शर्माले नेपाली चलचित्रहरुको विश्वव्यापी बजारीकरणले यस क्षेत्रको आर्थिक अवस्था मजबुद हुने र पूर्वीय संस्कृतिको प्रवर्द्धन साथै विस्तारमा पनि सहयोग पुग्ने विश्वास जनाइन् ।

सूचना प्रविधिका कारण सिर्जित विश्वव्यापीकरणले नेपाल जस्ता प्राचीन मुलुकहरूको संस्कृति लोप हुने खतरा रहेको भन्दै उनले त्यसो हुन नदिन मौलिक संस्कृतिसँग जोडिएका कथावस्तुमा धेरै भन्दा धेरै चलचित्र बन्नुपर्नेमा जोड दिइन् ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशीसहित गौतमबुद्ध अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै विभिन्न विधामा उत्कृष्ट फिचर चलचित्र, लघु चलचित्र र वृत्तचित्रलाई पुरस्कृत गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *