चाइनिज कम्पनीले गरेको कालोपत्रे सातादिनमै चर्कियो ! – Nepal Press

चाइनिज कम्पनीले गरेको कालोपत्रे सातादिनमै चर्कियो !

जनकपुरधाम । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषा-सिरहा जोड्ने कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म निर्माणाधीन चार लेन सडकको कालोपत्रे उप्किन थालेको छ ।

कालोपत्रे गरेको १०-१५ दिन नबित्दै ठाउँ ठाउँमा चिराचिरा परेर उप्किन थालेपछि सर्वसाधारण चकित परेका छन् । कमसल तथा गुणस्तरहीन काम भएकाले कालोपत्रे उप्किन थालेको सर्वसाधारण बताउँछन् ।

मिर्चैया नगरपालिका र कर्जन्हा नगरपालिका क्षेत्रमा गरिएको कालोपत्रे ठाउँ ठाउँमा धाँजा फाटेको छ । धाँजा फाटेपछि कालोपत्रे भत्काएर टालटुल गरिएको छ । एक ठाउँमा टालटुल नसकिँदै अर्को ठाउँमा कालोपत्रे चर्किहाल्ने देखिएको सर्वसाधारण बताउँछन् ।

धनगढीमाई नगरपालिकाको मुसहर्निया क्षेत्रमा पनि एक साता नबित्दै कालोपत्रे चर्किएको छ । यहाँ पनि चर्किएको ठाउँमा पुनः कालोपत्रे गरिएको छ । तर, त्यो पनि चर्किएपछि स्थानीयले गुणस्तरहीन काम गरेको भन्दै विरोध गरेका छन् ।

‘तीन पटकसम्म मर्मत गर्दा पनि कालोपत्रे चर्किएको चर्किएयै छ’, एक स्थानीयले भने, ‘निर्माणाधीन सडकमा लेभलसमेत मिलाइएको छैन । अन्तर्राष्ट्रिय मापदण्डअनुसार कालोपत्रे सडकमा ३ एमएमभन्दा बढी बम्पिङ हुनुहुँदैन । तर, जिरो माइल क्षेत्रको नयाँ कालोपत्रेमा १५ देखि २० एमएमसम्मको बम्पिङ छ । जसले गर्दा उक्त सडकमा गाडी चलाउँदा खाल्डाखुल्डी भएको ग्राभेल सडक जस्तै जोल्टिङ महसुस हुन्छ ।’

एसियाली विकास बैंकको ऋण सहयोगमा चार लेनको राजमार्ग निर्माण भइरहेको छ । कमलादेखि कञ्चनपुरसम्म ४४.४०० किलोमिटर राजमार्ग निर्माणको ठेक्का चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले पाएको छ । यो कम्पनी र नेपाल सरकारबीच सन् २०२० जुन २५ मा ८ अर्ब ३८ करोड ९९ लाख ६८ हजार ७३७ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

सन् २०२३ अक्टोबर २८ मा निर्माण सम्पन्न गरी सडक हस्तान्तरण गर्ने सम्झौता भएको थियो । तर, चाइनिज कम्पनीले सुस्त गतिमा काम गरिरहेकाले अहिलेसम्म समयमा निर्माण सम्पन्न हुन सकेको छैन । समयमा काम नगरेकाले सन् २०२४ डिसेम्बर २७ सम्मका लागि म्याद थप गरिएको छ । तर, अहिलेसम्म ४६.२ प्रतिशतमात्रै काम भएको छ ।

जताततै कालोपत्रे उप्किन थालेपछि चाइनिज कम्पनीले अहिले निर्माण रोकेर अध्ययन गरिरहेको छ । राजमार्ग निर्माणका लागि लहानमा कन्सलट्यान्ट कार्यालय र मिर्चैयामा आयोजना निर्देशनालय कार्यालय राखिएको छ । आयोजना निर्देशनालय मिर्चैयाका प्रोजेक्ट म्यानेजर उज्ज्वल श्रेष्ठले अहिलेकै गतिमा काम भए अबको १० महिनामा बाँकी ५४ प्रतिशत काम सम्पन्न हुनेमा शंका व्यक्त गरे ।

कालोपत्रे चर्किन थालेको सन्दर्भमा उनले अदक्ष चाइनिज टेक्निसियनका कारण केही भागमा कालोपत्रे बिग्रिएको स्वीकारे । उनले भने, ‘मेटेरियल र उपकरणमा समस्या छैन । तोकेको मापदण्डअनुसार नै काम भएको छ । तर, केही अदक्ष टेक्निसियनहरुको कारणले केही ठाउँमा कालोपत्रे चर्कियो । त्यसैले अदक्ष सबै चाइनिज टेक्निसियन हटाइएको छ ।’

कम्पनीले चर्केको भत्काएर नयाँ कालोपत्रे गर्ने उनको भनाइ छ । सम्झौताअनुसार सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको एक वर्षसम्म मर्मत सम्भार र ५ वर्षसम्म आवश्यक मेन्टिनेन्सको जिम्मेवारी चाइनिज कम्पनीको हुनेछ ।

प्रोजेक्ट म्यानेजर श्रेष्ठ भन्छन्, ‘गुणस्तरहीन काम गरेर चाइनिज कम्पनी उम्किन मिल्दैन । ५ वर्षसम्म मेन्टिनेन्स गर्ने सर्त छ । त्यसैले गुणस्तरहीन काम हुने डर मान्नुपर्दैन ।’

उनले कालोपत्रे चर्किएपछि अन्य कुनै प्राविधिक समस्या छ कि भने विषयमा पनि अध्ययन भइरहेको बताए ।

उनले भने, ‘कालोपत्रे चर्किन थालेपछि अहिलेलाई काम तत्काल रोकेका छौं । अध्ययन भइरहेको छ । प्राविधिक रुपमा आश्वस्त भएपछि मात्र थप कालोपत्रे गरिनेछ ।’

मेटेरियल र उपकरणमा समस्या नरहेको प्रोजेक्ट म्यानेजर श्रेष्ठको दाबी झूटो रहेको स्थानीय बताउँछन् । गोलबजारका सञ्जय साह भन्छन्, ‘कालोपत्रे गर्दा अलकत्राको मात्रा कम राखिएको छ । लेयर पातलो छ । कामदार पनि अदक्ष छन् । सडकको लेभल पनि मिलाइएको छैन । हतार हतार काम गर्न खोजिएको छ । त्यसैले कालोपत्रे चर्किरहेको छ । यो त कम्पनीको चरम लापरबाही हो नि !’

चाइनिज सामान जस्तै राजमार्गको कालोपत्रे पनि डुब्लिकेट भएको उनको भनाइ थियो ।

राजमार्ग निर्माणको अनुगमन तथा निरीक्षण गर्ने कन्सल्टेन्ट निकाय छुट्टै छ । कुन्हा इन्जिनियरिङ एण्ड कन्सल्टेन्टिङ साउथ कोरिया, वीसीएल एसोसियट बंगलादेश र टीएनएस नेपालले अनुगमन तथा निरीक्षणको जिम्मेवारी पाएको छ । तर, चाइनिज कम्पनीले चरम लापरबाही गर्दा पनि नियमनकारी अधिकारी मौन रहेको स्थानीयको आरोप छ ।

चाइनिज कम्पनीविरुद्ध पटक पटक आन्दोलन

राजमार्ग निर्माण थालेदेखि नै चाइनिज कम्पनी पटक पटक विवादमा तानिएको छ । सुरुमा जताततै सडक खनियो । तर, काम सुस्त भयो । सडक खनेर अलपत्र छाडेपछि धूलोले राजमार्ग आसपासका बस्ती र बजारमा मानिसहरु बस्नै नसकिने वातावरण सृजना भएको थियो ।

त्यसविरुद्ध पटक पटक स्थानीय आन्दोलनमा उत्रिए । गत माघ २१ मा मिर्चैयाबासी राजमार्ग ठप्प पारेर आन्दोलनमै उत्रिएका थिए । राजमार्गमा प्रदर्शन गरिरहेका मिर्चैयाका आक्रोशित युवाहरुले वरिष्ठ चिनियाँ इन्जिनियरलाई समेत कुटपिट गरेका थिए । ती इन्जिनियर र अन्य केही प्राविधिक असुरक्षा भएको भन्दै चीन फर्किएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *