मिल्यो नेपालीको दाबी- रुसी फौजमा भारतीयहरु भएको सरकारबाटै पुष्टि – Nepal Press

मिल्यो नेपालीको दाबी- रुसी फौजमा भारतीयहरु भएको सरकारबाटै पुष्टि

काठमाडौं । रुसी फौजमा नेपालीहरु सहभागी भएको समाचार नेपाल प्रेसले पहिलो पटक प्रकाशमा ल्याएको थियो । २०८० जेठ २८ गते उक्त सामग्री प्रकाशन भएको थियो । २०७९ भदौ २९ गते रुसस्थित नेपाली दूतावासले रुसमा विद्यार्थीबाहेक अरु काममा नआउन भन्दै घुमाउरो शैलीमा सैनिक भर्ती नहुन सार्वजनिक सूचना दिएको थियो । त्यो सूचनालाई बेवास्ता गरेर नेपालीहरु रुसी फौजमा धमाधम भर्ना हुन पुगे ।

सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनलाई सैन्य हमला गरेसँगै नेपालीहरु त्यता पुगेका थिए । खासगरी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२३ मे १६ मा रुसी फौजमा काम गरेका विदेशीहरुलाई रुसी नागरिकता दिने विधेयक प्रमाणिकरण गरेपछि राम्रो तबल र नागरिकताको आशमा नेपालीहरु भिडका भिड पुग्न थालेका हुन् ।

यो सूचना नेपाल प्रेसले नै सार्वजनिक गरेको थियो सबैभन्दा पहिला । त्योसँगै विश्वभरबाट रुसी फौजमा नेपाली युवाहरु लागेको तथ्यका विभिन्न पाटाहरु क्रमशः उजागर हुन थाल्यो । नेपाल प्रेससँगै कुराकानी गरेका रुसी फौजमा जोडिएका नेपालीले रुसी फौजमा दक्षिण एसियाबाट भारतीयहरु पनि भएको बताएका थिए । यो सामग्री पनि सबैभन्दा पहिलो पटक नेपाल प्रेसमै प्रकाशन भएको थियो ।

भारतीयहरु रुसी फौजमा भएको जानकारी नेपाल प्रेसले २०८० साउन ४ गते प्रकाशन गरेको एक सामग्रीमा सार्वजनिक गरेको थियो । नेपाल प्रेससँग कुराकानी गरेका रुसी फौजमा जोडिएका नेपाली युवाले भनेका थिए, ‘यहाँ भारतीय र पाकिस्तानीहरु पनि छन् । नेपाली, भारतीय र पाकिस्तानी हुँदा आफ्नो भाषा बोल्दा अर्कोले बुझ्ने हुन्छ । भारतीय केही दिन अगाडि मात्रै अर्को तालिममा गए ।’

रुसी फौजमा ज्यान गएको खुलेपछि चुहियो सयौं भारतीय फौजमा भएको सूचना

नेपालीहरुले सात महिना अगाडि नै रुसी फौजमा भारतीयहरु भएको जानकारी दिएका थिए । यो कुरा भारतका मूलधारका मिडियामा खासै आएनन् । तर, अहिले रुसी फौजमा भएका भारतीयको ज्यान गएको सूचना आएपछि यसको खुलासा भएको हो । भारतको दि हिन्दू अखबारले यही फेबु्रअरी २४ मा भारतीय नागरिकको रुसी फौजमा रहेर ज्यान गएको समाचार प्रकाशन गरेपछि यसको सार्वजनिक चर्चा बढेको छ ।

हिन्दूकी पत्रकार विजैता सिंहका अनुसार फेब्रुअरी २१ मा रुसी फौजमा कार्यरत भारतीय नागरिक हेमिल अश्विनभाइ माङ्गुकियाको मृत्यु भएको थियो । मृत्यु भएका उनी २३ वर्षका थिए । सन् २०२३ डिसेम्बरमा रुसी फौजमा जोडिएका उनलाई सिपाही नभनेर ‘सहयोगी’ भन्दै भारतीय मिडियाहरुले चित्रित गरेका छन् । मृत्यु भएको पुष्टि भएका भारतीय नागरिक हेमिल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रान्त गुजरातको सुरतका भएको पाइएको छ ।

दि हिन्दूले भारतका १०० भन्दा धेरै युवाले रुसी फौजमा काम गरेको आँकडा प्रस्तुत गरेको छ । भारतीय विदेश मन्त्रालयले भने रुसी फौजमा जोडिएका भारतीयहरुलाई छुटाइसकेको र मिडियामा गलत समाचार आइरहेको दाबी गरेको छ । फेबु्रअरी २६ मा यस्तो दाबी आएको हो ।

तर, द हिन्दूले भने भारत सरकारले दाबी गरेको जस्तो नभएको भन्दै धेरैको मुद्दा सुनुवाइ नभएको उल्लेख गरेको छ । हिन्दूका अनुसार रुसस्थित भारतीय दूतावासलाई सहयोगको लागि आग्रह गरेर पत्र लेखेको धेरै भइसक्दा पनि दूतावासले केही गर्न नसकेको समाचार प्रकाशन गरेको छ । हिन्दूले जम्मु काश्मिरका ३२ वर्षका रुसी फौजमा जोडिएका युवा जहुर अहमद शेख जनवरीबाट सम्पर्कमा नभएको उल्लेख गरेको छ ।

उनका दाजुले रुसमा रहेको भारतीय दूतावासमा कैयौं फोन र सन्देश पठाए पनि कुनै सुनुवाइ नभएकोले हिन्दूलाई बताएका छन् ।

भारत सरकारले आफ्ना नागरिकहरु रुसी फौजमा गएको सूचना साम्य पार्न खोजे जस्तो देखिए पनि भारतीय र युरोपेली मिडियाहरुले तथ्यहरु एकपछि अर्को सार्वजनिक गरेका छन् । सोमबार बीबीसीले रुसी फौजमा गएका चार भारतीयको समाचार बनाएको थियो । भारतका दलालहरुले तीन लाख भारु लिएर धेरै भारतीयलाई रुसी फौजमा भर्ना गरेको बीबीसीले उल्लेख गरेको छ ।

बीबीसीले कुरा गरेका रुसी फौजमा जोडिएका एक युवाका आफन्तले आफ्ना आफन्त युक्रेनको सीमाबाट ४० किलोमिटरको दूरीमा रहेको भन्दै तीन महिनामा रुसले नागरिकता दिने कुरा गरेको बताएका छन् । बेलायती समाचार एजेन्सी रोयटर्स, फ्रान्सेली समाचार संस्था एएफपी, जर्मनीको विश्व च्यानल डीडब्लू आदिले पनि यो समाचार बनाएका छन् ।

भारत सरकारले रुसी फौजमा जोडिएका भारतीयहरुलाई फिर्ता गरेको दाबी गरे पनि उनीहरुको नाम वा अन्तर्वार्ता भने सार्वजनिक भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *