ललिता निवास छानबिन समिति संयोजक त्रितालको संकेत- केही दोषी बचाउन खोज्दा मन्त्रीहरुले सफाइ पाए – Nepal Press

ललिता निवास छानबिन समिति संयोजक त्रितालको संकेत- केही दोषी बचाउन खोज्दा मन्त्रीहरुले सफाइ पाए

काठमाडौं । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको विषयमा छानबिन गर्न सरकारद्वारा गठित छानबिन समितिका संयोजक पूर्वसचिव शारदाप्रसाद त्रितालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही व्यक्तिलाई जोगाएर मुद्दा दायर गर्दा राजनीतिक व्यक्तिहरुले सफाइ पाउने अवस्था बनेको उल्लेख गरेका छन् ।

विशेष अदालतले फैसला गरेको भोलिपल्ट त्रितालले सामाजिक सञ्जालमा पूर्वमन्त्रीहरुले सफाइ पाएकोतर्फ इंगित गर्दै लेखेका छन्– ‘अख्तियारले गहिरो अनुसन्धान गरेको तर केही दोषीहरुलाई बचाउन खोजेर मुद्दा दायर गर्दा राजनीतिक व्यक्तिहरु सजायबाट बच्न पुगेका छन्
।’

अदालतले ललिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रक्रियामा सहभागी मालपोतका कर्मचारी, तत्कालीन दुई सचिव, बिचौलिया, नक्कली मोही र राणा परिवारका सदस्यहरुलाई दोषी ठहर गरेको थियो । विशेष अदालतले मन्त्रिपरिषद्का निर्णयमा मन्त्रीमात्र जिम्मेवार नहुने भन्दै तत्कालीन मन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीले सफाइ पाउने फैसला सुनाएको छ ।

अख्तियारले मन्त्रिपरिषद्को निर्णयमा अधिकार क्षेत्र नरहेको जनाउँदै तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाएको थिएन ।

त्रितालले व्यक्तिको नाममा गएको सरकारी जग्गा जफत हुने अदालतको फैसलाप्रति खुशी व्यक्त गरेका छन् ।

सरकारले २०७५ सालमा त्रितालको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । समितिको प्रतिवेदनपछि अख्तियारले थप अनुसन्धान अगाडि बढाएर मुद्दा दायर गरेको थियो । यो प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि मुद्दा दायर गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर