गाउँपालिका केन्द्रको विवादले सुनकोशीमा तीन दिनदेखि तालाबन्दी – Nepal Press

गाउँपालिका केन्द्रको विवादले सुनकोशीमा तीन दिनदेखि तालाबन्दी

सिन्धुपाल्चोक । पालिकाको स्थायी केन्द्रको विषयलाई लिएर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा तीन दिनदेखि तालाबन्दी हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् ।

सुनकोशी गाउँपालिका स्थायी केन्द्र भवन संघर्ष समितिको नामबाट पालिकाको केन्द्र सुनकोशी–५ सुनखानीमा हुनु पर्ने भन्दै संघर्ष समितिको नामबाट तालाबन्दी गरिएको हो ।

फागुन –१ देखि गरिएको तालाबन्दी तेस्रो दिनसम्म पनि जारी रहेको छ । गाउँपालिकामा तालाबन्दी भएपछि कर्मचारीहरू कार्यालय बाहिर नै रहेका छन् भने दैनिक कामका लागि आउने सेवाग्राहीहरू फर्कन बाध्य भएका छन् ।

सुनकोशी गाउँपालिकाको माघ २९ गते बसेको १४ औ बैठकले गाउँपालिकाको प्रशासनिक भवन सुनकोशी गाउँपालिका–३ कालिकाको देविथान डाँडामा बनाउनका लागि गाउँसभामा पेश गर्ने बहुमतबाट निर्णय भएको थियो ।

सुनकोशी गाउँपालिकाको मध्यभाग सुनकोशी–५ सुनखानीमा हुने भन्दै स्थानीयवासीले लामो समयदेखि सुनखानीमा नै प्रशासनिक भवन बनाउनका लागि दबाब दिँदै आएका थिए ।

अघिल्लो जनप्रतिनिधिको समयमा समेत गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुन नसकेपछि स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूले गाउँपालिकाको केन्द्र र प्रशासनिक भवन निर्माणका लागि प्रक्रिया सुरु गरेको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

प्रशासनिक भवनका लागि यस अघि केन्द्र तोके पनि जग्गा अभावमा भवन निर्माण भएको थिएन,हामीले भवन निर्माणका लागि सुरुमा जग्गा माग गरेका थियौ अध्यक्ष तिमिल्सिनाले भने।
गाउँपालिकाले प्रशासनिक भवनका लागि नेपाल सरकारको मन्त्रिपरिषदबाट स्वीकृत मापदण्ड अनुसार निःशुल्क जग्गा उपलब्ध गराउनका लागि सार्वजनिक सूचना जारी गरेको थियो ।

३५ दिन भित्र सुनकोशी–३,४,५ र ७ नम्बर वडाबाट मापदण्ड अनुसारको जग्गा प्राप्ति भएको सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
हामीले ६ रोपनी जग्गा माग गरेका थियौ,चार स्थानबाट जग्गा प्राप्त भएपछि कार्यपालिकाको बैठकमा पेश गरेर आवश्यक प्रक्रिया सुरु गरिएको श्रेष्ठले जानकारी दिए ।

कार्यपालिकाको बैठकमा उपस्थित भएका १५ मध्ये ११ सदस्य सुनकोशी–३ कालिकाको पक्षमा उभिएका थिए भने गाउँपालिका उपाध्यक्ष सहित वडा नम्बर ४ र ५ का वडा अध्यक्ष सहित चार जना सुनखानीको पक्षमा उभिएपछि बहुमतले सुनकोशी–३ को मा पालिकाको केन्द्र बनाउनका लागि गाउँ सभामा पेश गर्ने निर्णय भएपछि त्यसको विरुद्ध स्थानीय संघर्ष समितिले तिन दिन देखि पालिकामा तालाबन्दी गरेर निरन्तर आन्दोलन गरिरहेका छन् ।

सुनकोशी गाउँपालिका स्थायी केन्द्र भवन संघर्ष समितिले भने सुनकोशी गाउँपालिकाको सातै वडाको केन्द्रभाग सुनखानीमा नै पर्ने भएकाले त्यही नै प्रशासनिक भवन बनाउनु पर्ने माग राख्दै आएका छन् । वडा नम्बर ५ को सुनखानी डाँडा सबैको पायक पर्ने स्थानमा छ,त्यसैले हामी त्यही नै प्रशासनिक भवन बनाउनु पर्ने मागमा छौ संघर्ष समितिका संयोजक रहेका छिरिङ लामाले भने ।

कार्यपालिकाको बैठकले गरेको निर्णय खारेज गरेर पुन सुनखानीमा नै केन्द्र बनाउने निर्णय नहुँदा सम्म आफूहरू निरन्तर आन्दोलन गरिरहने तामाङले बताए । संघर्ष समितिले पहिलो दिन गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेर दोस्रो दिन देखि पालिकामा घेराबन्दी गर्दे आइरहेको छ ।

राज्य पुनर्संरचनामा पालिकाको अस्थायी केन्द्र सियाले÷पाँग्रेटार
नेपालको संविधान जारी भएपछि गठित राज्य पुनर्संरचना आयोगले सुनकोशी गाउँपालिकाको तत्कालीन अस्थायी केन्द्रको रूपमा सुनकोशी–३ कालिकाको सियाले र ७ को पाँग्रेटार तोकेको थियो । २०७४ मा भएको पहिलो निर्वाचनबाट निर्वाचित स्थानीय तहको जनप्रतिनिधिहरूले समेत सुनकोशी–३ का सियालेलाई केन्द्र भन्दै प्रदेश सरकारमा निर्णय पठाएको थियो । तर त्यतीबेला जग्गाको व्यवस्थापन गर्न नसकेपछि ५ वर्षमा समेत भवन निर्माण हुन सकेको थिएन।

आन्दोलनरत पक्षले सुनखानीमा नै केन्द्र भनेर माग गरे पनि सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना भने वार्ता गरेर समस्या समाधान गर्न आफूहरू प्रतिबद्ध रहेको बताउँछन् ।

‘भवन निर्माणको प्रक्रिया भर्खरै सुरु भएको हो, गाउँ सभाबाट दुई तिहाइले निर्णय गरेर प्रदेश सरकार हुँदै केन्द्र सरकार सम्म लगेपछि मात्रै निर्णय हुने भएकाले अहिले नै सबै प्रक्रिया टुङ्गोमा पुग्दैन, उनले भने, ‘उहाँहरूको माग जायज होला तर कार्यपालिकामा दुई पक्ष हुँदा बहुमतले अर्को ठाउँमा निर्णय गरेको छ,हामी त्यही निर्णयको पक्षमा उभिएका हौँ ।’

संघर्ष समितिले लगाएको ताला खुलाएर वार्ताको वातावरण बनाउन पनि उनले आग्रह गरेका छन् । सेवाग्राहीहरूलाई समस्या भएको छ,त्यसको लागि आफूहरू गम्भीर भएको बताउँदै अध्यक्ष तिमिल्सिनाले संयमित भएर आफ्ना मागका लागि आन्दोलन गर्नु पर्ने उनको भनाई थियो ।

‘आफ्नो माग पुरा गर्दा अरूको अधिकार हनन गर्नुहुँदैन, त्यसतर्फ पनि आन्दोलनमा लाग्ने साथीहरूले ध्यान दिनु पर्छ’ अध्यक्ष तिमिल्सिनाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर