रुस पुगेपछि घेराबन्दीमा इमरान: पाँच प्रश्नोत्तरमा बुझौं पाकिस्तानी निर्वाचन – Nepal Press

रुस पुगेपछि घेराबन्दीमा इमरान: पाँच प्रश्नोत्तरमा बुझौं पाकिस्तानी निर्वाचन

काठमाडौं । पाकिस्तानले फेब्रुअरी ८ मा राष्ट्रिय चुनाव सम्पन्न गर्‍यो । चुनावमा युरोप-अमेरिकी मिडिया तथा चुनावी पर्यवेक्षकहरुले धाँधली भएको टिप्पणी गरे । पाकिस्तानी जनताले उत्साहपूर्वक चुनावमा भाग लिएकोमा सकारात्मक भएका पर्यवेक्षकहरुले सत्ताले गरेका धरपकड र चुनावी हिंसालाई लिएर आलोचना गरेका छन् । पाकिस्तानले पटकपटक स्पष्टीकरण दिनुपरेको छ ।

पाकिस्तानको चुनाव चर्चामा हुने मुख्य कारण योमात्रै होइन । पाकिस्तानको चुनावी चर्चाको कारण इमरान खान चुनावको मुखमा जेलमा हुनु र उनको समर्थनमा उठेका उम्मेदवारहरुले अरु दलहरुलाई उछिन्ने जनमत प्राप्त गर्नु पनि हो । यो सामग्रीमा इमरान खानको सत्ता बहिगर्मनदेखि पाकिस्तानी चुनावी परिणामसम्मका कुराहरुलाई छोटकरीमा पाँच प्रश्नोत्तरमा काँटछाँट गरिएको छ ।

१. इमरान खानको मस्को भ्रमण किन विवादमा आयो ?

सन् २०२२ फेब्रुअरी २३ र २४ मा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री इमरान खान रुस पुगे । रुसको भ्रमणको क्रममा ऊर्जा आयात र त्यसमा पाकिस्तानले पाउनसक्ने सहुलियतबारे चर्चा भएको थियो । रुसबाट पाकिस्तानमा ल्याउने ग्यास पाइपलाइनबारेमा छलफलको मुद्दा लिएर खान मस्को ओर्लिएका थिए । मस्को ओर्लनासाथ खानले रेकर्ड रहने गरी भनेका थिए, ‘म कस्तो गजब समयमा आएँ । क्या उत्साह !’

यही मन्तव्य र मस्को गन्तव्य खानलाई गलपासो भयो । भ्रमण खान र उनको दल पाकिस्तान तरेक-इ इन्साफ (पीटीआई)ले सोचे जस्तो भएन । उनी विवादमा परे । भ्रमणले आलोचना पायो । खासगरी अमेरिका नेतृत्वको पश्चिमा विश्वले भ्रमणलाई रुसले युक्रेनलाई सैन्य हमला गरेको समयसँग जोडेर प्रश्न गरिरहे । खानले बेलायती टेलिभिजन च्यानल स्काइसँग मात्रै होइन आफूलाई सवाल सोध्नेहरु सबैलाई भ्रमण युक्रेनसँग सम्बन्धित छैन भनिरहे ।

उनले भ्रमण तत्काल बनेको नभएर लामो समयबाट तयारी भएको भनिरहे । उनले आफूले रुसले युक्रेनमा हमला गर्न लागेको केही सुइको नपाएको भनिरहे । उनका समर्थकले पत्याए पनि उनीविरोधी खेमाले पत्याएन । र, सुरु भयो उनको राजनीतिक प्रभावमा ह्रास ।

रुस मामिलामै खान र पाकिस्तानको संस्थापन भनिने सेनाको मत बाझियो । खानले पाकिस्तान तटस्थ देश भएको भन्दै रुसको सैन्य हमलाको आलोचना गरेनन् । तर, पाकिस्तानी सेनाका प्रमुख कमार जाभेद बज्वाले भने सन् २०२२ अप्रिल २ मा रुसी हमलालाई एक सानो देशमा भएको ‘विशाल दुःखान्त’ भन्दै विरोध गरेका थिए । पाकिस्तानको राजधानी इस्लामावादमा भएको अन्तराष्ट्रिय सुरक्षा गोष्ठीमा उनले यस्तो बताएका थिए ।

प्रधानमन्त्री र सेनापतिको रुसी मामिलामा एक मत देखिएको थिएन । खान रुस पुगेको दुई महिना नपुग्दै उनले सत्ता गुमाउनुपर्‍यो । सत्तामात्रै गुमाउनु परेन, उनी जेल पनि परे ।

२. खानको सत्ता बहिर्गमनको आन्तरिक कारण के हो ?

सन् २०१८ अगस्ट १८ मा प्रधानमनत्री भएका खान २०२२ अप्रिल १० मा प्रधानमन्त्रीबाट बाहिरिन पुगे । प्रधानमन्त्री बन्दा खानलाई १७६ सांसदको साथ थियो । ३४२ सीटे सदनमा १७२ भोट बहुमत हुनेमा खानले बहुमतभन्दा धेरै मत लिएर प्रधानमन्त्री बन्ने सफलता पाएका थिए । उनको दलको एकल सीट १५५ थियो । पाकिस्तान मुस्लिम लिग-नवाजका प्रत्यासी नवाज सरिफले भने ९६ भोटमात्रै पाएका थिए । प्रधानमन्त्री बनेर खानले दिएको प्रतिक्रिया चर्चामा आएको थियो ।

बीबीसीले समेत साभार गरेको उनको भनाइ थियो, ‘मैले तानाशाहको काँध चढेर यो स्थानमा पुगेको होइन । यसको लागि मैले २२ वर्ष संघर्ष गरेको छु ।’

२२ वर्ष संघर्ष गरेर प्रधानमन्त्री बनेको भन्ने खान सन् २०२२ अप्रिल ९ मा संसदका १७४ सदस्यको साथ पाएको अविश्वासको प्रस्ताव पारित भएपछि पदबाट हट्न बाध्य भएका थिए । खानको अविश्वास प्रस्तावमा उनका दलका दर्जन नेताहरुले पार्टी छोडेर विपक्षीहरुलाई साथ दिएका थिए । पहिलो पटकको अविश्वास प्रस्ताव फेल गराउन खानले संसद विघटन गरेर टारेका थिए । तर, सर्वोच्चले सदन विघटन बदर गरेपछि उनी विश्वासको मत पाउन नसकेर बहिर्गमन भएका थिए ।

अविश्वासको मतले बहिर्गमन हुनुअगाडि नै उनले आफ्ना समर्थकहरुलाई सडकमा उतारेका थिए । आफूलाई हटाउन अमेरिकी हात भएको उनले सार्वजनिक रुपमै भनेका थिए । उनी सन् २०२३ को मे ९ मा पक्राउसमेत परे । पक्राउ पर्दै र छोडिँदै आएका उनी अहिले जेलमा छन् । उनलाई १० वर्ष र १४ वर्षका दुई फरकफरक सजाय तोकिएको छ ।

राज्यको उपहार बिक्री गरेको, विवाह गरेकाे कुरा छलेको, राज्यको गोपनीयता चुहाएको जस्ता आरोप उनलाई लगाइएको छ । चुनावको मुखैमा उनलाई पक्राउ तथा तारकातार जेल सजाय सुनाइएको थियो ।

३. किन खानको चुनाव चिह्न खोसियो ?

सन् २०२३ डिसेम्बर २२ मा पाकिस्तानको निर्वाचन आयोगले इमरान खानको दल पीटीआईलाई चुनाव चिह्न दिनबाट वञ्चित गरेको थियो । पाकिस्तानको राष्ट्रिय क्रिकेटका कप्तानबाट राष्ट्रिय पहिचान बनाएका खानले पाकिस्तानको प्रधानमन्त्री बन्दा उनलाई चिनाउने क्रिकेटकै ब्याट चुनाव चिह्न प्रयोग गरेका थिए । सन् १९९२ मा पाकिस्तानले आईसीसी क्रिकेट विश्वकपमा पहिलो जीत निकालेको थियो । त्यो जीतका कप्तान खान थिए ।

निर्वाचन आयोगले दलको आन्तरिक चुनाव नगरेको आरोपमा चिह्नबाट वञ्चित गरेको थियो । खानको दलले जुलाई २२ मा आन्तरिक चुनाव गरे पनि निर्वाचन आयोगले बेवास्ता गरेको थियो । खानको दललाई चुनाव चिह्नबाट वञ्चित गरिए पनि खानका प्रतिस्पर्धामा आउने पाकिस्तानका अरु दुई दल नवाज सरिफको पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) र भुट्टो परिवारको विलाबल भुट्टो जर्दारी अध्यक्ष भएको पाकिस्तान पिपल्प पार्टी (पीपीपी)ले भने चुनाव चिन्ह पाएका थिए । यतिका बावजुद खान समर्थक स्वतन्त्र उम्मेदवारहरुले ९३ सीट ल्याएर सरिफ र भुट्टोको दलभन्दा ठूलो परिणाम ल्याएका छन् । सरिफको दलले ७३ र भुट्टोको दलले ५४ सीट जितेका छन् । खानका समर्थकहरुले उनले ब्याट नै चुनाव चिह्न पाएको भए एकल बहुमत ल्याउने दाबी गर्दै आएका छन् ।

४. खानले चुनावमा प्रविधिबाट कस्तो कस्तो चलाखी देखाए ?

जेलमा परे पनि खान आफन समर्थकबाट भने अलग रहेनन् । उनले कृत्रिम प्राज्ञ अर्थात् एआई प्रयोग गरेर भाषण गरे । सन् २०२३ को डिसेम्बर १७ को रात उनले त्यस्तो भाषण गरेका थिए । उनले लेखेको कुरा उनको आवाजमा एआईले जनतामाझ पुर्‍याएको थियो । पाकिस्तानीमात्रै होइन विश्व इतिहासमा जेलमा बसेको नेताले आफ्ना कार्यकर्ता तथा जनतामाझ एआई प्रयोग गरेर सम्बोधन गरेको घटना त्यही थियो । पाकिस्तानी सत्तालाई छक्याएर एआई भाषण गर्ने, चुनावी समयमा सञ्चार सम्पर्क बन्द हुने अनुमान गरेर खानका कार्यकर्ताहरुले मतदाता नामावालीको सूची अग्रिम प्रिन्ट गरेर राखेको विभिन्न मिडियाहरुले उल्लेख गरेका छन् । सत्ताले च्याप्दा पनि सूचना प्रविधिको चलाखी देखाएर खानले युवा मतदाताहरुमा पुग्न सफलता पाएका थिए । चुनावी परिणाम आएपछि पनि खानले एआईबाटै सम्बोधन गरेका थिए ।

५. चौतर्फी घेरामा पर्दा पनि खान लोकप्रिय हुनुको रहस्य के हो ?

सन् १९४७ अगस्ट १४ मा स्वतन्त्र देश बनेको पाकिस्तानमा आधाभन्दा धेरै समय सेनाले सत्ता हत्याएको छ । सेनाबाहेकको सत्ताधारीमा पाकिस्तान मुस्लिम लिग र भुट्टो पािरवारको पीपीपी दल छन् । तर, सन् २०१८ मा प्रधानमन्त्री भएका खानले यी तीनै शक्तिभन्दा अलग शक्तिको रुपमा आफ्नो दल पीटीआईलाई उभ्याएका थिए । खानको सरकार विवादरहित भने थिएन । आर्थिक मन्दी, बेरोजगारी जस्ता समस्यामा कोभिड कहर थपिएपछि खानले वाचा गरेको जस्तो परिणाम दिन सकेनन् । यसमा उनी विवादित बने ।

किस्ता किस्ताका साना तथा ठूला विवादबाहेक खानको लोकप्रियता पनि उत्तिकै छ । पाकिस्तानी नागरिकहरु खासगरी युवा पुस्ताले नयाँ राजनीतिक शक्तिको रुपमा खानको दललाई पत्याएको देखिन्छ । यस्तै खानको क्रिकेट विरासत र क्रिकेटप्रेमी पाकिस्तानी मतदाताको साइनो खानको लोकप्रियतामा जोडिन्छ । सबैभन्दा ठूलो कारण चैँ खानलाई मूलधारका पुराना राजनीतिक शक्ति र सेनाले मिलेर चाहिनेभन्दा धेरै सताएको विचारमा धेरै पाकिस्तानीहरु छन् । त्यसको अभिमत खानको पक्षमा पोखिने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर