फागुन १ मा सिन्धुपाल्चोकका दुई स्थानीय तहले दियो बिदा – Nepal Press

फागुन १ मा सिन्धुपाल्चोकका दुई स्थानीय तहले दियो बिदा

सिन्धुपाल्चोक । सर्वोच्च अदालतले फागुन १ गते सार्वजनिक बिदा नदिन दिएको आदेशको अवज्ञा गर्दै सिन्धुपाल्चोकका दुई स्थानीय तहले फागुन १ गते सार्वजनिक बिदा दिएका छन् ।

सरकारले यसअघि ‘जनयुद्ध’ सुरु भएको दिन फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, सर्वोच्च अदालतले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ का रुपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि गृह मन्त्रालयले समेत सोमबार सूचना प्रकाशित गर्दै फागुन १ गते कुनै बिदा नभएको प्रस्ट पारेको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र लिसंखु पाखर गाउँपालिकाले भने अदालतको आदेश लत्याउँदै फागुन १ गते सार्वजनिक बिदा दिएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाले सोमबार सूचना प्रकाशित गर्दै नगरपालिकाअन्तर्गतका कार्यालय, स्वास्थ्य संस्थाहरु, नगरपालिका मातहतका विद्यालयहरुमा नगरपालिकाको २०८०/१०/२५ गतेको निर्णयअनुसार फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय भएको सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै लिसंखु पाखर गाउँपालिकाले पनि फागनु १ गते सार्वजनिक बिदा दिएको छ । जनयुद्ध दिवसको अवसरमा फागुन १ गते स्थानीय बिदा दिने गाउँ कार्यपालिकाबाट निर्णय भएको भन्दै लिसंखु पाखर गाउँपालिकाले सूचना जारी गरेको छ ।

स्थानीय तहमा माओवादीले सिन्धुपाल्चोकमा चार स्थानीय तहमा प्रमुख जितेको थियो । चौतारा साँगाचोकगढी नगरपालिका, जुगल गाउँपालिका, बलेफी र लिसंखु पाखर गाउँपालिकामा माओवादीले प्रमुख जितेको थियो ।

माओवादीले जितेका दुई स्थानीय तहमा बिदा दिने निर्णय गरे पनि बाँकी दुई स्थानीय तहले भने बिदा दिएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर