ठडिँदै गाउँका सिंहदरबार, सिन्धुपाल्चोकका १२ मध्ये ९ स्थानीय सरकारको आफ्नै भव्य भवन – Nepal Press

ठडिँदै गाउँका सिंहदरबार, सिन्धुपाल्चोकका १२ मध्ये ९ स्थानीय सरकारको आफ्नै भव्य भवन

सिन्धुपाल्चोक । नेपालमा संघीयता कार्यन्वयन भएपछि पहिलोपटक २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा अध्यक्ष निर्वाचित भएपछि एउटा सामान्य झुपडीबाट पदभार ग्रहण गरेका थिए अध्यक्ष टासी लामाले ।

पहिलो कार्यकालको पाँच वर्ष पुरा गरेर दोस्रो निर्वाचनबाट पनि पुनः अध्यक्षमा निर्वाचित भएपछि दोस्रो कार्यकालको पहिलो वर्ष पुरा हुदै गर्दा अहिले गाउँपालिकाको आफ्नै भव्य भवन छ,भवनमा जनप्रतिनिधि र कर्मचारीहरुका लागि मात्रै होइन सेवाग्राहीलाई समेत सुविधा नै सुविधा रहेको छ ।

२०७२ को भुकम्पमा सिन्धुपाल्चोकमा सबैभन्दा बढीजनधनको क्षति भएको थियो । त्यसमा पनि हालको पाँचपोखरी गाउँपालिका भित्रका वडाहरुमा क्षतिको संख्या सर्वाधिक थियो । भुकम्पले ध्वस्त भएको स्थानीयको घर पुननिर्माण गर्नुपर्ने चुनौतीका बीचबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका लामाको टिमले ६ वर्ष भित्रै गाउँपालिकाका सम्पुर्ण पुर्वाधार निर्माण सम्पन्न गरिसकेको छ । अहिले पुर्वाधारसँगै स्थानीयको जीवनस्तर उकास्ने कार्यक्रमको सुरुवात गाउँपालिकाले गरेको अध्यक्ष लामाले जानकारी दिए ।

२०७४ मा गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि साविकको थाङपालधाप गाउँ विकास समिति र हालको ६ नम्बर वडा कार्यालय नजिकै रहेको अस्थाई टहरोबाट कार्य सुरुवात गर्दाको क्षण र आफ्नै दोस्रो कार्यकालमा भव्य भवन उद्घाटनको क्षणमा गाउँपालिका अध्यक्ष लामा निकै भावुक भएका थिए ।

‘हामीले आफु बस्ने घर मात्रै होइन,जनता बस्ने सबैको घर निर्माण सम्पन्न गरेपछि मात्रै हामी आफ्नै भवनमा सरेका हौ’ भवन उद्घाटन कार्यक्रममा अध्यक्ष लामाले भावुक हुदै भने ।

२०७७ जेठ १२ गते गाउँपालिकाको बहुपहिचान झल्कने भवन निर्माणको सुरुवात भएको थियो ।

प्रशासनिक भवन बहुपहिचानयुक्त

झण्डै ३ वर्षमा निर्माण सम्पन्न भएको पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रशासनिक भवन बहुपहिचानयुक्त भएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए ।

पाँचपोखरी थाङपाल गाउँपालिका–६ का ६३ जना स्थानीयले ४४ रोपनी १५ आना जग्गा निःशुल्क उपलब्ध गराएपछि गाउँपालिका भवन निर्माणको सुरुवात गरिएको थियो । ‘गाउँपालिकाको आफ्नै स्रोतबाट जग्गा खरिद गर्न सम्भव थिएन,हामीले जग्गादानका लागि स्थानीयलाई अनुरोध गरेपछि ६३ जनाले निःशुल्क जग्गा उपलब्ध गराउनुभयो’ अध्यक्ष लामाले भने ।

संघीय सरकारको ३ करोड ८४ लाख,जिल्ला समन्वय समितिको २ करोड ३७ लाख,६० हजार र गाउँपालिकाको ४ करोड ८७ लाख सहित कुल ११ करोड रुपियाँको लागतमा भवन निर्माण सम्पन्न भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीले जानकारी दिइन ।

६ वटा भवनमा ३५ कोठा रहेका छन् भने ५ सय बढी क्षमताको सभाहल समेत गाउँपालिकाले निर्माण गरेको छ । स्थानीय बास्तुअवस्था झल्कने गरेर गाउँपालिकाको भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलले जानकारी दिए ।

गाउँपालिकाको नयाँ प्रशासनिक भवन वातावरणमैत्री, अपाङ्गमैत्री, प्रविधिमैत्री र जोखिमरहित रहेको गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिए । भवनबाट सिन्धुपाल्चोकका विभिन्न हिमालहरु समेत देख्न सकिने भएकाले पर्यटकीय रुपमा समेत विशेष महत्व भवनले राख्ने अध्यक्ष लामाको भनाइ छ ।

सबै भवनमा छुट्टा–छुट्टै पहिचान झल्किने सभाहल र एक छुट्टै ५०० जना अट्ने पाँचपोखरी हल भएको भवनको भित्रैबाट सिचाई कुलो भएकाले फलफुल बारी र वगैचाको लागि सुविधा रहेको अध्यक्ष लामाले बताए । प्रशासनिक भवनमा आपत्कालिन कक्ष, कृषि सूचना केन्द्र, स्तानपान कक्ष पुस्तकालय, म्यूजियम तथा भवन भित्रै क्याटिनको व्यवस्था समेत गरिएको छ ।व्यवस्थित न्याय इजलास भएको भवनभित्र पुरै स्थानीय कला, सीप प्रयोग गरेर आर्टनै–आर्टले भरिएको भवना भविष्यमा यहीबाट मालपोत लगायत सम्पूर्ण सेवा दिन सक्ने क्षमता भएको गाउँपालिकाले जानकारी दिएको छ ।

१२ मध्ये नौ स्थानीय तहको आफ्नै भवन

स्थानीय सरकारको पहिलो कार्यकाल पुरा भएर दोस्रो कार्यकालको पहिलो वर्ष पुरा हुँदै गर्दा सिन्धुपाल्चोकका १२ स्थानीय सरकार मध्ये नौ स्थानीय तहको आफ्नै भव्य भवनबाट स्थानीयलाई सेवा प्रवाह गरिरहेका छन् ।

सुनकोशी गाउँपालिका र हेलम्बु गाउँपालिका अहिले पनि भाडाकै भवनमा छन् भने बाह्रविसे नगरपालिकाले सडक विभागको भवनबाट सञ्चालित रहेका छन्।

मेलम्ची नगरपालिका,चौतारा साँगाचोकगढी नगरपालिका,जुगल इन्द्रावती,भोटेकोशी लगायतका गाउँपालिकाले आफ्नै भवनबाट सेवा दिएको दुई वर्ष बढी भइसकेको छ । बलेफी र त्रिपुरासुन्दरीको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

लिसंखुपाखरको पनि आफ्नै भवन भएपनि अहिले अर्काे भव्य भवन निर्माण भइरहेको छ । सबै स्थानीय सरकारले अघिल्लो कार्यकालमा नै भवन निर्माण सुरु गरेका थिए ।
हेलम्बु गाउँपालिकाले यसै वर्ष भित्र भवन निर्माण प्रक्रिया सुरु गर्ने अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।

सुनकोशी गाउँपालिकाले भने भवनका लागि केही महिना अगाडि मात्रै जग्गा प्राप्तीको प्रक्रिया सुरु गरेको र अबको केही महिना भित्रै जग्गाको प्रक्रिया पुरा गरेर भवन निर्माणको कार्य अगाडि बढाउने गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिनाले जानकारी दिए ।

निर्माण सम्पन्न भएका प्रशासनिक भवन मध्ये फराकिलोको हिसाबले पाँचपोखरी थाङपाल गाउँपालिकाका रहेको छ भने आर्कषको हिसाबले इन्द्रावती गाउँपालिकाको रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर