आज राति युगाण्डा उड्दै प्रधानमन्त्री : विज्ञको प्रश्न- नेपाल कसरी ‘असंलग्न’ राष्ट्र ? – Nepal Press

आज राति युगाण्डा उड्दै प्रधानमन्त्री : विज्ञको प्रश्न- नेपाल कसरी ‘असंलग्न’ राष्ट्र ?

काठमाडौं । सन् १९६१ मा असंलग्न राष्ट्रहरूको शिखर सम्मेलन बेल्ग्रेडमा हुँदा आयोजक देशको नाम युगोस्लाभिया थियो । अहिले युगोस्लाभिया टुक्रेर संयुक्त राष्ट्रसंघले मान्यता दिएका क्रोएसिया, सर्विया, स्लोभेनिया, मोन्टेनेग्रो लगायत र संयुक्त राष्ट्रसंघले मान्यता नदिएको स्वतन्त्रता अभ्यास गरेको कोसोभोलगायतका देशमा विभक्त छ । जसरी असंलग्न राष्ट्रहरूको एकतामा क्रमशः खलल पुग्यो, ठीक त्यसैगरी असंलग्न देशको पहिलो आयोजक पनि विभिभ्न देशमा विभक्त भयो ।

नेपाल असंलग्न देशको संस्थापक हो । नेपालका टेक्नोक्रेटहरूले असंग्न राष्ट्रको निर्माणमा ठूलो भूमिका खेलेको थियो । सन् १९६१ मा खुलेको असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा पाँच नेताको हाइहाइ थियो । भारतका जहावरलाल नेहरु, युगोस्लभियाका टिटो, इण्डोनेसियाका सुकार्नो, इजिप्टका नासिर तथा घानाका कुर्मा प्रमुख अनुहार थिए । तर, यसको भित्री टेक्नोक्रेटहरूमा भने नेपालका ऋषिकेश शाह पनि थिए ।

सन् १९६१ अक्टोबर २४ को टाइम म्यागाजिनले असंलग्न राष्ट्र निर्माणमा बाहिर देखिने यी पाँच अनुहार भएपनि भित्री र प्रभावकारी काम गर्ने अनुहारमा पनि नेपाल ऋषिकेश शाह, बर्मा (हालको म्यानमार) का उथान्त र ट्युनिसियाका मोङ्गी स्लिम भएको लेखेको थियो । ऋषिकेश शाहको अंग्रेजी भाषाको आत्मकथा ‘लुकिङ व्याक एट माइ ओन करिअर’ मा यो प्रसंग ल्याइएको छ ।

नेपाल संस्थापक भएको र नेपाली टेक्नोक्रेट ऋषिकेश शाहले देखिने उपस्थिति जनाएको असंलग्न राष्ट्रहरूको १९औँ शिखर सम्मेलन यही शुक्रबार र शनिबारबाट युगाण्डामा सुरू हुँदैछ । त्यसको लागि प्रधानमन्त्री प्रचण्ड आज रातिको उडानमा जाँदैछन् । १२० सदस्य राष्ट्र तथा १८ राष्ट्र पर्यवेक्षक रहने यस सम्मेलनमा नेपालको सहभागिता प्रधानमन्त्री तहमा हुने भएको हो । नेपाल संस्थापक सदस्य भएर पनि सार्वजनिक डोमेनमा असंलग्न परराष्ट्रनीतिको प्रयोग कम हुन थालेको समयमा प्रधानमन्त्री जान लागेका हुन् । नेपालको प्रथम लिखित परराष्ट्रनीति २०७७ मा नेपालले ‘सन्तुलिन र स्वतन्त्र परराष्ट्रनीति’ कार्यान्वयन गरेको उल्लेख गरेको छ । असंलग्नताको चर्चा गरेको छैन ।

युगाण्डाको राजधानी कम्पलामा असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा प्रधानमन्त्री जाने कुरामा कूटनीतिक क्षेत्रका जानकारहरूले प्रश्न उठाएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका संस्थापक प्रमुख प्रा. डा. खड्ग केसी  सरकारको पछिल्ला शैली र नीतिगत विचलनले गर्दा असंलग्नतामा विश्वले विश्वास गर्ने ठाउँ नभएको बताउँछन् । नेपाल प्रेससँग केसीले नेपालले संयुक्त राष्ट्रसंघका मञ्चहरूमा युक्रेनदेखि इजरायली मुद्दामा देखाएको मतदेखि बहुपक्षीय मञ्चहरूमा देखाएको शैलीले नेपालको असंलग्नताको अडान विश्वले विश्वास गर्नेमा शंका हुने केसीले बताए ।

उनी भन्छन्, ‘प्रधानमन्त्रीले नेपालको असंलग्नतालाई पुष्टि देखाउन के भन्नु हुन्छ त्यो विश्वले कसरी विश्वास गर्छ हेर्नैपर्छ ।’

केसीजस्तै पूर्वपरराष्ट्रमन्त्री तथा चर्चित लेखक रमेशनाथ पाण्डेको । पाण्डेले सन १९६१ मा बेल्ग्रेडमा भएको असंलग्न राष्ट्रहरूको पहिलो शिखर सम्मेलनमा तत्कालीन दुई ध्रुवीय विश्वमा आफ्नो परराष्ट्रनीतिलाई असंलग्न बनाएर आफ्नो आर्थिक तथा राजनीतिक नीति अवलम्बन गरेपनि अहिले विश्व व्यवस्था फरक भएको बताए । हाल कूटनीतिक शब्दकोषमा असंलग्नता रहेतापनि विभिन्न देशहरूले आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धलाई समायोजन तथा पुनःसमायोजन गरिरहेको पाण्डेले बताए । अहिले युद्धको खतरा मडारिरहेकोदेखि साना राष्ट्रहरूको सुरक्षा खतरा बढेको बताए । यस्तो अवस्थामा नेपालले असंलग्नताको पुरानै रट नलगाएर आफ्नो अन्तराष्ट्रिय सम्बन्धलाई सुझबुझपूर्ण तरिकाले सञ्चालन गर्नुपर्ने पाण्डेले बताए ।

नेपाल, भारत, चीनदेखि अमेरिकाको सामरिक राडारमा परेको यथार्थ हेरेर नेपालले कदम चाल्नुपर्नेमा पाण्डेको जोड छ । उनले अहिले विश्व व्यवस्थामा आएको बदलावले गर्दा असंलग्न राष्ट्रहरूको शिखर सम्मेलन पनि छायामा परेको बताए । उनले भने, ‘नेपालले दुई छिमेकीको विश्वास लिएर आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध परिपक्व ढंगले सञ्चालन गर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर