एस जयशंकर पनि जोडिँदै ‘मन्दिर कूटनीति’मा: पशुपतिनाथ दर्शन गरेर भारत फर्किने – Nepal Press

एस जयशंकर पनि जोडिँदै ‘मन्दिर कूटनीति’मा: पशुपतिनाथ दर्शन गरेर भारत फर्किने

काठमाडौं । २०७२ असोज १ गते संविधान जारी हुने अन्तिम घडीमा काठमाडौं आएका एस जयशंकर अलोकप्रिय भएर फर्किए । न नेपाली नेताहरुले चाहे जस्तो उनी प्रस्तुत भए न त भारतले चाहे जस्तो नेपाली नेताले संविधान जारीलाई थाँती राखेर उनको हुबहु कुरा माने । त्यसको प्रतिक्रियामा भारतले नाकाबन्दी लगायो । नाकाबन्दी भन्नासाथ देखिने र सुनिने प्रमुख भारतीय अनुहार उनै एस जयशंकर भए । भारतीय विदेशसचिव हुँदा मोदीकै सन्देश लिएर आएका उनी त्यो नेपाल भ्रमणमा बडो आलोचित भए ।

विदेशसचिव भएर नेपाल आउँदा जयशंकरले पशुपतिनाथको यात्रा गरेका थिएनन् । तर, यो यात्रामा उनी पशुपतिनाथ जाने भएका छन् । कार्यक्रम तालिकाअनुसार उनी शुक्रबार बिहान ८ बजेपछि पशुपतिनाथ मन्दिर क्षेत्र पुग्नेछन् । त्यहाँ पुगेपछि जयशंकर मोदीले नेपालमा विकास तथा विस्तार गरेको मन्दिर कूटनीतिमा जोडिनेछन् । जयशंकरका पछिल्लो किताबदेखि कार्यक्रमहरुसम्ममा उनले हिन्दूत्वलाई प्रवर्द्धन गर्ने खुराक दिइरहेका छन् ।

आफ्नो ‘इन्डिया वे’ पुस्तकमा उनले भारतका प्राचीन कूटनीतिज्ञको रुपमा कृष्णलाई उदाहरण दिएका छन् । उनले रामायण तथा महाभारतका अरु पात्रलाई पनि प्राचीन भारतका सफल कूटनीतिज्ञको रुपमा चित्रण गरेका छन् । आफ्नो ताजा पुस्तक ‘ह्वाई भारत म्याटर्स’मा पनि जयशंकरले भारतको सनातनी हिन्दू सभ्यताको कथा जोडेर भारतले जी-२० देखि संयुक्त राष्ट्रसंघमा प्रयोग विकल्प राखिएको ‘भारत’को नामको व्याख्या गरेका छन् । पछिल्लो संयुक्त राष्ट्रसंघको साधारणसभामा बोल्दा पनि उनले इन्डिया नभनेर भारत भने । जयशंकरले भनेका थिए, ‘नमस्ते फ्रम भारत ।’

उनको यो सम्बोधनमा हलमा गडगडाहट ताली बजेको थियो । अर्थात्, भारतको ‘भारत’ नाम प्रयोगको कूटनीतिले पनि विश्वमा एकखाले मान्यता पाएको त्यो तालीको ध्वनिले संकेत गर्छ । उसो त गत सेप्टेम्बर ९ र १० मा भएको जी-२० शिखर सम्मेलनको नारा पनि संस्कृतको ‘वशुधैव कुटुम्बकम्’ राखिएको थियो ।

भारतको मन्दिर कूटनीतिका आर्किटेक्ट प्रधानमन्त्री नरेन्द्र मोदी हुन् । आफ्नो पहिलो कार्यकालमै उनी नेपाल आउँदा पशुपतिनाथ पुगे । २०७१ साउन १९ मा उनी पहिलो पटक प्रधानमन्त्रीको रुपमा नेपाल आए र पशुपतिनाथ पुगे । त्यसपछिका कार्यकालमा उनी हिमाली भेगको मुक्तिनाथदेखि तराई भेगको जानकी मन्दिरसम्म पुगेर मन्दिर कूटनीतिबाट नेपाली हिन्दू धामको हिमाल, पहाडदेखि तराईसम्मको क्षेत्रफल छिचोले ।

मोदी २०७५ वैशाख २८ मा जानकी मन्दिर र वैशाख २९ मा मुक्तिनाथ मन्दिरमा पुगेका थिए । हरेक भ्रमणमा काठमाडौं आउँदा मोदी पशुपतिनाथ पुगेका छन् । मन्दिर कूटनीतिलाई मोदीले हिन्दू क्षेत्रफलमा मात्रै सीमित गरेनन् । उनी लुम्बिनी पनि पुगे । २०७९ जेठ २ गते उनी लुम्बिनी पुगेका थिए । लुम्बिनी पुगेर उनले बौद्ध धर्मको कूटनीतिबाट पनि नेपाल-भारत जोड्न चाहे ।

उसो त प्रधानमन्त्री प्रचण्डसमेत मन्दिर कूटनीतिबाट अलग छैनन् । भारतबाटै प्रभावित भएर उनले मन्दिर कूटनीति सुरु गरेका छन् । मन्दिर कूटनीतिको पहिलो लेग पनि भारत नै बनाएका छन् । तीन पटक प्रधानमन्त्री भएका प्रचण्डले आफ्नो पछिल्लो कार्यकालमा मन्दिर कूटनीति जोडे । नेपालको पशुपतिनाथ नपुगेका उनले भारतको उज्जैनमा रहेको महाकालेश्वर मन्दिर यात्रा गरे । गत जेठ १९ गते उनी क्याबिनेटका सबै अनुहारसहित रुद्राक्षका विशाल लजेग लिएर मन्दिर पुगेका थिए । क्याबिनेटका सबै अनुहार नै गेरु वस्त्रमा जोडिएका थिए ।

आलोचकहरुले त्यसलाई मोदीको हिन्दूत्वको अनुमोदन भनेर व्याख्या गरे । प्रचण्डको मन्दिर कूटनीति भारतमा मात्रै सीमित भएन । उनी चीन भ्रमणमा पुग्दा पनि मन्दिर कूटनीतिमा जोडिए । उनी असोज ११ गते चीन भ्रमणमा हुँदा हेलिकप्टरबाट कैलाश मानसरोवर यात्रामा गए । यो पनि उनी चीन भ्रमणमा पुगेर भएको पहिलो धार्मिक यात्रा थियो ।

यसरी भारतको सत्ताधारी दलले सुरु गरेको मन्दिर कूटनीति नेपाली प्रधानमन्त्री प्रचण्डले अनुशरण गरेर त्यसलाई भारतदेखि चीनसम्म फैलाएका छन् । यो मन्दिर कूटनीतिले आगामी जनवरी २२ अर्थात माघ ८ मा हुने भारतको अयोध्यास्थित राम मन्दिरकाे औपचारिक उद्घाटनमा पनि राज्य तहबाटै जोडिन्छ वा जोडिन्न ? प्रतीक्षाको विषय बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर