प्रधानमन्त्रीको सम्बोधनमा वैदेशिक कोण: बिजुली व्यापार र जलवायु कूटनीतिमा जोड – Nepal Press

प्रधानमन्त्रीको सम्बोधनमा वैदेशिक कोण: बिजुली व्यापार र जलवायु कूटनीतिमा जोड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको तथा उनको दल माओवादीका मानक नेता माओको १३०औं जन्मजयन्ती भएको अवसरमा दिएको राष्ट्रको नामको सम्बोधनमा कूटनीतिलाई प्राथमिकता दिए । ४५ मिनेटमा करिब पाँच हजार शब्दमा आफ्ना कुरा सकाएका प्रधानमन्त्रीले सम्बोधनको एक मुख्य हिस्सा कूटनीतिलाई बनाएका थिए । ‘सुशासन, सामाजिक न्याय, समृद्धि, कूटनीति’ आदिलाई उनले मुख्य आधार बनाएर बोले ।

बिजुली व्यापारमा भारत, बंगलादेश र चीन जोड्न त्रिदेशीय सहकार्य

प्रधानमन्त्रीले आफ्नो सम्बोधनको क्रममा नेपालको बिजुली भारत, बंगलादेश र चीनसम्म बेच्ने कुरा जोडे । लोडसेडिङलाई नेपालीले ‘नियति’ बुझेकोमा आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा त्यसलाई हटाएर बिजुली व्यापार गर्न सफलता पाएको उनले चर्चा गरे । भारतसँगको बिजुली व्यापारबाट विगत एक वर्षमा ७०० मेगावाट बिजुली बेचेर १५ अर्ब २९ करोड कमाएको भन्दै उनले त्यो कमाइ सोही अवधिको अघिल्लो वर्षको कमाइभन्दा ३१.२८ प्रतिशत बढेको बताए ।

चीनसँग पनि बिजुली व्यापार खोलिएको भन्दै प्रचण्डले भने, ‘मेरो चीन भ्रमणको क्रममा नेपाल-चीन जोड्ने चिलिमे-केरुङ २२० केभी प्रसारण लाइन अगाडि बढाउने सहमति भएको छ । यो प्रसारण लाइन बन्नेबित्तिकै चीनसँग पनि हाम्रो विद्युत व्यापारको ढोका खुल्नेछ ।’

बंगलादेशसँग भारतसमेत जोडेर गरिने बिजुली व्यापार कूटनीतिको बारेमा पनि प्रचण्डले बोले । बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्न लागिएको भन्दै उनले भने, ‘भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि हामी विद्युत व्यापारको एकदमै नजिक पुगेका छौं । नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत निर्यात गर्न त्रिदेशीय विद्युत व्यापार सम्झौतामा हस्ताक्षर हुँदैछ ।’

कमजोर नियोग र राजदूत फिर्ता, पासपोर्ट प्राप्तिमा सहजता

प्रधानमन्त्री प्रचण्डले कमजोर आर्थिक तथा कूटनीतिक क्षमता देखाएका नियोग तथा राजदूतलाई फिर्ता बोलाउने बताए । उनले भने, ‘आर्थिक र कूटनीतिक नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालन गर्न प्रतिबद्ध छु । कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरू फिर्ता बोलाइनेछन् ।’

यस्तै, उनले पासपोर्ट प्रिन्टदेखि प्राप्तिमा सहजता ल्याउने बताए । गैरआवासीय नेपालीको सवालमा प्रचण्डले नागरिकता प्रदान गरिसकेको भन्दै मताधिकारको क्षेत्रमा समेत काम अगाडि बढेको दाबी गरे ।

विश्व मञ्चमा उपस्थिति : शान्ति प्रक्रिया र जलवायु कूटनीति

प्रधानमन्त्री प्रचण्डले भारत र चीन तथा विश्व खाद्य कार्यक्रममा इटाली हुँदै कोप २८ को यूएई भ्रमण आदिमा नेपालको मुद्दा र स्थानले विश्वस्तरीय मञ्च र मान्यता पाएको तर्क गरे । यस्तै, संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण पनि कूटनीतिक उपलब्धिकै रुपमा अथ्र्याए ।

जलवायु कूटनीतिको कुरामा उनले नेपालको कार्बन व्यापारमा पहुँच बनाउन लागिपर्ने बताए । उनले भने, ‘नेपालको विकास प्रयासमा यी छिमेकी मुलुकहरूको सहयोग र समर्थनमा वृद्धि भएको छ । इटालीको रोममा भएको विश्व खाद्य सम्मेलनमा नेपालले खाद्य सुरक्षा र अल्पविकसित मुलुकहरूको समस्या समाधानमा राखेको प्रस्तुतिले संसारको ध्यान तानेको छ । संयुक्त राष्ट्रसंघको महासभा र त्यसका अन्य बैठकहरूमा नेपालले राखेका विषयवस्तुले अन्तर्राष्ट्रिय ध्यानाकर्षण पाएका छन् ।’

शान्ति प्रक्रियाको कुरामा पनि उनी मुखर भए । शान्ति प्रक्रिया, सर्वोच्चको फैसलादेखि पीडित केन्द्रित न्याय दिलाउन आफू सक्रिय हुने प्रधानमन्त्री प्रचण्डले बताए । नेपालको शान्ति प्रक्रिया विश्वकै अनुकरणीय र अनुपम भएको भन्दै उनले भने, ‘नेपालको संविधान, सर्वोच्च अदालतको फैसला, बृहत शान्ति सम्झौता, मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता तथा पीडितको सरोकारलाई केन्द्रमा राखी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिमा छलफलको क्रममा छ । यसलाई सार्वभौम संसदबाट आमसहमतिमै अगाडि बढाउन सकिन्छ भन्ने विश्वास छ ।’

विमानस्थल कूटनीति र विदेशका पीडित नेपालीको उद्दार

नेपालले बनाएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवा राम्रोसँग सञ्चालन हुन नसकेको प्रधानमन्त्रीले स्वीकारे । पोखराको राम्रो सञ्चालनदेखि भैरहवामा छिमेकी भारतीय क्षेत्रका कम उचाइमा उड्ने जहाज सञ्चालनको तयारी भएको बताए ।

पोखरा, भैरहवाका बनेकादेखि निजगढमा बन्ने तयारीमा रहेको विमानस्थलबारेमा प्रचण्डले भने, ‘भैरहवा र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र अवतरण गर्ने विमानहरूलाई इन्धन, टर्मिनल, ग्राउण्ड ह्याण्डलिङ र अन्य सेवा शुल्कमा सहुलियत दिएर प्रोत्साहन गरिँदैछ । निजगढ विमानस्थलको समेत निर्माण सुनिश्चित गरी काठमाडौं, भैरहवा र पोखरा विमानस्थलको विस्तार तथा सञ्चालन पनि सार्वजनिक-निजी साझेदारी मोडेलमा अघि बढाउने विकल्पमा समेत छलफल भएको छ ।’

महाकाली करिडोर, ताक्लाकोटा जोड्ने सडकदेखि दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणमा भारतसँग सम्झौता भएर काम प्रारम्भ भएको भन्दै प्रचण्डले नेपालगञ्ज र विराटनगरमा एकीकृत जाँच चौकीका काम भएको बताए ।

हमास आक्रमणमा परेका नेपालीलाई इजरायलबाट तथा सुडानका नेपालीको उद्दार जस्तै रुसी फौजमा भएका नेपालीको उद्दारमा समेत सरकारले द्रूत पहल गर्ने प्रचण्डले बताए ।

शीर्ष नेताको बैठक : विदेश नीतिमा एकै धारणा

विज्ञ सम्मेलन टोलीले मात्रै अन्तर्राष्ट्रिय मञ्चमा उपस्थिति जनाउने प्रधानमन्त्रीले दाबी गरे ।

उनले भने, ‘अन्तरमन्त्रालय संयन्त्र र विज्ञ सम्मिलित अन्तर्राष्ट्रिय वार्ता टोली बनाइ त्यसलाई पूर्ण म्यान्डेटसहित संयुक्त राष्ट्रसंघलगायतमा बहुपक्षीय वार्ताहरूमा नेपालका प्राथमिकता प्रस्तुत गर्न र अवसर जुटाउन परिचालन गरिँदैछ ।’

प्रचण्डले देशका शीर्ष नेताको बैठक नतिजामुखी बनाउनेसमेत दाबी गरे । उनले भने, ‘अब शीर्ष बैठकहरू सत्ताको वितरण गर्न होइन, विश्वविद्यालयहरू सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि राष्ट्रको छवि सुधार्न बस्नेछन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर