गोविन्द केसी लक्षित स्वास्थ्यमन्त्रीको टिप्पणी- कोही सुत्छु भन्दैमा चिकित्सा शिक्षा ऐन संशोधन रोकिन्न (भिडिओ) – Nepal Press

गोविन्द केसी लक्षित स्वास्थ्यमन्त्रीको टिप्पणी- कोही सुत्छु भन्दैमा चिकित्सा शिक्षा ऐन संशोधन रोकिन्न (भिडिओ)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कसैले धम्क्याउँदैमा चिकित्सा शिक्षा ऐन संशोधनको प्रकृयाबाट सरकार पछि नहट्ने बताएका छन् ।

सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्ने उनले डा. गोविन्द केसीप्रति लक्षित गर्दै कोही सुत्छु भन्दैमा सरकार ऐन संशोधाबाट पछि नहट्ने बताए ।

चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले नेपालको मेडिकल शिक्षा धराशायी बन्दै गएको उनको भनाइ छ ।

केही दिनअघि पनि मन्त्री बस्नेतले डा. केसी मेडिकल माफियाहरूद्वारा सञ्चालित भएको आरोप लगाएका थिए ।

केसीले बेलाबेलामा अनसन बस्ने कुरा देश र जनताको अहितमा भएपनि मेडिकल गिरोहजस्ता गलत मान्छेहरुको फन्दामा परेर त्यसो गरिरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यस्ता अभियानको बचाउमा नलाग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सचेत गराएका थिए ।

चिकित्सा शिक्षा ऐनका कारण देशमा आगामी पाँच वर्षमा चिकित्सक तथा स्वास्थ्य प्राविधिकको समस्या हुने देखिएकाले संशोधन गर्न लागिएको उनको भनाइ छ । चिकित्सा क्षेत्रमा २२ वर्षअघिको दरबन्दीले काम भइरहेको बताउँदै उनले यसलाई थप गरेर अघि बढ्ने बताए ।

सरकारले अहिले एक सयदेखि तीन सय शय्या भएका अस्पतालहरूलाई नर्सिङ् र प्यारामेडिकस् पढाउन दिने र तीन सयभन्दा बढी शय्या भएका अस्पतालहरूलाई एमबीबीएस पढाउन दिने गरी खुकुलो पार्न लागेको बस्नेतले जानकारी दिए । मन्त्री बस्नेतले सूर्तीजन्य पदार्थमा लगाइँदै आइएको कर अब स्वास्थ्य मन्त्रालय मातहतमा ल्याउने गरी काम भइरहेको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *