रुपन्देहीमा एयरपोर्टभित्रै व्यवसायीको घेराउमा परे देउवा – Nepal Press

रुपन्देहीमा एयरपोर्टभित्रै व्यवसायीको घेराउमा परे देउवा

गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनका लागि ध्यानाकर्षण

रुपन्देही । उद्घाटनको डेढ वर्षसम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा नआएपछि आन्दोलनरत् उद्योगीव्यवसायीले आज पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

रुपन्देही कांग्रेसको जिल्ला सम्मेलनका लागि मंगलबार काठमाडौंबाट आएका उनलाई एयरपोर्टबाट निस्किँदै गर्दा व्यवसायीले आफ्ना माग राख्न घेरेका थिए ।

२०७९ जेठ २ मा प्रधानमन्त्री रहेका देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका थिए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको नेतृत्वमा व्यवसायीहरूले विमानस्थल पूर्णरूपमा सञ्चालन गर्न समन्यवयात्मक भूमिका निर्वाह गरिदिन देउवासँग माग गरे । संघले यस क्षेत्रको आर्थिक मेरुदण्डका रूपमा रहेको यो विमानस्थलबाट निरन्तर उडानको व्यवस्था गर्न आग्रह गर्दै आएको छ ।

देउवालाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले विमानस्थलसँग सम्बन्धित सम्पूर्ण व्यवसाय, पर्यटन तथा आर्थिक अवस्था प्रभावित भएको जानकारी गराए । विमानस्थल पूर्णरुपमा सञ्चालन हुन नसक्दा यस क्षेत्रका उद्योगी तथा व्यवसायी पलायन हुने अवस्थामा पुगेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।

७ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले बताए ।

राष्ट्रिय ध्वजाबाहकको उडान सुरू नहुँदासम्म अन्य स्वदेशी तथा विदेशी एयरलायन्स आकर्षित नभएकाले नेपाल वायु सेवा निगमका जहाज निरन्तर उडाइनुपर्ने नेवानीले पनि भैरहवा-मलेसिया मात्र नभई दिल्ली, कतारमा उडान सुरू गर्नुपर्ने, विश्वका सबै बुद्धिष्ट मुलुकहरूलाई पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अथवा चार्टर्ड उडानका लागि समन्वय गरिनुपर्ने संघको माग गरेको छ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट उडान हुने अन्तर्राष्ट्रिय विमानमध्ये कम्तीमा २५ प्रतिशत अनिवार्य गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडानका लागि समन्वय गरिदिनुपर्ने, विमानस्थलमा उडान भएर सञ्चालनमा आउन नसकेका विद्युतीय उपकरण शीघ्र सञ्चालनमा ल्याउनुपर्ने संघको माग छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन अघि र पछि यहाँको पर्यटन क्षेत्रको सम्भावनादेखि होटल तथा पर्यटन व्यवसायमा करिब ८० अर्बभन्दा बढी लगानी भइसकेको र विमानस्थलबाट अन्तर्राष्टिय उडान नियमित हुन नसक्दा पर्यटन क्षेत्रमा गरेको लगानी असुरक्षित भएको व्यवसायीहरुले बताइरहेका छन् । उनीहरूका अनुसार यहाँ लगानी गरेको प्रतिफल केही आएको छैन भने बैंकले विभिन्न बहानामा भुक्तानीको ताकेता गरिरहेको छ ।

‘यस्तो अवस्थामा सहयोग हुनुपर्छ तर धरपकडले मानसिक चिन्ता बढ्दो छ । सो लगानी सुरक्षित गराउने वातावरणका लागि समन्वय गरिदिनुहुन हुन माग गर्दछौं’ ज्ञापनपत्रमा उल्लेख छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थल विमान सेवा कम्पनीलाई उडान अवतरण गर्नको लागि आकर्षित गराउन विभिन्न छुट सेवा दिइएकोमा त्यो छुट सेवा पुनः १ वर्षसम्मका लागि निरन्तरता दिने व्यवस्था गर्न संघले माग गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले ४३ अर्ब बढी लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ८० अर्बको लगानीमा निजी क्षेत्रको लगानी गरे पनि विमानस्थल सञ्चालनमा नआउँदा निजी क्षेत्र मर्कामा परेको बताए ।

ज्ञापनपत्र बुझ्दै पूर्वप्रधानमन्त्री देउवाले व्यवसायीको मागप्रति आफू सकारात्मक रहेको र विमानस्थल पूर्णसञ्चालनका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर