स्वास्थ्यका तीन निकायमा प्रमुख नियुक्ति गर्न मन्त्रीले ठीक पारे तीनजना – Nepal Press

स्वास्थ्यका तीन निकायमा प्रमुख नियुक्ति गर्न मन्त्रीले ठीक पारे तीनजना

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका स्वास्थ्य बीमा बोर्ड, नेपाल मेडिकल काउन्सिल र नेपाल स्वास्थ्य व्यवसायी परिषद्‍मा रिक्त अध्यक्ष पदपूर्तिको तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छलफलपछि मन्त्री मोहनबहादुर बस्नेतले तीनजनाको नाम क्याविनेटमा लैजान तयारी गरेको बताएपनि बस्नेतले कुनै छलफल नगरेको प्रधानमन्त्रीनिकट स्रोतले बतायो ।

स्वास्थ्यमन्त्री बस्नेतले स्वास्थ्य बीमा बोर्डको अध्यक्षका लागि तत्कालीन अतिरिक्त स्वास्थ्य सचिव डा. गुणराज लोहनीको नाम प्रस्ताव गर्न लागेका छन् । त्यस्तै नेपाल मेडिकल काउन्सिलमा प्रा.डा. चोपलाल भुसाल र नेपाल स्वास्थ्य व्यवासायी परिषद्को अध्यक्षमा स्वास्थ्य सेवा विभागमा कार्यरत अहेब सुवोध मिश्रलाई लैजाने तयारी गरेका छन् ।

लोहनी माओवादीनिकट हुन् भने भुसाल र मिश्र कांग्रेसनिकटका हुन् ।

लोहनीले १२औँ तहमा अवकाश पाएका थिए भने बंगलादेशका राजदूतसमेत भइसकेका भुसाल नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष, त्रिवि शिक्षण अस्पतलाका नाक, कान तथा घाँटीरोग विशेषज्ञ तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पूर्वअध्यक्ष हुन् ।

स्वास्थ्यमन्त्री बस्नेतले यसअघि स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा नेपाली कांग्रेसनिकटका ल्याब टेक्निसियन निरीक्षक धनप्रसाद पौडेललाई अध्यक्षमा नियुक्त गर्ने तयारी अघि बढाएका थिए । तर, नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ र नेपाल स्वास्थ्य व्यवसायी परिषद् नियमावली २०५६ विपरीत नियुक्त गर्ने तयारी गरेको नेपाल प्रेसलगायतका विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि नियुक्ति प्रक्रिया रोकिएको थियो ।

स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष मोहनकृष्ण श्रेष्ठको तीन महिना पहिले २०८० साउन १४ गते कार्यकाल सकिएपछि अध्यक्ष पद रिक्त भएको थियो ।

मेडिकल काउन्सिलका अध्यक्ष भगवान कोइरालाको मंसिर १५ गतेदेखि कार्यकाल सकिएको थियो । स्वास्थ्य बीमा बोर्डका तत्कालीन अध्यक्ष सेनेन्द्रराज उप्रेतीले १० महिनाअघि राजीनामा दिएका थिए । २०८० असोज ३० गते मात्रै बोर्डका पाँचैजना सदस्यले बदलिँदो परिवेश र व्यवहारिक कारण देखाउँदै सामूहिक राजीनामा दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर