ह्वाट अ म्याच ! – Nepal Press

ह्वाट अ म्याच !

रोहितले एक्रोब्याटिङ फिल्डिङ गर्दै छक्का जोगाएको त्यो बलले डोरी नछोएको भए...

काठमाडौं । टी-२० विश्वकप छनोटको फाइनल म्याच कुनै थ्रिलर मुभीभन्दा कम रोमाञ्चक भएन । नेपाल र ओमान दुवै हार्न तयार थिएनन् र निर्णय सुपरओभरबाट भयो ।

उतारचढावहरुले भरिएको खेलमा अन्तिम विजय ओमानको भएको छ । नेपाल पराजित भए पनि गर्व गर्नलायक खेल खेलाडीहरुले प्रस्तुत गरे । नेपाल सहजै हार स्वीकार गर्ने टोली होइन भन्ने सन्देश गएको छ विश्व क्रिकेटमा । नेपाललाई दर्शकको साथ थियो भने ओमानलाई भाग्यको ।

अन्तिम ओभरमा सन्दीप लामिछानेले झण्डै झण्डै नेपाललाई अविश्वसनीय जीत दिलाएका थिए । जीतका लागि ओमानलाई ७ रनमात्र चाहिएको अवस्थामा कप्तान रोहित पौडेलले सन्दीपलाई बल सुम्पिए । २० औं ओभरमा स्पिनरलाई कमै कप्तानहरुले यसरी विश्वास गर्छन् ।

कप्तानको भरोसामा खरो उत्रिँदै सन्दीपले सनसनीपूर्ण बलिङ गरे । टी-२० खेलमा एक ओभरमा सात रन मामुली नै हो, त्यो पनि त्रिविको फ्ल्याट पिचमा । एक वा दुई बाउन्ड्री लागे काफी हुन्छ । सिंगल-डबलबाटै पनि सम्भव हुन सक्छ । यस्तोमा स्पिनरलाई बल दिनु जोखिम निर्णय थियो । तर, फास्ट बलरहरुले धुलाइ खाइरहेको अवस्थामा कप्तान आफ्ना एकमात्र विशेषज्ञ स्पिनरतिर मोडिन बाध्य भएका थिए ।

यसअघि दुई ओभरमात्र बलिङ गरेका सन्दीपले विकेट लिन सकेका थिएनन् । साथै, उनले दुई ओभरमा १४ रन खर्चिएका थिए । अन्तिम ओभरमा भने उनले आफ्नो उत्कृष्टता प्रस्तुत गरे ।

क्रिजमा थिए, खतरनाक मोहम्मद नदिम र आयान खान । नदिमले ६ बलमा १८ रन बनाएर खेलिरहेका थिए भने आयानले ७ बलमा १० रन । दुवै ब्याट्सम्यान जस्तो बल आए पनि उडाइदिने मनस्थिति र दबाबमा थिए ।

सन्दीपको पहिलो बलमा नदिमले एक रनमात्रै लिन सके । क्रिजमा आए आयान । उनले ठूलो सट खेल्ने प्रयास गरे । तर, बल हावामा उडेर रोहित पौडेलको हातमा पुग्यो । आज मैदानमा नेपालका कप्तान जोन्टी रोड्सभन्दा कम देखिएका थिएनन् । उनले ड्रप गर्ने सम्भावना नै थिएन । आयानका रुपमा रोहितले म्याचमा तेस्रो क्याच पूरा गरे ।

अब ओमानलाई चाहियो चार बलमा ६ रन । नयाँ ब्याट्सम्यान सखिल अहमदले बललाई हावामा खेले । अविनाश बोहराले क्याच लिए । ओमानको आठौं विकेट खस्यो । अब तीन बलमा ओमानलाई चाहियो ६ रन । खेल सन्तुलनको अवस्थामा ।

चौंथो बलमा फयाज बटले एक रन चोरेर नदिमलाई स्ट्राइकमा ल्याउन सफल भए । बाँकी थियो दुई बल । ओमानलाई चाहियो ५ रन । नेपालका स्टार बलर र ओमानका खतरनाक ब्याट्सम्यानको परीक्षा सुरु । पाँचौं बलमा नदिमले ठूलो सट प्रहार गरे । यो बलभित्र धेरै पटकथा छन् । पटकथाको केन्द्रमा सन्दीप वा नदिम होइन, रोहित पौडेल थिए ।

नदिमले प्रहार गरेको सट छक्का हुन सक्थ्यो वा क्याच हुन सक्थ्यो । दुवै भएन । रोहितले हावामा उडेर बललाई रोके । क्याच भएन । सम्भव नै थिएन । तर, उनले छक्का जोगाउँदै बललाई बाउन्ड्री लाइनभित्र धकेल्न सफल भए । तर, नेपालको दुर्भाग्य र ओमानको भाग्य । बल बाहिर गुडेर बाउन्ड्री रोपमा छुन पुग्यो । चौका भयो । यही बल नै अन्ततः निर्णायक बन्यो । यदि त्यो चौका नभएर दुई वा तीन रन भएको भए सम्भवतः जीत नेपालको हुने थियो ।

अन्तिम बलमा ओमानलाई जीतका लागि दुई रन चाहियो । नदिमले सीधा सट नहानी प्याडल स्वीप गरे । राम्ररी कनेक्ट भएन । तर, ओमानका दुवै ब्याट्सम्यान रनका लागि दौडिए । एक रन लिन सफल भए । सन्दीपले बललाई कलेक्ट गरेर स्टम्पमा फ्याके तर, लागेन । ब्याट्सम्यानहरु फेरि अर्को रनका लागि दौडिए । तर, रन पूरा हुन सकेन । फयाज बट रनआउट भए । खेल सुपरओभरमा गयो ।

सुपर ओभरमा कसलाई बलिङ गर्न दिने भन्ने नेपालका लागि पेचिलो निर्णय थियो । कुनै पनि बलरले म्याचमा ‘स्पेसल एबिलिटी’ देखाउन सकेका थिएनन् । यद्यपि, सन्दीप लामिछाने मुख्य दावेदार हुन सक्थे । एक त उनी नेपालका सबैभन्दा अनुभवी बलर हुन् । दोस्रो उनले ओमानको अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै ७ रनको रक्षा गरेका थिए । तर, स्पिनरलाई बल दिन चाहेनन् । रोहितले बल अविनाश बोहरालाई थमाए । यो गलत निर्णय सावित भयो ।

ओमानका हार्ड हिटिङ ब्याट्सम्यान नसिम खुशीले अविनाशलाई ३ वटा छक्का प्रहार गरे । नेपालले २२ रनको विशाल लक्ष्य पायो ।

नेपालले कसलाई ब्याटिङमा पठाउने भन्ने अर्को पेचिलो निर्णय थियो । लयमा रहेका कुशल भुर्तेल र गुल्शन झा क्रिजमा आए । ओमानलाई भने बलिङ कसलाई गराउने भनेर निर्णय लिन कठिन थिएन । बिलाल खानले उत्कृष्ट बलिङ गरेका थिए । उनलाई नेपालका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेका थिएनन् । उनले सुपर ओभरमा पनि उत्कृष्ट बलिङ गरे । नेपालले १० रनमात्रै जोड्न सक्यो ।

खासमा खेल यहाँसम्म पुग्ला भन्ने अपेक्षा निकै कम थियो । नेपालले टस जितेर ब्याटिङ रोजेपछि पहिलो १० ओभरसम्म निकै दबाबमा खेल्यो । ओमानका बलरहरु नेपालमाथि हावी भए । तर, जब गुल्शन झाले हात खोल्न थाले, खेलको परिदृश्य बदलियो । उनले ओमानका बलरहरुको धोबीचुटाइ गरे । अर्को इनिङबाट कप्तान रोहित पौडेलले अर्को परिपक्व इनिङ खेले । यो जोडीले नेपाललाई दयनीय स्थितिबाट बलियो स्थितिमा पुर्‍यायाे । अन्तमा करण केसीले ६ बलमा २० रन हानेपछि नेपाल १८५ रनको स्कोरसम्म पुग्यो । जबकि १० ओभरसम्मको खेल हेर्दा नेपाललाई १४० रन बनाउन पनि सकस होला जस्तो थियो ।

दोस्रो इनिङमा पनि त्यस्तै भयो । यूएईका ब्याट्सम्यानले नेपालका बलरलाई निरन्तर दबाबमा राखे । तर, पछिल्लो १० ओभरमा अचानक खेलको परिदृश्य बदलियो । ११ ओभरको खेल सकिँदा ओमानले १०९ रन बनाइसकेको थियो भने ८ विकेट हातमा थियाे । १२ औं ओभरमा सन्दीप लामिछानेले कसिलो बलिङ गरेर ५ रनमात्र दिए । त्यसपछि ओमानले दबाब महसुस गर्न थाल्यो । १३ औं ओभरमा अविनाश बोहराले पनि ५ रनमात्रै दिए । त्यसपछि ओमानलाई आवश्यक रन रेट १० को नजिक पुग्यो ।

१४ औं ओभरमा अचानक कप्तान पौडेलले विवेक यादवलाई बल दिए । अलराउन्डरको भूमिकामा भए पनि विवेकले अहिलेसम्म ओडीआईमा बलिङ गरेका थिएनन् । तर, कप्तानको निर्णयलाई उनले सही सावित गरे । यादवको पहिलो बलमा कश्यप प्रजापतिले चौका हाने पनि बाँकी ५ बलमा ओमानले २ रनमात्रै लिन सक्यो । यसवापत यादवले दोस्रो ओभर पनि बलिङ गर्न पाए । यो ओभरमा उनले पहिलो बलमा छक्का खाए भने दोस्रो बलमा जिसन मक्सुदको ठूलो विकेट लिए । त्यसपछि खेल सन्तुलनमा आयो ।

खेलको १८ औं ओभर पनि सम्झिन लायक छ । अन्तिम ३ ओभरमा ओमानलाई ३९ रन चाहिएको थियो । खेल नेपालको पक्षमा अलिकति ढल्किएको मान्न सकिन्थ्यो । करण केसी आफ्नो दोस्रो ओभर बलिङ गर्न आए । यो ओभरमा उनले २ महत्वपूर्ण विकेट त लिए तर १८ रन खान पुगे । दुई विकेटका बाबजुद पनि खेल ओमानको पक्षमा मोडियो । अन्तिम दुई ओभरमा ओमानलाई १८ रन चाहिने भयो भने ४ विकेट हातमा थियाे । अविनाशले १८ औं ओभरमा १२ रन खर्चिएपछि अन्तिम ओभरमा ७ रन जोगाउने जिम्मा सन्दीपलाई दिइएको थियो । त्यसपछिको कथा माथि वर्णन गरियो ।

जे होस्, नेपालले अहिलेसम्म खेलेकोमध्येको रोमाञ्चक थियो यो म्याच । फाइनल फाइनल जस्तै भयो । दुवै टीम विश्वकपमा पुगिसकेका दबाबमुक्त थिए । तर, फाइनलको प्रेसर हुन्छ नै । नेपाली खेलाडीले खेल हारे पनि यसले उनीहरुको आत्मविश्वास डग्मगाउने छैन । उनीहरुले गर्व गर्न लायक खेल प्रदर्शन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर