एक छक्का निकाल्न चुक्यो नेपाल, ‘सुपरम्यान’ बन्न चुके विवेक – Nepal Press
म्याच रिभ्यु

एक छक्का निकाल्न चुक्यो नेपाल, ‘सुपरम्यान’ बन्न चुके विवेक

काठमाडौं । १८औं ओभरको खेल पूरा हुँदासम्म नेपालले ओमानलाई नतिजा सुम्पिसकेको थियो । नेपालसँग दुई विकेट र दुई ओभरमात्रै बाँकी थिए र बनाउनुपर्ने थियो ४२ रन । लगभग असम्भव ।

युवा ब्याट्सम्यान विवेक यादव एउटा इन्डमा थिए भने अर्को इन्डमा थिए अनुभवी करण केसी । विवेकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालबाट थोरैमात्र एक्सपोजर पाएका छन् । पाएको अवसरलाई पनि सदुपयोग गर्न सकेका थिएनन् । करण ‘सिक्स हिटर’ मात्र हुन् । तर, भरपर्दा होइनन् । आए आँप गए झटारो शैलीमा खेल्छन् ।

एकसे एक कहलिएका ब्याट्सम्यानहरु लुरुलुरु पेभिलियन फर्केपछि यो जोडीबाट १२ बलमा ४२ रनको अपेक्षा राख्नु मूर्खतापूर्ण प्रतित हुन्थ्यो । तैपनि सास रहुञ्जेल आशा भइहाल्छ । झिनो आशा १८ ओभरमा थियो, कारण कालीमुल्लाह बलिङ गर्दै थिए । कालीमुल्लाहले यसअघि दुई ओभरमा २१ रन खाएका थिए । उनलाई ३ वा चारवटा छक्का हान्न सक्ने नेपालले अन्तिम ओभरमा कुनै चमत्कार गर्ला कि भन्दै थिए कमेन्टेटर ।
ओभरको ४ बलसम्म नेपालले बाउन्ड्री निकाल्न सकेन । झिनो आशा पनि निराशामा बदलियो । विवेक र करणले ४ बलमा सिंगल र डबल गर्दै बल्लतल्ल ६ रन निकाले । अब ८ बलमा चाहियो ३६ रन । असम्भव प्रायः । तर, ओभरको अन्तिम बल्लमा चौका र छक्का निकाल्दै करणले झिनो सम्भावनालार्ई फेरि जगाइदिए ।

अब अन्तिम ओभरमा नेपाललाई चाहियो, २६ रन । असम्भव होइन । तर, निकै दुरुह । विवेकले यस अगाडि २ वटा छक्का हानेका थिए । अन्तिम ओभरमा उनले छक्कामै डिल गर्नुपर्ने हुन्थ्यो । ६ बलमा ६ चौका हानेर पनि पुग्ने अवस्था थिएन । स्ट्राइक रोटेट गर्नुको त कुनै अर्थै थिएन ।

बलिङमा थिए ओमानका सबैभन्दा सफल र घातक बलर विलाल खान । नेपालले अन्तिम ओभरमा चमत्कार गरिहाल्छ कि भनेर त्रिवि मैदान बाहिर दर्शकहरु खडा भए । पहिलो बलमा विलालले फालेको योर्कर बललाई फुल टसमा परिणत गर्दै विवेकले स्ट्रेट छक्का हिर्काए ।

दर्शकहरुमा रोमाञ्च फैलियो । तर, लक्ष्य भने टाढा नै थियो । पहिलो बलमा छक्का खाँदा अलिकति आत्तिएका बिलालले दोस्रो बल वाइड फुल टस फाल्न पुगे । विवेकले बलमा पुग्न प्रयास गरे पनि सकेनन् । अम्पायरले वाइड दिए । नेपाललाई थोरै फाइदा । दर्शक थप रोमाञ्चित । तेस्रो बल पनि बिलालले वाइड योर्कर फ्याके । तर, यसपालि विवेकले कनेक्ट गरे । अफ साइडमा सानदार छक्का । यो छक्काले नेपाल नाटकीय रुपमा लक्ष्यतर्फ नजिकियो । दर्शक मुटु थाम्न थाले ।

अब चार बलमा नेपाललाई चाहियो १३ रन । विल्कुल सम्भव । बिलालले चौंथो बल ‘अन टार्गेट’ मै फ्याके । तर, विवेकले त्यसलाई पनि उठाउन सफल भए । स्ट्रेट बाउन्ड्रीको दिशामा अर्को छक्का । दर्शकमा अभूतपुर्व खुशियाली । नेपाललाई अन्तिम तीन बलमा ७ रन चाहियो । नतिजा ५०-५० को अवस्थामा पुग्यो । ३ बलमा एउटा छक्का र एउटा सिंगल वा दुईवटा चौका वा एउटा चौका, एउटा दुई रन र एउटा एक रन । जे पनि हुन सक्थ्यो । विवेक आगो ओकलिरहेका थिए । करण उनको दर्शक बनिरहेका थिए ।

तर, नेपाललाई स्तब्ध बनाउँदै बिलालले चौंथो बलमा विवेकलाई आउट गरे । विलालले स्टम्पतर्फ फ्याकेको फुल लेन्थ बललाई विवेकले अन साइडतर्फ छक्का बजाउन खोलेका थिए । तर, एज लागेर बल माथि गयो । यसअघि पटक पटक क्याच छोडिरहेका ओमानका फिल्डरले यो क्याच छोडेनन् ।

अन्तिम दुई बल बाँकी । लिनुपर्ने ८ रन । सम्भावना अझै जीवित । तर, क्रिजमा थिए अविनाश बोहरा, जो विशुद्ध टेलइन्डर हुन् । छक्का हान्ने क्षमता भएका करण अर्को इन्डमा थिए । अविनाशले पाँचौं बलमा एक रन निकाल्न सफल भए । र, अन्तिम बलमा क्रिजमा आए करण । चाहियो छक्का । क्रिकेटमा ब्याट्सम्यानले अन्तिम बलमा छक्का हानेर जीत दिलाएका धेरै खेलहरु छन् । करणसँग पनि त्यो क्षमता छ । त्यसैले नेपालका समर्थकहरु जोशिए ।

करणसँग अवसर थियो हिरो हुने । सँगसँगै विवेकलाई सुपरहिरो बनाउने । अन्तिम बलमा छक्का लागेको भए यो नेपालका लागि एउटा दुर्लभ र अविस्मरणीय जीत हुने थियो । साथै नेपाल समूह विजेताका रुपमा उच्च मनोबलका साथ सेमिफाइनलमा उत्रिन सक्थ्यो । त्रिवि मैदानमै सेमिफाइनल खेल्न पाउँथ्यो, जुन नेपाली टीमको प्रिय मैदान हो ।

निकै बेर टीम मेम्बरसँग छलफलपछि विलालले अन्तिम बल योर्कर फ्याँके । करणले बललाई उठाउन त उठाए । तर, पर्याप्त पावर दिन सकेनन् । बल हावाको दिशामा गयो र फिल्डरले क्याच लिए । ओमानले म्याच जित्यो ।

आजको हारलाई पुनरावलोकन गर्दा जिम्मेवारी चाहिँ टीमका प्रमुख ब्याट्सम्यानहरुले लिनुपर्छ । कुशल भुर्तेलले पावर प्लेको अन्तिम बलमा स्कुप सट खेल्ने मोह नदेखाएको भए हुन्थ्यो । उनीपछिका ब्याट्सम्यानहरुले पनि इनिङ विल्डअप गर्नमा ध्यान दिएनन् । नेपालले ठूलो पार्टरसीप नै गर्न सकेन । नत्र त्रिवि मैदानमा १४६ रनको लक्ष्य नेपालका लागि मामुली थियो ।

जे भए पनि विवेक यादवले आफूलाई चिनाएका छन् । मध्यक्रममा दीपेन्द्रसिंह ऐरीको अभाव पूर्ति गर्न सक्छु भन्ने साहस देखाएका छन् । आठौं नम्बरमा क्रिजमा आएका थिए उनी, जतिबेला नेपाल हारको संघारमा पुगिसकेको थियो । तर पनि उनले खेल उल्टाउने प्रयास गरे । आगामी दिनमा उनीबाट धेरै आशा गर्ने ठाउँ दिएका छन् ।


प्रतिक्रिया

One thought on “एक छक्का निकाल्न चुक्यो नेपाल, ‘सुपरम्यान’ बन्न चुके विवेक

  1. अन्तिममा हार्नु भनको खेलाडीले बेईमानी गरेको पनि हुनसक्छ । छानबिन हुनुपर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर