समानुपातिक निर्वाचन प्रणालीको औचित्यमाथि विचार गर्नुपर्छ: अध्यक्ष केसी – Nepal Press

समानुपातिक निर्वाचन प्रणालीको औचित्यमाथि विचार गर्नुपर्छ: अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समानुपातिक निर्वाचन प्रणालीबाट धनाढ्य र पहुँचवालाहरु सांसद निर्वाचित भएको भन्दै यसको औचित्यमाथि विचार गर्नुपर्ने बताएका छन् ।

बुधवार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै अध्यक्ष केसीले निर्वाचन प्रणाली खर्चिलो भएको बताएका हुन् ।

उनले वर्तमान निर्वाचन प्रणालीबाट योग्य, क्षमतावान र राम्रो मान्छेले सपनामा पनि निर्वाचन जित्न नसक्ने बताए । अध्यक्ष केसीले समानुपातिक निर्वाचन प्रणाली दलित, जनजाति तथा विपन्न समुदायहरुका लागि राखिएको भए पनि धनाढ्य र पहुँचवालाहरु सांसद बन्ने गरेको सुनाए ।

शक्ति र सम्पत्ति भएकाहरु समानुपातिक निर्वाचन प्रणालीबाट दोहोरिएर सांसद हुने गरेका भन्दै यसको औचित्यमाथि उनले प्रश्न उठाए ।

‘चुनाव यति खर्चिलो भयो कि अब योग्य, क्षमतावान, राम्रो मान्छेले चुनाव सपनामा पनि जित्न सक्दैन । विपनाको कुरा छाडिदिउँ । यसमा राजनीतिक पार्टी नै जिम्मेवार छन् । आयोगले पनि राम्रोसँग चुनावको अनुगमन गरेको छैन । समानुपातिक निर्वाचन प्रणाली डरलाग्दो कुरा भयो । समानुपातिक राखेको त दलितहरु, विपन्न समुदायहरु, जनजातिहरु, त्यस ठाउँका जसले सदनमा आउनै सक्दैनन् त्यस्तो मान्छेका लागि हामीले समानुपातिक राखेका हौं’, अध्यक्ष केसीले भने, ‘तर, समानुपातिकमा त पार्टीभित्रका सबभन्दा धनाढ्यहरु, पहुँचवालाहरु आएपछि समानुपातिकको औचित्य के ? यसमा गम्भीर रुपले विचार गर्नुपर्छ । समानुपातिकमा पटक पटक शक्ति, सम्पत्ति भएकाहरु दोहोरिएर आउने हो भने समानुपातिकको औचित्य रहन्न भन्ने हाम्रो पार्टीको ठहर छ ।’

उनले निर्वाचन शिक्षा पनि अझ राम्रोसँग दिनुपर्ने बताउँदै विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *