सत्तामा बसेर कसका विरुद्ध सडकमा जनता उतार्दैछन् प्रचण्ड ? – Nepal Press

सत्तामा बसेर कसका विरुद्ध सडकमा जनता उतार्दैछन् प्रचण्ड ?

कांग्रेसको प्रश्न- सरकारमा नेतृत्व गरेको दल सडकमा गए प्रतिपक्षले के गर्ने ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले सरकारको नेतृत्व गरिरहेका छन् । प्रतिनिधिसभामा सबैभन्दा ठूलो घटक नेपाली कांग्रेससहितको समर्थनमा प्रचण्डले अहिले सरकार चलाइरहेका छन् ।

गठबन्धनमा पनि आफूलाई शक्तिकेन्द्रमा राखिराख्न प्रचण्डले माओवादीसहित नेकपा एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा सम्मिलित चार दलीय समाजवादी मोर्चा बनाएका छन् ।

मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै दशैंपछि लाखौं जनता सडकमा उतार्ने चेतावनी दिँदै आइरहेका थिए । प्रचण्डको जुन अभिव्यक्तिले गठबन्धन दलभित्रै असन्तुष्टि बढिरहेको बेलामा माओवादीले सडक संघर्षको कार्यक्रम घोषणा गरेको छ । पार्टी रूपान्तरण अभियान चलाइरहेको माओवादीले आगामी २२ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ ।

अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले पार्टी पङ्क्तिमा सर्कुलरमा जारी गर्दै भनेका छन्, ‘अभियानकै क्रममा पार्टीको बागमती प्रदेश, जबस सम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा यही मंसिर २२ गते काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर जनप्रदर्शन गर्न र गराउन पहल गर्ने निश्चित गरिएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर जनप्रदर्शन गर्न लागेको सर्कुलरमा उल्लेख छ ।

अहिले व्यवस्थामाथि प्रश्न उठाउने प्रयास भइरहेको बेलामा सुदृढीकरणका लागि संघर्ष गर्न लागिएको माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटा बताउँछन् ।

उनी भन्छन्, ‘अहिले देशभर व्यवस्थामाथि नै प्रश्न उठाउने गरी अराजक गतिविधि बढेको छ। त्यसको रक्षा गर्नु सरकारको कर्तव्य हो। सबै कुरा जनताबाट हुने भएकाले उपलब्धिको रक्षाका लागि जनपरिचालन आवश्यक छ भन्ने हाम्रो निष्कर्ष हो।

यस्तै, माओवादीका सचिव गणेश शाह पनि यो जनप्रदर्शन मात्रै भएर कुनै विरोध प्रदर्शन नभएको तर्क गर्छन् ।

उनी भन्छन्, ‘पार्टीको कार्यकर्ताहरूलाई परिचालन गर्नको लागि यो कार्यक्रम राखेका हौँ। अहिले कार्यकर्ताहरूमा निराशा बढेको देखिएको छ । अहिलेको अभियानमा कति सहभागी भए ? पार्टीको आह्वानमा कति आउँछन् ? भन्ने पनि हुन्छ भनेर अभियान अन्तर्गतकै कार्यक्रम हो।

पार्टी कार्यकर्ता धेरै भए पनि चुनावमा त्यति पनि मत नआउने प्रवृत्ति बढेकाले आफ्नो रियल कार्यकर्ता जनतालाई देखाउन लागेको उनले बताए।

उनले भने, ‘रियल कार्यकर्ता जनताको अगाडि आएर जनताको सुखःदुखको साथी बन्नुपर्छ भनेर हामीले यो कार्यक्रम राखेका हौँ। अहिले पार्टी अभियान पनि चलिरहेको छ। त्यसको प्रभावकारितालाई महसुस गरेर नै अझै एक महिना थप गरेका छौं।’

उनले काठमाडौंमा हुने जनप्रदर्शनमा समाजवादी मोर्चाको नभएर माओवादीकै मात्रै कार्यक्रम भएको जिकिर गरे।

उनले भने, ‘सरकारमा बसेर सडकमा आउनै हुँदैन भन्ने छैन। सडकमा आउनासाथ विरोधका लागि मात्रै हो भन्ने होइन। हामीले हाम्रो कार्यकर्तालाई सडक, संसद् र सरकार पनि तीनै मोर्चा आफ्नो क्रियाशीलता देखाइराख्नुपर्छ। अहिले हाम्रो खास कार्यकर्ता हो हो कति हो ? भन्ने जनतालाई थाहा छैन। त्यो थाहा पाइसकेपछि पार्टीले आगामी रणनीति बनाउँछ।

अहिले पार्टीले राखेको कार्यक्रम कार्यकर्ताहरूको परिचालित र प्रशिक्षण मात्रै भएको उनको भनाइ छ।

कांग्रेसको तर्क- माओवादीको कार्यक्रम अस्वभनीय

सत्तारुढ दल माओवादीले सडकमा जनता उतार्ने तयारी थालिरहेको बेलामा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा उपयुक्त नहुने तर्क गर्छन्।

उनले भने, ‘सामान्यता राज्यसत्तामा रहेको दलले जनप्रदर्शनको कार्यक्रम राख्नु हुँदैन। यदि सरकार बसेको दलले नै जनप्रदर्शन गर्‍यो भने प्रमुख प्रतिपक्षले के गर्ने ? त्यस कारण राष्ट्रिय राजनीतिको जटिलतालाई सामना गर्नको लागि कि दलहरूको सर्वदलीय हुनुपर्‍यो। तर, एक दलीय त्यसमा पनि सरकारको नेतृत्व गरिरहेको दलले सडकमा जान्छु भन्नु उपयुक्त हुँदैन।

उनले माओवादीले राखेको कार्यक्रम स्वभनीय नभएको टिप्पणी गरे।

उनी थप्छन्, ‘सत्तारुढ दलले राजनीतिक कार्यक्रम गर्न सक्छ। संविधान कार्यान्वयन गर्नको लागि सन्देशमूलक कार्यक्रम गर्न सकिएला। तर, कुनै पनि विषयमा प्रतिवाद गर्ने वा प्रदर्शन गर्न सत्तारुढ दलका लागि उपयुक्त हुँदैन।’

त्यसो त प्रचण्ड सरकारको विकल्प खोज्नुपर्ने पक्षमा पार्टीभित्र दबाब बढाउँदै आइरहेका कांग्रेस नेता शेखर कोइरालाले देशको प्रधानमन्त्रीले सडकमा मान्छे उतार्छु भन्ने अराजकता भएको टिप्पणी गर्दै आइरहेका छन्।

‘प्रचण्ड पार्टीको अध्यक्ष मात्र भएको भए मैले यो कुरा स्विकार्थेँ, तर उहाँ तपाई हाम्रो प्रधानमन्त्री पनि हुनुहुन्छ । देशको प्रधानमन्त्रीले कसको विरुद्ध मानिस सडकमा ल्याउने रु उनको भनाइ थियो।


प्रतिक्रिया

One thought on “सत्तामा बसेर कसका विरुद्ध सडकमा जनता उतार्दैछन् प्रचण्ड ?

  1. काङ्रेशको बिरुद्द !!
    यत्ती पनि नबुझ्ने होलान त काङ्रेशीहरु !? देउवा सँग गरेको सहमति अनुसार प्रचन्डको सत्तामा मोज गर्ने आयु सकिन्दै छ, त्यो भएर सत्तामा भएकै बेला सक्तिको उपयोग भित्रबाट, देखावटि दवाब बाहिरबाट !! ५ बर्ष नछोड्ने संकेत, ढाडमा टेकेकै छ, टाउकामा हान्ने तयारी !! “भाले भए पछी जे जे गर्न पर्ने हो गरिन्छ नि …” सक्तिखोर को भिडियो सुनेको हेरेको अनि बुझेको हैन कुरा र योजना !! सब काम त्यही योजना अनुसार हुँदै छन : काङ्रेशको त टाउको फुट्न मात्रा बाँकी छ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर