भारतको धारिलो बलिङ, इङ्ल्यान्ड २३० रनको लक्ष्य पनि भेट्टाउन असफल – Nepal Press

भारतको धारिलो बलिङ, इङ्ल्यान्ड २३० रनको लक्ष्य पनि भेट्टाउन असफल

काठमाडौं । घरेलु टोली भारतले जारी एकदिवशीय विश्वकपमा लगातार छैटौँ जित हात पारेको छ । आइतबार साँझ भएको खेलमा भारतले साविक विजेता इङ्ल्यान्डलाई एक सय रनले पराजित गर्‍यो । भारतले दिएको केवल २ सय ३० रनको लक्ष्य पनि इङ्ल्यान्डले पुरा गर्न सकेन । इङ्लिस टोली ३४.५ ओभरमा एक सय २९ रनमा समेटिएको थियो ।

इङ्ल्यान्डलाई सस्तोमा समेट्न भारतका मोहम्मद सामीले ४, जसप्रित बुमराहले ३ र कुलदिप यादबले २ विकेट लिए। रविन्द्र जडेजाले पनि एक विकेट हात पारे। इङ्ल्यान्डका जोनी बेयर्स्ट १४, दाविद मलान १६, जोस बटलर १०, मोइन अली १५, लायम लिभिङस्टोन २७ रन जोडेर आउट भए ।

जोए रुट र बेन स्टोक्सले खाता खोल्न सकेनन् । सामीले ७ ओभरमा २ मेडन राखेर २२ रन मात्र खर्चिएका थिए। बुमराहले ६.५ ओभरमा ३२ रन दिए । यी दुई बलरले माथिल्लोक्रमका २÷२ विकेट लिएपछि इङ्ल्यान्ड ३९–४ को स्थितीमा पुगेको थियो ।

त्यसअघि भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २९ रन जोडेको थियो । भारतका लागि कप्तान रोहित शर्माले ८७, सुर्यकुमार यादवले ४९ र केएल राहुलले ३९ रन बनाएका थिए । भारत ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ। इङ्ल्यान्डको ६ खेलबाट २ अंक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर