नेपाललाई विश्वकपमा पुग्ने सबैभन्दा अनुकूल मौका, ९ वर्षअघि यसरी रचेको थियो इतिहास – Nepal Press

नेपाललाई विश्वकपमा पुग्ने सबैभन्दा अनुकूल मौका, ९ वर्षअघि यसरी रचेको थियो इतिहास

काठमाडौं । नेपालले सोमबारदेखि घरेलु मैदानमा टी-२० विश्वकपको छनोट खेल्दैछ । एसियाका ८ वटा एसोसिएट टोली सहभागी हुने यस प्रतियोगिताबाट फाइनल पुग्ने दुई टोली वेस्ट इन्डिज र अमेरिकाले आगामी वर्ष संयुक्त रुपमा आयोजना गर्ने विश्वकपका लागि छानिनेछन् ।

नेपालले समूहगत चरणमा मलेसिया, ओमान र सिंगापुरको सामना गर्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । अर्को समूहमा बहराइन, हङकङ, कुवेत र यूएई छन् ।

एसियाका एसोसिएट टोलीलाई विश्वकप खेल्ने सम्भवतः यो अहिलेसम्मकै सबैभन्दा गतिलो अवसर हो । महादेशीय छनोट प्रतियोगिताबाटै विश्वकपमा छनोटको निर्क्योल हुने भएकाले सहभागी ८ वटै टोलीका लागि विश्वकप खेल्ने सपना पूरा गर्न यो गतिलो मौका हुनेछ ।

विश्वकप खेल्न दावेदारी दिने यूएई, हङकङ, ओमान जस्ता टोलीहरु एसियामै रहे पनि विगतमा जस्तो घुमाउरो, लामो बाटो यसपटक तय गरिरहन पर्दैन । त्यस्तै अफगानिस्तान, आयरल्यान्ड, जिम्बावे जस्ता टेस्ट टोलीहरुसँग भिडिरहन पर्दैन । नेदरल्यान्ड्स र स्कटल्यान्ड जस्ता बलिया एसोसिएटसँग पनि आमनेसामने हुनुपर्दैन । महादेशीय छनोटमै सेमिफाइनलसहित तीनवटा खेल जितेमा विश्वकपको टिकट पक्का हुनेछ ।

नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा खेलेको एकमात्र विश्वकप भनेकै टी-२० विश्वकप हो । र, त्यो पनि एक पटकमात्र । नेपालले सन् २०१४ मा विश्वकप खेल्ने सपना पूरा गरेको थियो । त्यसयता फेरि विश्वकप खेल्न सकेको छैन । महादेशीय छनोट पार गरेर अगाडि बढे पनि ग्लोबल क्वालिफायरमा पुगेर रोकिने गरेको छ ।

अनुभवी टोलीले हासिल गरेको त्यो सफलता

नेपालले सन् २०१० देखि सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा काँचुली फेर्न थालेको हो ।

सन् २०१३ मा नेपालमै आयोजना भएको एसियाका एसोसिएट टोलीले मात्र खेल्ने एसीसी टी-२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल यात्रा तय गरेपछि नेपालले विश्वस्तरको छनोटमा स्थान बनाएको थियो ।

सेमिफाइनलमा पुगेका अफगानिस्तान एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त र यूएई विश्वस्तरको छनोटको आयोजक भएकाले नेपालले सेमिफाइनलमा पुग्नेबित्तिकै विश्वस्तरको छनोटको टिकट काटेको थियो ।

त्यस एसीसी टी-२० प्रतियोगिता नेपालका लागि स्मरणीय रहने अर्को कारण पनि बन्यो, पहिलोपटक फाइनल पुगेर । तत्कालीन एसोसिएट टोली अफगानिस्तानसँग नेपाल उपाधि भिडन्तमा पराजित भएको थियो । नेपाली टोलीका तत्कालीन कप्तान पारस खड्का प्लेयर अफ दी सिरिज चुनिएका थिए ।

करिब एक दशकदेखि विभिन्न स्तरमा नेपालको प्रतिनिधित्व गरिसकेका पारससहित शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मीलगायतको उपस्थितिले नेपाली टोली दरिलो देखिएको थियो ।

सन् २०१३ कै नोभेम्बरमा यूएईमा आयोजना भएको विश्वस्तरको छनोट (ग्लोबल क्वालिफायर)मा विश्वभरका १६ एसोसिएट टोली सहभागी थिए । पहिलो चरणमा ८-८ टोलीका दुईवटा समूह थिए ।

यसबाट छनोट हुने टोलीले खेल्ने सन् २०१४ को विश्वकप किन पनि विशेष थियो भने पहिलोपटक ६ वटा एसोसिएट टोलीलाई विश्वकप खेल्ने मौका दिइएको थियो । त्यसअघि २ वटा एसोसिएट टोलीलाई मात्र विश्वकपमा कोटा दिइएको थियो । त्यसैले नेपालसहित सहभागी १६ वटै एसोसिएट टोलीका लागि विश्वकप खेल्ने गतिलो अवसर थियो । ग्लोबल क्वालिफायरबाटै छनोट हुने ६ टोलीको टुंगो लाग्दै थियो ।

नेपाल रहेको समूहमा अफगानिस्तान, नेदरल्यान्ड्स, स्कटल्यान्ड, पपुआ न्युगिनी, केन्या, बर्मुडा र डेनमार्क थिए । राउन्ड रोबिनपछि दुवै समूहको शीर्ष तीन स्थानमा रहने टोलीमध्येबाट छनोट प्रतियोगिताको विजेताको टुंग्यो लाग्ने थियो । तर, विश्वकपमा छनोट हुने समूहको शीर्ष ३ भित्र पर्नु पर्याप्त थिएन ।

दुवै समूहका विजेतालाई सेमिफाइनलका लागि बाई दिइएको थियो । एउटा समूहको दोस्रो स्थानमा रहने टोलीले अर्को समूहको तेस्रो स्थानको टोलीसँग र त्यसैगरी तेस्रो टोलीले अर्को समूहको दोस्रो टोलीसँग भिड्नुपर्ने थियो, क्वाटरफाइनलका रुपमा । क्वाटरफाइनल जित्ने टोलीहरु विश्वकपमा छनोट हुने थिए ।

क्वाटरफाइनलमा पराजित हुने टोलीले पाँचौं स्थानका लागि प्लेअफ खेल्नुपर्ने थियो, जसका लागि समूहको चौथो र पाँचौं स्थानमा रहने टोलीहरुबीच प्रतिस्पर्धा भई विजयी भएका टीमसँग भिड्नुपर्ने हुन्थ्यो । क्वाटरफाइनलमा पराजित हुने टोलीले त्यसपछि १ खेल जितेमा कम्तिमा छैटौं स्थान पक्का गरेर विश्वकपमा छनोट हुने प्रावधान थियो ।

समूहमा नेपालले डेनमार्कलाई ५ विकेटले हराएर विजयी सुरुवात गरेको थियो । दोस्रो खेलमा नेपालले केन्याविरुद्ध १८३ रनको लक्ष्य पूरा गरेर शानदार जीत हात पारेको थियो । निर्णायक अवस्थामा शरद भेषावकरले ६ बलमा तीन छक्कासहित अविजित २३ रन जोडेर नेपाललाई ६ विकेटको जीत दिलाएका थिए ।

तेस्रो खेलमा स्कटल्यान्डसँग १३८ रनको लक्ष्य दिएर ८ विकेटले पराजित भएको नेपालले चौथो खेलमा पीएनजीलाई १४० रनमा सीमित गरेर ७ विकेटको जीत हात पारेको थियो । पाँचौं खेलमा नेदरल्यान्ड्ससँग ५ विकेट र छेटौं खेलमा अफगानिस्तानसँग ९ विकेटले पराजित भएपछि नेपाल संकटमा परेको थियो ।

नेपालले शीर्ष ३ भित्र स्थान बनाउन अन्तिम खेलमा बर्मुडालाई हराउनुपर्ने थियो । यो खेल नेपालले १४९ रनको लक्ष्य दिएर २१ रनले जितेको थियो । नेपालले क्वाटरफाइनलमा चिरपरिचित हङकङसँग खेल्नुपर्ने थियो । पहिला ब्याटिङ गरेको हङकङले १४४ रनको लक्ष्य दियो । यो खेलमा पनि शरदले निर्णायक प्रदर्शन गरे ।

अन्तिम ओभरमा नेपाललाई जीतका लागि १३ रन चाहिएको बेला शरदले सुरुका दुई बलमा छक्का र चौका प्रहार गरेका थिए । अन्तिम बलमा शरदले नै विजयी रनका रुपमा एक रन लिँदै ५ विकेटको जीत दिलाएर नेपाललाई पहिलो पटक सिनियर स्तरको क्रिकेटमा विश्वकप पुर्‍याएका थिए । पछि नेपालले विश्वकपको पहिलो चरणमा अफगानिस्तान र हङकङलाई हराएर २ वर्षका लागि टी-२० अन्तर्राष्ट्रियको मान्यता पाएको थियो ।

त्यसअघि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त टोलीसँग स्वतः टी-२० अन्तर्राष्ट्रियको पनि मान्यता रहने गरेकोमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विश्वकपमा गरेको उल्लेख्य प्रदर्शनका लागि नेपाललाई टी-२० अन्तर्राष्ट्रियको मान्यता दिने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर