जब छोपेको ब्लक भत्कियो, त्यसपछि कलाकार प्रकाश ब्लकसँगै तल खसे – Nepal Press

जब छोपेको ब्लक भत्कियो, त्यसपछि कलाकार प्रकाश ब्लकसँगै तल खसे

पोखरा । कलाकार प्रकाश घिमिरे सदाझै शुक्रबार बिहानै मनिङ वाक गए । मनिङ वाक सकेपछि लगत्तै घर गए । घर गएको केही समयपछि उनी गाईलाई घाँस काट्न भिरतिर लागे । गाईले बहर खोजेको र कृतिम गर्भाधानको लागि भेटेनरी डाक्टरलाई बोलाएका थिए । बिहानै घाँस काट्न पुगेका उनी घाँस काट्ने क्रममा भिरबाट लड्न पुगे र गम्भिर घाइते भए ।

‘बिहानसँगै मनिङ वाक गएको हो । उहाँ घाँस काट्न गयो । म कुखुरालाई दाना बनाउँदै थिएँ, घाँस काट्दै गर्दा पर्खालको ब्लक समातेर घाँस काट्ने क्रममा एक्कासी ब्लक नै भत्किएर उहाँ तल बजारिनुभयो’, प्रकाशसँगै मनिङ गएका छिमेकी प्रेम शेरचनले भने ।

प्रेमका अनुसार पोखरा महानगरपालिका ३ नदीपुरका प्रकाश छिमेकमै रहेको बालमन्दिर स्कुलको नजिक घर नजिकको भिरबाट लडेर घाइते भएका हुन् । भिरबाट करिब १५०/२०० मिटर तल खसेका प्रकाशलाई उद्धार गर्न पनि निकै समय लाग्यो । ‘उहाँ (प्रकाश) लडेको आवाज सुनेपछि हामी उहाँलाई खोज्न लाग्यौं । निकै अप्ठ्यारो भिर थियो । खोज्दाखोज्दै आधा घन्टामा उहाँलाई भेटायौं । थप आधा घन्टामा उहाँलाई बाटोमा निकाल्यौं,’ उद्धारमा संलग्न नदीपुरका धनकाजी श्रेष्ठले भने, ‘त्यसपछि पनि एम्बुलेन्स भेटिएन र एउटा प्राइभेट गाडीमा अस्पताल पुर्याऔं ।’

अहिले प्रकाशको मणिपाल शिक्षण अस्पतालको आइसियु उपचार भइरहेको छ । अबेरसम्म अचेत अवस्थामा रहेका प्रकाश हाल अर्थसचेत अवस्थामा रहेको परिवारको भनाइ छ । अस्पतालका अनुसार प्रकाशको टाउको र ढाडमा चोट र छातीको करङ भाँचिएर फोक्सोमा छोएको छ ।

प्रकाशलाई दिउँसो थप उपचारका लागि काठमाडौं लैजाने तयारीसमेत गरिएको थियो । तर, प्रेसरदेखि भित्री रक्तश्रावले गर्दा एकदिन होल्ड गर्ने की भनेर काठमाडौं नलगि पोखरामा उपचार गरिएको छ । ‘भित्री चोटपटक धेरै भएको पाइएको छ । काठमाडौं लाने भन्दाभन्दै पनि उहाँको पे्रसरदेखि लिएर, भित्रि रक्तश्रावले गर्दा एकदिन होल्ड गर्ने की भनेर मणिपालमा राखिएको छ,’ प्रकाशका एक आफन्तले भने ।

ती आफन्तका अनुसार पहिलेभन्दा अहिले केही इमप्रुभ भएको छ । पहिला स्थिर अर्थात अचेत रहेका उनी हाल अर्थचेत अवस्थामा छन् । परिवारका अनुसार कुनैकुनै बेला दुख्यो भनेर आवाज निकाले पनि दोहोरो कुराकानी गर्ने अवस्था छैनन् । फिल्म सुटिङका लागि प्रकाश आइतबार काठमाडौं जाने तयारीमा थिए ।

पोखरा नदिपुरको कन्या माध्यमिक विद्यालयमा ३७ वर्ष शिक्षण गराएका प्रकाशले त्यहाँबाट अवकाश भएपछि अभिनय क्षेत्रमा सक्रिय छन् । उनी अभिनित चलचित्र भष्मे डन अहिले देशैभर प्रर्दशन भइरहेको छ । उनले पशुपति प्रसाद, फन्को, जात्रा, टलकजंग भर्सेस टुल्के, पञ्चेबाजा, दर्जनौं फिल्ममा अभिनय गरिसकेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *