‘भष्मे डन’ माथि केही मन्थन- रिलिजअघि के भन्छन् निर्माण टीम ? – Nepal Press

‘भष्मे डन’ माथि केही मन्थन- रिलिजअघि के भन्छन् निर्माण टीम ?

काठमाडौं । दसैँको मौका पारी भोलिबाट रिलिजको तयारीमा छ- ‘पशुपतिप्रसाद २-भष्मे डन’ । सात वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘पशुपतिप्रसाद’ को सिक्वेल को रुपमा निर्माण भएको यस चलचित्रमा विपीन कार्की, सौगात मल्ल, वर्षा सिवाकोटी, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानिँयालगायतले अभिनय गरेका छन् ।

यति बेला निर्माण टीम चलचित्रको प्रि-बुकिङलाई लिएर उत्साहित देखिन्छ । चलचित्रले निकै राम्रो ओपनिङ गर्नसक्ने प्रक्षेपण गरिएको छ । ‘पशुपतिप्रसाद’को ब्राण्डले गर्दा पहिल्यै यस चलचित्रले हाइप बनाइसकेको थियो । अहिले अरु कलाकारहरु पनि थपिएपछि सिक्वेलप्रति कौतुहल थपेको छ ।

चलचित्रमा अभिनेता विपीन कार्कीलाई मुख्य भूमिकामा देख्न सकिनेछ । उनकै पात्र ‘भष्मे डन’ लाई केन्द्रमा राखेर चलचित्र बनाइएको हो । ‘पशुपतिप्रसाद’मा भष्मेको पात्र दर्शकले अत्यधिक रुचाएका थिए ।

चलचित्रलाई लिएर विपीन उत्साहित छन् । आफ्नै मुख्य भूमिकामा चलचित्र निर्माण भएकाले भविष्यमा आउने तारिफ र आलोचनाको लागि समेत उनी तयार भएर बसेका छन् ।

उस्तै आतुर छन् नायिका स्वस्तिमा खड्का, निर्देशक दीपेन्द्र के खनाल र लेखक तथा निर्माता खगेन्द्र लामिछाने ।

‘पशुपतिप्रसाद’ दर्शकले रुचाएको कथा भएकाले यसको दोस्रो भाग ल्याउनु चुनौतीको काम थियो । त्यसैले पशुपतिप्रसादको निर्माण टीम राम्रो कथा नपाएसम्म सिक्वेल नबनाउने पक्षमा थियो ।

‘हामी राम्रो कथा नभए सिक्वेल नबनाउने पक्षमा थियौं र अहिले पनि छौं । त्यही भएर पनि यो चलचित्र बन्न सात वर्ष लाग्यो । ती बीचमा कति ड्राफ्टहरु बने । तीन-चार वटा स्क्रिप्ट बने’, चलचित्रका निर्देशक खनाल सुनाउँछन्, ‘कुनै पनि चित्त नबुझिरहेको स्थितिमा अन्तिममा बनेको यो स्क्रिप्टले भने पशुपतिप्रसादलाई न्याय दिनसक्छ है भन्ने भयो । पशुपतिप्रसादको लिगेसीलाई यसले कायम राख्छ भन्ने भएपछि चलचित्र बन्यो ।’

निर्देशक खनाल भष्मे डनलाई सिक्वेल भन्न रुचाउँदैनन् । न यसलाई उनी ‘स्पिन अफ’ नै भन्न रुचाउँछन् ।

उनी भन्छन्, ‘यो न स्पिन अफ हो न त सिक्वेल । स्पिन अफ भन्नाले एउटामात्र पात्र बुझाउला र सिक्वेल भन्यो भने पनि सम्पूर्ण कथा त्यहीबाट जोडिएर आउनुपर्छ भन्ने बुझिएला । अरु पनि पात्रहरु जोडिएकाले ‘भष्मे डन’ सिक्वेल या स्पिन अफ के हो, त्यो ठ्याक्कै भन्न सकिने अवस्था छैन ।’

चलचित्रको पहिलो सिरिज पशुपतिप्रसादमाथि फोकस्ड थियो । त्यसमा भष्मे डन को हो ?, के हो ? कस्तो मान्छे हो ? भन्ने खुलाइएको थिएन । त्यही पात्रलाई यस श्रृंखलामा खुलाइएको छ ।

चलचित्र भष्मे डनको नाममा निर्माण भए तापनि चलचित्र हेरिरहँदा कतै पनि पशुपतिप्रसाद नभएको अनुभूति नहुने खनाल बताउँछन् । भौतिक रुपमा पशुपतिप्रसाद चलचित्रमा नभए पनि उक्त पात्रको अस्तित्व अझै पनि पशुपतिप्रसादमा बलियो देखिने र चलचित्रले सबैलाई समेट्ने खनालको भनाइ छ ।

सामान्यतया चलचित्रको सिक्वेल त्यतिखेर बनाइन्छ जतिखेर पहिलो सिरिजको कथा आधाअधुरो रहन्छ । तर, पशुपतिप्रसादको कथा पूर्ण थियो । अन्तिममा मुख्य पात्रको मृत्युसँगै चलचित्रको समापन भएको थियो । यस्तो अवस्थामा चलचित्रको दोस्रो सिरिज बन्नुलाई कसरी लिने ? के भष्मे डन व्यापारिक पाटोलाई मध्यनजर गरेर बनाइएको चलचित्र हो ?

उत्तर दिँदै खनाल भन्छन्, ‘हामीले बजारमुखी भएरमात्र चलचित्र बनाएका होइनौं । त्यस्तो प्रयास गरेका पनि छैनौं । हाम्रो नितान्त राम्रो चलचित्र आउनुपर्छ भन्ने धारणा हो । भष्मे डनमा पशुपतिप्रसादको लिगेसीलाई बिगार्ने काम कतै गरिएको छैन । चलचित्र हेरेपछि हामीले कस्तो काम गरेका छौं भन्ने थाहा पाइहाल्नुहुन्छ ।’

खनालको अभिव्यक्तिमा समर्थन जनाउँदै चलचित्रका निर्माता तथा लेखक खगेन्द्र लामिछाने जोड्छन्, ‘मलाई चलचित्र ‘युनिभर्स’ को हिसाबमा बनाउँ जस्तो लाग्छ, फरक फरक कथा बोक्नेवाला । नयाँ–नयाँ पात्र भएको । सधैं एउटै पात्र र एउटै चरित्र हेर्दा कुनै न कुनै क्षणमा गएर दर्शकलाई पनि दिक्क लाग्छ । त्यसैले पहिलो भागमा पशुपतिप्रसादको मृत्यु भए पनि हामीले दोस्रो भागमा फरक व्यक्तिको कथा ल्याएका हौं । राम्रो चलचित्र बनाउँ भन्ने हो । बाँकी हामीले केही सोचेका छैनौं ।’

भष्मे डनमा ‘सिंक साउन्ड’को प्रयोग गरिएको छ । नेपाली चलचित्र हेर्दा अधिकतम दर्शक र समीक्षकको कान दुख्यो भन्ने खालका गुनासा धेरै सुनेकाले भष्मे डनमा सिंक साउन्ड प्रयोग गरिएको निर्देशक खनालले बताए ।

‘पशुपति जस्तो ठाउँमा सिंक साउन्ड गर्न नसकिएला भन्ने थियो । छायाँकनको दौरान एकदमै गाह्रो भयो पनि । एक त त्यस्तो भीडभाड ठाउँ, त्यसमाथि एकएक छिनमा प्लेन उडेको आवाज आइरहने’, सिंक साउन्डको अनुभूति सुनाउँदै खनाल भन्छन्, ‘डिस्टरबेन्स धेरै थियो । रिटेक धेरै गर्नुपर्‍यो । आर्थिक स्थितिको हिसाबले हेर्ने हो भने निर्मातालाई पनि गाह्रो थियो । त्यति हुँदाहुँदै पनि हामीले गर्‍यौं ।’

सिंक साउन्ड टेस्ट गर्न निर्माण टीमले हलमा तीन चोटी चलचित्र हेरेको थियो । टेस्टपछिको अनुभव साट्दै खनालले भने, ‘हामी जहिले समीक्षकहरुबाट नेपाली चलचित्र हेर्दा कान दुख्यो भन्ने समीक्षा गरेको देखिरहेका हुन्थ्यौं । तर, भष्मे डनको साउन्ड सुनेपछि आफैंलाई आनन्द लाग्यो । मैले अहिलेसम्म गरेको काममध्ये यो मेरो उत्कृष्ट हो । कानलाई आनन्द आउने चलचित्र बनेको छ । हामीले गरेको मेहनत र लगानी सफल भएको छ ।’

पशुपतिप्रसादले पाएको दर्शकको माया र साथका कारण भष्मे डनको चर्चा हुनु स्वाभाविक हो । चर्चाचर्चैमा सीमित रहला या दर्शकले चलचित्र साँच्चैको मन पराउलान्, त्यो भने आउने दिनले बताउनेछ ।

यता चलचित्रमा दुर्गा माताको भूमिका निभाएकी अभिनेत्री स्वस्तिमा खड्का पनि भष्मे डन आफ्नो लागि चुनौती मान्छिन् ।

‘यो पात्र नै मेरो लागि चुनौतीपूर्ण थियो । किनकि मैले अगाडि निभाएका पात्रहरु कुनै न कुनै चलचित्रमा कोही न कोही अभिनेत्रीहरुले गरिसक्नु भएको हो । तर, यो दुर्गा माताको चरित्र कमै अभिनेत्रीहरुले निभाउनुभएको छ । सुरुमा कस्तो होला भन्ने थियो । तर, पात्र सुन्नेबित्तिकै गर्न उत्साहित भएकी थिएँ ।’

स्वस्तिमाले निर्देशक खनालसँग धेरै चलचित्रहरुमा सहकार्य गरिसकेकी छन् । आफ्नो करियरको सुरुवातबाट नै खनालसँग काम गर्दै आएकाले उनलाई आँखा चिम्लेर विश्वास गर्न सक्ने स्वस्तिमाको भनाइ छ । भष्मे डनको सिक्वेल र खनालको निर्देशन नभएको भए काम गर्न एकचोटी सोच्नुपर्ने उनको भनाइ छ ।

स्वस्तिमाका लागि पनि यो चलचित्र केही विशेष छ । उनले पहिलो चोटि पशुपति क्षेत्रमा छायाँकन गरेको चलचित्र हो यो । छायाँकनको पहिलो दिन पहिलो टेकबाट नै उनलाई भिन्न आभाष भएको थियो । उनी चलचित्रमा भावुक दृश्यहरु गर्न पनि आफूलाई गाह्रो नभएको बताउँछिन् ।

‘हामी कलाकार भए पनि जतिखेर भन्यो त्यति खेर भावुक हुन वा रुन गाह्रो पर्छ । त्यसैले कति वटा भावुक दृश्यहरुमा हामी ग्लिसिरिन प्रयोग गर्छौं । दीपेन्द्र दाइको हकमा भने केही फरक छ । उहाँले ग्लिसिरिन प्रयोग गर्न त्यति दिनुहुन्न’, उनले भनिन्, ‘यस्तो अवस्थामा कहिलकाहीं भनेको बेलामा पात्रमा डुब्न सकिन्न । चलचित्रमा दुर्गा र भष्मेको एउटा भावुक दृश्य छ । त्यो दृश्यमा थाहा छैन किन मैले आफू कमजोर भएको महसुस गरें । भावुक हुन मलाई गाह्रै भएन ।’

‘सायद पशुपतिको इनर्जीले होला । दाइहरुले भनेको त सुनेकी थिएँ । तर, त्यो दृश्यपछि भने मैले आफैं महसुस गरें । मैले खगेन्द्र दाइलाई पनि सुनाएँ । त्यसै पनि जीवनको अन्तिम क्षणमा जाने ठाउँ हो पशुपति । दुःख पर्दा दुःख बिसाउन जाने ठाउँ हो पशुपति । त्यहाँ छायाँकन गर्दागर्दै मान्छे जलाएको देखिन्थ्यो । मान्छे रोएको देखिन्थ्यो । त्यहाँको इनर्जी नै केही फरक छ’, उनी थप्छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *