राष्ट्रिय राजमार्ग र बुटवललाई गिज्याइरहेको ३ किमि सडक: ८ वर्षमा ३५ करोड खर्च भयाे, बनेन बाटाे – Nepal Press

राष्ट्रिय राजमार्ग र बुटवललाई गिज्याइरहेको ३ किमि सडक: ८ वर्षमा ३५ करोड खर्च भयाे, बनेन बाटाे

बुटवल । भारतले केही समयअघि सय घण्टामा सय किलोमिटर सडक स्तरीय पिच गरेर विश्व कीर्तिमान बनायो । उत्तर प्रदेशका औद्योगिक र कृषि क्षेत्र तथा शैक्षिक संस्थाहरु लाई एउटै सडक सञ्जालमा जोड्ने गरी गाजियाबाद-अलिगढ एक्सप्रेस वेको निर्माण गरेर भारतले इतिहास रचेको हो ।

हामीकहाँ यस्ता कुरा एकादेशका कथा जस्ता हुन्छन् । अझ अहिले त काम सम्पन्न कतिपय योजनाको समेत राज्यले भुक्तानी दिन सकेको छैन । ठेक्काअनुसार अर्बौं बराबरका काम भएको वर्षदिन बित्दासमेत पैसा नदिएपछि सरकारविरुद्ध देशभरका निर्माण व्यवसायीहरुले विरोध प्रदर्शनसमेत गरेका थिए । देशभरका ठूला-साना निर्माण व्यवसायीहरु काठमाडौंसम्म पुगेर विरोध प्रदर्शन गरेका थिए ।

निर्माण व्यवसायीहरु भुक्तानीको लागि आन्दोलित हुँदा बुटवलको मुख्य बजार क्षेत्रमा रहेको सवा तीन किलोमिटर सडक निर्माण सुरु भएको झण्डै एक दशक पुग्न लाग्दा पनि पूरा भएको छैन । २०६९ सालमा ४ लेनमा निर्माण भएको यो खण्ड पछि ६ लेनमा विस्तार गर्ने योजना अघि बढेको थियो ।

उक्त योजनाअनुसार ६ लेन सडकको काम सुरु भएर हालसम्म पूरा नहुँदा यस क्षेत्र अस्तव्यस्त जस्तै छ । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको ३.२५ किमि सडक विस्तारको काम अलपत्र हुँदा दुर्घटनाको जोखिम बढाइरहेको छ ।

सडकको काममा हालसम्म करिब ३५ करोड रुपैयाँ खर्च भइसकेको छ । तर, आधा पनि काम भएको छैन । मुख्य सडकमा हाल सामान्य लेभल मिलाउने डीबीएमको काममात्रै भएको छ । मुख्य पिचको काम त सुरु भएकै छैन । यो सडकमा अन्तर्राष्ट्रिय स्तरको अस्फाल्ट पिच गर्ने योजना छ ।

सुरुका केही वर्ष साइट क्लियर नहुँदा र मुद्दा मामिलाको झमेला हुँदा निर्माण कार्य प्रभावित भएको थियो । पछि यी सबै समस्या समाधान हुँदासमेत कामले गति लिन सकेन । सम्झौताअनुसार २०७६ असोज १२ गतेसम्म सक्नुपर्ने थियो । तर, काम भएन । म्याद भने थपेको थपेयै छ ।

अन्तिम पटक भन्दै थप भएको म्यादको अवधि पनि २०७९ चैत ३० गते सकिइसकेको छ । यो अवधिमा पनि पूरा नभएपछि फेरि २०८० असार मसान्तसम्मका लागि म्याद थपिएको थियो । यसपछि धूलो उड्ने क्षेत्रमा टालटुल भयो, पुष्पलाल पार्क र चौराहाका गोलचक्करमा ढलान भयो । तर, अरु प्रगति भएन । अहिलेसम्म यो सडक खण्डमा ४८ प्रतिशत जति मात्रै काम भएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।

डिभिजन सडक कार्यालय बुटवलका प्रमुख डीई विसुनदास लामाले मुख्य बजार क्षेत्रको मुख्य सडक खण्डमै निर्माण कार्य सुस्त हुँदा नकारात्मक सन्देश गइरहेको बताए ।

साह्रै ढिलासुस्तीमा निर्माण भइरहेको र पटक पटक म्याद थप्दासमेत प्रगति शून्य जस्तै रहेकोलगायतका विवरणसहित माथिल्ला निकायमा पत्राचार गरिएको डीई लामाले बताए ।

निर्माण कम्पनीका सञ्चालक पेम्बा लामा लामो समयदेखि सम्पर्कमा नरहेको यहाँका इञ्जिनियरहरु बताउँछन् । कम्पनीका प्रतिनिधिसमेत लामो समयदेखि कार्यालयको सम्पर्कमा आएका छैनन् । तर, फेरि म्याद थप गरिपाउँ भन्दै निवेदन भने कार्यालयमा पेश भएको छ ।

बुटवलको मुख्य बजार क्षेत्रमा जम्मा ३.२५ किलोमिटर सिद्धार्थ राजमार्गको खण्ड हो । यही खण्डमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग पनि पर्छ । दुई महत्वपूर्ण र अन्तर्राष्ट्रिय राजमार्ग क्षेत्र र बुटवलकै मुख्य बजार क्षेत्र विगत ८ वर्षदेखि कुरुप जस्तै छ ।

‘यहीका बासिन्दा हौं, यही सडकका उपभोक्ता पनि हौं, ठेकेदारलाई बिन्ती बिसाएर काम गराउन परिरहेको छ । तर पनि प्रगति पटक्कै भएन’, सडक निर्माणको साइट हेरिरहेका सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर अरुण खत्रीले गुनासो गरे ।

इन्जिनियर खत्रीले सडकको स्वेतपत्र जस्तै प्रतिवेदन माथिल्ला निकायमा रायसहित पेश गरिएको बताए ।

सडकको काममा भएको चरम ढिलाइले यस क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ । राजमार्ग क्षेत्रका सर्वसाधारण, व्यवसायी सबैले सडकका कारण सास्ती खेप्नु परेको छ । सडक निर्माण नसकिँदा धेरै व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् ।

ट्राफिक चोकमा फेन्सी पसल सञ्चालन गर्दै आएका युवा व्यवसायी नारायण रायमाझीले प्रमुख सडक खण्डको बेहाल अवस्थाले व्यापार व्यवसायमै नकारात्मक प्रभाव पारेको गुनासो गरे ।

‘यसै पनि आर्थिक मन्दीको बेला छ । अर्कोतर्फ बाटो खतम छ भनेर ग्राहकहरु नै कममात्रै आउन थालेका छन्’, उनले भने ।

सडक विस्तारका लागि घर भत्काउन थालेदेखि नै मुख्य सडक खण्डका मात्रै होइन भित्री खण्डका पसलमा समेत असर गरेको छ । राजमार्गमा जोडिएका घरमा रहेका कैयौंका पसल यसअघि नै विस्थापित भइसकेका छन् ।

‘अहिले त झन् व्यापार पनि छैन, चर्को घर भाडा तिरेर पसल गर्ने अवस्था पनि छैन’, औषधि व्यवसायी रामप्रसाद खरेलले भने, ‘आफ्नै घरमा क्लिनिक र औषधि पसल छ । तर, सडकको हालतले व्यवसायमा नकारात्मक असर पारेको छ ।’

रुपन्देही व्यापार सङ्घका अध्यक्ष कृष्णप्रसाद घिमिरेले सडक विस्तारमा भइरहेको लापरबाही र ढिलासुस्तीले व्यवसायी विस्थापित हुनुपरेको गुनासो गरे ।

बुटवल उद्योग वाणिज्य सङ्घका महासचिव मुक्ति अधिकारीले सडक निर्माणमा भइरहेको ढिलाइको मार आम बुटवलवासी र सडक हुँदै हिँड्ने सबैले खेप्नुपरेको बताए ।

ठेकेदारलाई ३५ करोड भुक्तानी

दि कञ्चनजंघा-विरुवा जेभीले उक्त सडक खण्डका लागि हालसम्म २७ करोड ४० लाख ६७ हजार भुक्तानी लगिसकेको छ । उसले ७ करोड ४६ लाख रुपैयाँ बराबरको पेश्की लगेको छ । यसको फर्छयोट गर्नै बाँकी छ ।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले पटक पटक गरेर भुक्तानी भएको, म्याद थपिएको तर, काममा प्रगति नभएपछि कार्यालयले विकल्पको खोजी गरेर प्रतिवेदन माथि पठाएको जानकारी दिए ।

६५ करोड लागत इस्टिमेट रहेको उक्त योजनाको लागि दि कञ्चनजंघा-विरुवा जेभीले भ्याटसहित ५३ करोड ९७ लाख ९९ हजार ४६७ रुपैयाँमा ठेक्का लिएको थियो । २०७३ चैत १७ गते ठेक्का सम्झौता भएको थियो ।

तीन पटकसम्म म्याद थपिँदा पनि प्रगति नभएपछि सम्बन्धित अधिकारीहरु ठेक्का तोड्ने मनस्थितिमा पुगेको स्रोतले बताएको छ । सडकको अवस्था हेरिरहेका सम्बन्धित इन्जिनियरहरुले रायसहितको विस्तृत प्रतिवेदन सडक निर्देशनालय काठमाडौंमा पठाइसकेका छन् ।

ठेक्का तोड्दा राज्यलाई अर्को ठेक्का लगाउन चाहिने करिब २६ करोड बराबरको रकमको जोहो नभएकाले यसबारेमा निर्णय हुन ढिलाइ भइरहेको स्रोतले बताएको छ । ठेक्का तोडियो भने निर्माण कम्पनी स्वतः कालोसूचीमा पर्नेछ । उसले लगेर फर्छ्योट गर्न बाँकी करिब ८ करोड रकमको दोब्बर जरिवाना तिर्नुपर्ने हुनसक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर