बागमतीमा पनि पर्न सक्छ कोशीको बाछिटा : इन्द्र बानियाँसहित कांग्रेसका २० सांसदको फरक कित्ता – Nepal Press

बागमतीमा पनि पर्न सक्छ कोशीको बाछिटा : इन्द्र बानियाँसहित कांग्रेसका २० सांसदको फरक कित्ता

हेटौँडा । संविधानको धारा १६८ (५) अनुसार कांग्रेसबाट विद्रोह गरेर कोशीका केदार कार्की मुख्यमन्त्री भएसँगै अब त्यसको बाछिटा अन्य प्रदेशमा पनि देखा पर्ने सङ्केतहरू देखिन थालेको छ । अन्य प्रदेशमा पनि असन्तुष्ट पक्षहरूले सरकार गठनको प्रक्रिया थाल्न सक्ने सम्भावनाका खेलहरू हुने अनुमान गर्न सकिन्छ ।

१ सय १० जना प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा पनि कोशीको प्रभाव देखिन सक्ने यहाँका सांसदहरूले बताउन थालिसकेका छन् । अहिले बागमती प्रदेश सरकार माओवादी नेतृत्वमा रहेको छ ।

बागमतीमा सबैभन्दा ठूलो दलको हैसियत बनाएको नेपाली कांग्रेसले ६ वटा मन्त्री लिएर तेस्रो शक्तिको रूपमा रहेको माओवादी केन्द्रलाई सरकारको नेतृत्व सुम्पेको छ ।

तर, कांग्रेसभित्र शालिकराम जम्कट्टेल सरकारको तीव्र आलोचनाहरू भइरहेको सन्दर्भमा कोशीको अर्को रूप बागमती पनि बन्न सक्ने आङ्कलन हुन थालेको हो ।

कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँको संसदीय नेता चुनावदेखिको टकराव कांग्रेस बागमती अझै छ । लामाले आफूखुसी मन्त्री नियुक्त गरेको विषयमा कांग्रेसमा ठूलै रडाको मच्चिएको थियो ।

कांग्रेसका प्रमुख सचेतक कुन्दनराज काफ्लेको राजीनामा पनि सोही कारण आएको कांग्रेसभित्र चर्चा छ । पछिल्लो समयमा कांग्रेस संसदीय दलका बानियाँको बढ्दो प्रभावले लामालाई समस्यामा पार्न थालेको चर्चाबिच कोशीमा देखिएको सत्ता समीकरणले बागमतीमा छाल ल्याइएको थियो ।

बागमतीमा सरकार गठनको समस्यालाई माओवादीले राम्रोसँग आङ्कलन गरिसकेको छ । करिब एक सय दिन एउटा मन्त्रीलाई विनाविभागीय बनाइदिएको आरोप जम्कट्टेलले खेप्दै आएका छन् ।

यता कांग्रेसभित्रै आफू प्रतिपक्षको भूमिकामा रहेका बानियाँले सार्वजनिक रूपमै बताउने गरेका छन् । बानियाँ निकटका सांसदहरुलाई लामाले हेर्ने दृष्टिकोणले यस्तो भएको हो । यस्तो बानियाँ निकटका सांसदहरूले कोशीको जस्तो कदम चाल्न सकिने बताउन थालेका छन् ।

हाल बागमतीमा कांग्रेसका ३७ सांसद छन् । लामाले २१ मत प्राप्त गर्दै संसदीय दलमा विजयी बन्दा बानियाँको पक्षमा १६ मत आएको थियो । तर स्थिति अहिले त्यस्तो नरहेको बानियाँनिकट सांसदहरूको दाबी छ ।

‘त्यो बेलाको अवस्था र अहिलेको अवस्थामा धेरै फरकपन आइसक्यो, यति बेला बानियाँको ग्रिपमा संसदीय दल छ’, बानियाँ निकट एकजना नेताले भने ।

यसो हुँदा बानियाँ संसदीय दलमा हाबी हुन सक्छन् । चालू आर्थिक वर्षको बजेटमा पनि बानियाँ पक्षको सांसदहरूले हालेका योजनाहरू नपरेको गुनासो खेप्दै आएको जम्कट्टेल र लामालाई कोशीको नयाँ राजनीतिक ‘कोर्स’ ले झस्काउन सक्ने आङ्कलन सुरु भैसकेको छ ।

हाल बागमतीमा कांग्रेसको ३७, माओवादी २१, एकीकृत समाजवादी ७ सिटसहितको सरकार छ । २ सीट रहेको हाम्रो नेपाली पार्टी सरकारलाई समर्थन गरेको छ ।

बागमतीमा एमाले २७ सीट एमालेको छ भने राप्रपा १३ र नेमकिपा ३ सीटसहित प्रतिपक्षको भूमिकामा छन् ।

तर कांग्रेसमा विद्रोह भएको अवस्थामा करिब २० सांसदहरू बानियाँको पक्षमा खुल्न सक्ने सम्भावना देखिन्छ । यसो हुँदा नयाँ समीकरणको सरकारको सम्भावना खुल्ला रहेको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर