मन्त्री किराँतीज्यू, पर्यटन व्यवसायको पीडा सुन्नुस्- यो पाँच बुँदे ब्रिफिङ मनमा गुन्नुस् – Nepal Press

मन्त्री किराँतीज्यू, पर्यटन व्यवसायको पीडा सुन्नुस्- यो पाँच बुँदे ब्रिफिङ मनमा गुन्नुस्

माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीज्यु नमस्कार ! तपाईं मन्त्री हुनेबित्तिकै तपाईंले बोलेका कुराहरु सुन्दा साँचै केही गर्नुहुन्छ होला जस्तो लागेको थियो । धेरैपछि देशले एक तीव्र इच्छा बोकेको केही गर्ने मन्त्री पायो भन्ने लागेको थियो । तर, विडम्बना दिनहरु बित्दै गए, मेरा आशाहरु निराशामा परिणत हुँदै गए । कथाहरु धेरै छन्, कहाँबाट सुरु गरौं खोइ ? एउटै पत्रमा सबै भावना पोख्न सकिन्न । तर पनि केही नभनी नभएका पीडाहरु लेख्दैछु ।

ट्रेकिङको मुख्य सिजनमा अलपत्र पर्यटक

मौसमका हिसाबले अक्टोबर र नोभेम्बरमा विदेशी पर्यटकहरु पदयात्रा गर्न आउने गर्छन् । दुर्भाग्यबस विगत केही वर्षदेखि यो सिजनमा मौसमको खराबीले गर्दा उनीहरु मुख्यतः लुक्लाको उडान नियमित नहुँदा अप्ठेरोमा परेका छन् । केही वर्ष अघिदेखि काठमाडौंबाट उडान रोकी रामेछाप सारिएको छ । यो तालिका आफैंमा सकसपूर्ण छ । हाल मौसमका कारण उडान रोकिएको छ, जहाँ खासै पर्यटकस्तरका होटेलहरु छैनन् । खाने र बस्ने सहज व्यवस्थापन छैन । पर्यटकहरु अलपत्र छन् ।

कहीं नभएको जात्रा हाँडीगाउँको भने झैं हेलिकोप्टरको उडानमा तपाईंले लगाइदिएको अति झन्झटिलो नियमले गर्दा पर्यटकहरुले महँगो पैसा तिरेर पनि सहज ढंगबाट उडान गर्न पाएका छैनन् । पर्यटकहरु विमानस्थल वरपर अति कठिन समय बिताउन बाध्य छन् । यसबाट संसारभर देशको बदनाम भएको छ । यस्तो अवस्थामा पर्यटकहरुको उद्धार गर्नु राज्यको दायित्व होइन र मन्त्रीज्यू ? नेपाली सेनासँग दर्जनौं हेलिकोप्टर छन् । कम मूल्यमा संकटमा परेका पर्यटकको उद्धार गर्न सकिन्न र ? नेपाली सेनाको हेलिकोप्टरले पैसा लिएर गन्तव्यमा पुर्‍याउँदा कति खुशी हुने थिए होलान् उनीहरु ! यसो गरिएको भए नेपाल सरकारले हरेक पर्यटकको भ्रमण सहज बनाउँछ भन्ने सन्देश संसारभर फैलिने थियो । निजी हेलिकोप्टरहरुलाई अनावश्यक नियम बनाएर सहज उडानलाई असहज बनाएको छ तपाईंको मन्त्रालयले । हो, अन्तभन्दा हामीकहाँ अलि बढी नै हवाई दुघर्टना भयो । त्यसको समाधानको नाममा हेलिकोप्टर कम्पनीहरुलाई दुनियाँमा कहीं नभएको नियमले बाँधेर सहज उडान गर्न नदिँदा पर्यटकहरुले झन धेरै दुःख पाए मन्त्रीज्यू !

कालापत्थर पुग्ने धोको अधुरै

धेरै विदेशी पर्यटकहरु समयको कारण पदयात्रामा लामो दिन बिताउन चाहँदैनन् । कतिपय स्वास्थ्य अवस्थाले पनि सहज महसुस गर्दैनन् । तर, उनीहरु हेलिकोप्टरबाट आधार शिविर पुगेर जीवनलाई सार्थक बनाउन चाहन्छन् । हजारौं डलर खर्चेर सगरमाथा अवलोकन गर्न नेपाल आउने गर्छन् । विगत केही वर्षदेखि हेली टुरको राम्रो व्यापार भएको थियो, देशमा राजस्व भित्रिएको थियो । व्यवसायीले दालभात खान पाएका थिए । विनाकुनै अध्ययन, कुनै एक दुर्घटनालाई आधार बनाएर हचुवाको भरमा व्यवसायिक उडान रोक्नु कति न्यायोचित हो ? के अब कुनै दुर्घटना हुन्न ? आजसम्म कुन चाहिँ व्यवसायिक उडान भरेको हेलिकोप्टर दुर्घटना भएको छ ? भन्न सक्नुहुन्छ ?

कहीं नभएको जात्रा हाँडीगाउँको भने झैं हेलिकोप्टरको उडानमा तपाईंले लगाइदिएको अति झन्झटिलो नियमले गर्दा पर्यटकहरुले महँगो पैसा तिरेर पनि सहज ढंगबाट उडान गर्न पाएका छैनन् । पर्यटकहरु विमानस्थल वरपर अति कठिन समय बिताउन बाध्य छन् । यसबाट संसारभर देशको बदनाम भएको छ ।

खाना खाँदा पखाला भयो भने खाना खान नै बन्द गर्ने हो र ? हामी क्वालिटी टुरिजमको कुरा गर्छौं । तर, पैसा तिरेर सगरमाथा हेर्ने हेलिकोप्टरमा जाने पर्यटकलाई अनुमति दिँदैनौं । के यसैगरी बढ्छ क्वालिटी टुरिजम ? कतिपय पदयात्रा क्षेत्रमा गएका पर्यटकहरु बिरामी पर्दा यथाशीघ्र हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने हुन्छ । तर, निषेधित क्षेत्रको नाममा उद्धार अनुमति लिन लामो समय लाग्छ, जसबाट पर्यटकहरुको ज्यान नै जाने खतरा छ । बिरामी ल्याउनसमेत अनुमति लिनुपर्ने कस्तो विडम्बना हो यो ? यसलाई परिमार्जन गराउन सकिन्न ?

पर्यटन बोर्ड

निजी साझेदारीमा स्थापित मुलुकको पर्यटन प्रवर्द्धन गर्ने मुख्य अड्डा हो बोर्ड । यो संस्था सदैव भद्रगोल बनेको छ । यहाँसम्म कि असारभित्र पास गरिसक्नु पर्ने बोर्डको बजेट बल्ल असोजमा आएर पास भएको छ । सन् १९८० देखि निरन्तर हुँदै आएको विश्वको एक प्रमुख पर्यटन मेला डब्ल्यूटीएममा पहिलो पटक नेपालको उपस्थिति हुने छैन । के हो राष्ट्रिय लज्जाको विषय होइन ? हुन त मन्त्रीज्यू भन्नुहुन्छ रे- भारत र चीनमा मात्र प्रचार गरे पुग्छ । त्यसो भए बोर्डले भारत र चीनबाहेक अन्त प्रचारप्रसार गर्नु नपर्ने कानून बनाएर दिनुहोस् । नेपाल भ्रमण गर्ने कुन देशका पर्यटकले बढी खर्च गर्छन् भन्ने जानकारी छ तपाईंसँग ? तपाईंलाई संख्या धरै चाहिएको कि डलर धेरै भित्र्याउनुपर्ने हो ? स्पष्ट नीति बनाइ दिनुहोस्- अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया जस्ता देशहरुमा बोर्डले प्रचारप्रसार नगर्नु भन्ने ! मार्केटिङ गर्दा कहाँबाट बढी डलर भित्रिन्छ त्यो हेर्नुपर्दैन र ? बोर्डलाई निर्देशन दिनुहोस्, अनावश्यक हस्तक्षेप नगर्नुहोस् ।

पर्यटन प्रचार गर्ने मुख्य काम बोर्डकै हो । काम गर्न दिनुहोस् ।

नागरिक उड्डयन प्राधिकरण

झट्ट हेर्दा प्राधिकरण मन्त्रालयभन्दा माथि झैं देखिन थालेको छ । खासगरी हेलिकोप्टरको उडानमा प्राधिकरण अति कन्जर्भेटिभ बनेको छ । अनावश्यक किचलो गरेर पर्यटकहरुलाई सहज सेवा दिन बन्देज लगाएको छ । तपाईं र प्राधिकरणका महानिर्देशकबीचका मतभेदहरु छताछुल्ल भएका छन् । अघिल्लो सरकारले राष्ट्रियसभाबाट पास गरेको प्राधिकरण छुट्याउने विधेयक किन अगाडि बढाउनुहुन्न ? यो विषयसँग हाम्रो युरोपलगायत विभिन्न मुलुकहरुसँगको उडान अवरुद्ध छ । ईयू र आईकाओले रेगुलेटिङ बडी र अपरेटिङ बडी एकै संस्था हुन सक्दैन भन्ने प्रमुख मुद्दा उठाएको छ । हामीलाई कालोसूचीबाट हटाउन र अन्य मुलुकसँग हवाई सम्बन्ध विस्तार गर्न, किन यति महत्वपूर्ण विधेयक अड्काएर राख्नुभएको मन्त्रीज्यू ? जवाफ छ ।

नेपाल एअरलाइन्स

मन्त्री बनेपछि तपाईं नेपाल एअरलाइन्स पुगेर ब्रिफ लिँदै गर्दा बोलेको सुनेर खुब आनन्द आएको थियो । साँचै कसैले सुधार्न नसकेको संस्था अब सुध्रिन्छ कि झैं लागेको थियो । तर, दिनहरु बित्दै गए, नेपाल एअरलाइन्सको दुर्दशा दिनानुदिन झन् बढ्दै गएको छ । हवाईविज्ञहरुका अनुसार जहाजको इञ्जिन मर्मतमा ६० देखि ७० करोड खर्च हुन्छ । आफ्नो इञ्जिन मर्मत नगरी इञ्जिन भाडामा लिएर लगभग ३ अर्ब सकिएको छ । के यसरी नै जान्छ यो संस्थान नाफामा ? अन्तर्राष्ट्रिय गन्तव्यहरुमा जहाज उडाउन सामान्य प्रयत्नसमेत गर्न सक्नुभएन ।

तपाईं मन्त्री बनेपछि मातहतका कुनै संस्थासँग पनि तपाईंको राम्रो सम्बन्ध छैन । उदाहारणका लागि नेपाल एअरलाइन्सको अध्यक्ष, क्यानका डीजी, पर्यटन बोर्डको सीईओसँग तपाईंको राम्रो सम्बन्ध देखिँदैन । यी सबै खराब, तपाईं सही हुनुहुन्छ मन्त्रीज्यू ?

अतः गफ होइन, काम गर्नुहोस् मन्त्रीज्यू । आफू मातहतका कर्मचारीहरुलाई हातमा लिएर सकारात्मक रिजल्ट निकाल्नुहोस् । मिडियामा चर्का कुरा गरेर देश बन्नेवाला छैन । पर्यटन त गफले होइन एक्सनबाट मात्र परिवर्तन हुनेछ । कृपया एक्सनमा उत्रनुहोस् । नत्र तपाईं पनि आउनुभयो, जानु भयो र हात लाग्यो शून्यमात्र हुनेछ ।

बाँकी अर्को पत्रमा !

उही तपाईंको शुभचिन्तक
राजेन्द्रप्रसाद सापकोटा
पर्यटन व्यवसायी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *