नेपाली जनतासँग हामी प्यालेस्टाइनीहरूको अपेक्षा – Nepal Press

नेपाली जनतासँग हामी प्यालेस्टाइनीहरूको अपेक्षा

आफू संलग्न नभएको युद्धमा नेपालले व्यहोरेको क्षतिप्रति हामीलाई पीडा छ, अल्लाहसँग प्रार्थना गर्छौं ती महान् नेपालीलाई जन्नत मिलोस्

प्रिय मित्र,

ठीक ११ वर्षअघि तिमी र मेरोबीच अमेरिकाको राजधानी वासिङ्टन डिसीमा भेट भएको थियो । हामी एउटै मिसनमा थियौं । अमेरिकी विदेश मन्त्रालयले उपलब्ध गराएको सरकारी कार्यक्रम टिभी ब्रोडकास्ट जर्नालिजमको अध्ययन भ्रमण थियो हाम्रो । तिमी र मजस्तै विभिन्न १९ देशका २२ जना टिभी पत्रकारहरू थियौं हामी ।

करिब चार साताको सहयात्रामा तिमी र मबीच धेरै कुरा भएका थिए, जुन कुरा जान्न अरुभन्दा बढी जिज्ञासु तिमी थियौ । तिमी मसँग जिज्ञासु पत्रकारका रूपमा प्रस्तुत भइरहँदा कतिपय बेला मैले झर्को मानेकी थिएँ । किनकी मलाई त्यो रुचिको विषय थिएन त्यो बेला ।

मलाई थाहा छ,तिमीले प्यालेस्टाइनको इतिहास र यहुदीको अतिक्रमणबारे मसँग धेरै जानकारी लिन खोजेको थियौ तर मैले त्यसबेला तिमीले चाहेजति भन्न चाहिन वा सकिन थाहा छैन । तर, आज अचानक १० जना नेपालीले पछिल्लो युद्धमा अनाहकमा ज्यान गुमाएको समाचार पश्चिमा मिडियाहरूमा पढेर धेरै पीडा भयो । अनि मैले तिमीलाई सम्झिएँ र हाम्रा अमेरिका बसाइका क्षणहरू पनि ।

(लेखिका (स्कार्फ लगाएकी) अमेरिकामा नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेलसँगको तस्बिर)

यो युद्धमा १० जना महान युवालाई नेपालले अनाहकमै गुमाएको समाचारले मलाई असाध्यै पीडा भइरहेको छ । तिमीले मलाई नेपाली विद्यार्थी हराइरहेको जानकारी दिँदा म बेचैन भइसकेकी थिएँ । तर, हामीले गर्न सक्ने पनि त केही छैन । नेपाली युवाले विना कुनै कारण र युद्धको कुनै पक्षमा नहुँदा ज्यान गुमाएका छन् ।

नेपालको यो वियोगान्त क्षतिका लागि प्यालेस्टाइनी जनताकोतर्फबाट गहिरो दुःख छ । हामी अल्लाहसँग प्रार्थना गर्र्छौ कि ती महान् आत्मालाई जन्नत (स्वर्ग) मिलोस् । अझै केही नेपालीहरू सम्पर्कमा नरहेको र धेरैले निकै अत्यासपूर्वक इजरायलमा दिनहरू बिताइरहेको कुराप्रति सहानुभूति छ ।

म चाहान्छु उनीहरु सकुशल आफ्नो मातृभूमि फर्किन सकुन् । किनकी हामीलाई थाहा छ,देश नहुनुको पीडा । अनि हामीलाई थाहा छ,आफ्नो देशको महत्व । मैले केही दिनअघिमात्रै तिमीलाई मेसेजमा भनेकी थिएँ नि,यो युद्ध तथा ढिलो चाँडो अन्त्य होला । तर समस्या यो हो कि, यहाँ कुनै पनि न्याय छैन ।

मलाई थाहा छ, नेपाललगायत धेरै देशका नागरिकलाई पश्चिमा मिडियाले इजरायल र प्यालेस्टाइनका बारेमा परम्परागतरुपमै एउटा भाष्य बनाइदिएका छन् । हमास विद्रोही र प्यालेस्टाइनीहरूलाई एउटै श्रेणीमा पनि राखेका छन् । संसारका धेरै मान्छे भ्रममा छन् ।

पश्चिमा मिडियाको धेरै के कुरा गर्ने,हालैमात्र बीबीसीको एउटा समाचार तिमीले पढ्यौ होला । गाजामा इजरायलको आक्रमणबाट ५ सय मान्छे मारिए भन्ने त्यही मिडियामा हमासले सयभन्दा बढीको हत्या गरेको लेख्छ । मान्छेको जीवन पनि हत्या र मृत्युमा वर्गीकरण हुन्छ र ?

मुख्य कुरा के हो भने प्यालेस्टाइन र हमास फरक हुन् भन्ने बुझ्नुपर्छ । हमास प्यालेस्टाइनको सत्ता होइन । निर्दोष र निशस्त्र मान्छेहरुको हत्यामा कतै पनि प्यालेस्टाइनले समर्थन गर्न सक्दैन । तर पश्चिमाहरुले बनाएको न्यारेटिभले प्यालेस्टाइनलाई नै हमास ठान्न लगाइरहेको छ,मुख्य चिन्ता यो हो ।

यसको ऐतिहासिक पक्षबारे यहाँ म चर्चा गर्न सक्दिन तर प्यालेस्टाइनीहरु युद्ध र हिंसाको पक्षमा छैनन् । गाजामा जे भइरहेको छ,अहिले इजरायलमा जे भइरहेको छ त्यसमा प्यालेस्टाइनी छैनन् ।

गाजा स्ट्रिपको त के कुरा गर्ने ? त्यो तटमा बालबालिकालाई जन्मिने अधिकार छैन । जन्मिएपछि हुर्किने हक हुँदैन । लुकिछिपी हुर्किनेहरू बम र गोलाको शिकार बन्नुपर्छ । उनीहरूले आफू जन्मिएको माटोमा देशको नाम लेख्न पाउँदैनन् । उनीहरूको लागि मात्र किन यस्तो हुन्छ यो निर्दयी संसारमा ? उनीहरू हिंस्रक लडाकु हुन् कि देशविहीन निरीह अभागीहरू हुन् ? यसको बारेमा नेपालीहरूले राम्रोसँग थाहा पाउनुपर्छ । मलाई आशा छ नेपाली जनताले न्याय र आत्मसम्मानसहितको जीवनबारे बुझेका छन् ।

लेखिकाले नेपाली जनतालाई पठाएको सन्देश

म ती सबै नेपाली जनतालाई प्यालेस्टाइनप्रतिको सहानुभूतिका लागि धन्यवाद भन्न चाहन्छु । र, म आशा गर्छु कि नेपाली यस्ता मान्छे हुन् जसले प्यालेस्टाइनी जनताको स्वतन्त्रको हक बुझ्छन् र आत्मसम्मानका साथ बाँच्न पाउने हकबारे बुझेका मान्छे हुन् नेपाली ।

नेपाली जनताले प्यालेस्टाइनीहरूको माटो र मुक्ति खोसिएकोमा हामीलाई सहानुभूति दिनेछन् । हामीप्रतिको सहानुभूतिको लागि फेरि पनि धन्यवाद ।

अनि आशा छ हामी फेरि भेट्ने छौं ।

(प्यालेस्टाइनको बिर्जित विश्वविद्यालयमा पत्रकारिता तथा आमञ्चार विषयकी प्राध्यापक जुमानले नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेललाई पठाएको सन्देशको नेपाली अनुवाद ।)


प्रतिक्रिया

One thought on “नेपाली जनतासँग हामी प्यालेस्टाइनीहरूको अपेक्षा

  1. हो, निश्चय पनि प्यालेस्टाइन र इजरायल वीच  दशकौंदेखि द्वन्द कायम रहेको सर्वविदित तथ्य हो। यस द्वन्दमा अमेरिका शुरुदेखि नै संलग्न रहेको छ र राज्यबाट बंचित फिलिस्तिनीहरु अहिलेसम्म नै दमन-उत्पीडनको घुटनमा छन्।उनीहरु यसको प्रत्यक्ष कारण अमेरिकी-इजरायली नीति र व्यबहारमा देख्छन्। अमेरिकाले उनीहरु दुबैको सही ब्यवस्थापन गर्नुको साँटो इजरायलपट्टि लागेर अाफ्नो स्वार्थसिद्ध गर्न मात्र लागेकोले त्यस क्षेत्रमा दुखद स्थितिको सृजना भएको छ।
    मध्यपूर्वमा नयाँँ तनाव फैलिएको छ र विश्वको तङरिन लागेको अर्थतन्त्र मा अर्को चोट लागेको छ। यस दुखद परिघटनाले विश्वस्थितिमा चौतर्फी गंभिर असर गर्ने निश्चित छ।
    हमास आक्रमणको निहुँमा प्यालेस्टाइनको अस्तित्व नै समाप्त गर्ने गरी इजरायलले गर्नसक्ने सम्भाव्य अाक्रमणलाई रोक्न विवेकसम्मत पहल गर्नु विश्व समुदायको कर्तव्य बनेको छ । यसकाे निम्ति संयुक्त राष्ट्र सङ्घ,रूस, चीन, भारत, अरब राष्ट्रहरू र संयुक्त राज्य अमेरिका अादि जस्ता देशहरूको विवेकीशील र न्यायपूर्ण अग्रसरता अावश्यक बनेको छ र वार्ताद्वारा यसको समाधान गरिनुपर्छ। प्यालेस्टाइनीहरूले आफ्नो मुलुकको सार्वभौमसत्ता सम्पन्न भएर विकास र समृद्धि हासिल गर्ने हक निर्वाध उपयोग गर्न पाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *