इजरायलले भन्यो- हामी युद्धमा गयौँ, हमासको आक्रमणबाट २२ जनाको मृत्यु – Nepal Press

इजरायलले भन्यो- हामी युद्धमा गयौँ, हमासको आक्रमणबाट २२ जनाको मृत्यु

इजरायलस्थित नेपाल प्रेसकर्मी निता राउतका अनुसार हालसम्म नेपालीहरू सुरक्षित छन्

काठमाडौं । इजरायलले प्यालेस्टाइनको हमासविरुद्ध शनिवार युद्धको घोषणा गरेसँगै मध्यपूर्वमा अशान्ति मच्चिएको छ ।

प्यालेस्टिनी विद्रोहीहरूले इजरायलमाथि रकेट आक्रमण गरी २२ जनाभन्दा बढीको हत्या गरेपछि इजरायलले युद्ध घोषणा गरेको हो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले देश युद्धमा रहेको घोषणा गरेका छन् । उनले यसबाट हमासले ठूलो मूल्य चुकाउने चेतावनी समेत दिएका छन् ।

इजरायलमा काम गर्ने नेपालीहरू अहिलेसम्म सबै सुरक्षित रहेको खबर प्राप्त भएको जेरुसेलमबाट नेपाल प्रेसकर्मी निता राउतले जनाएकी छन् ।

उनले आफू अहिले एक नर्सिङ होमभित्र रहेको र बाहिर बमको आवाजहरू आइरहेको बताइन् ।

उनका अनुसार अहिलेसम्म इजरायलमा रहेका नेपालीहरू सुरक्षित रहेको खबर छ । रकेट आक्रमणमा दक्षिणी क्षेत्रको एक कृषि फार्ममा कार्यरत नेपाली कृषि विद्यार्थी घाइते भएको खबर आएपनि स्वतन्त्र पुष्टि भइसकेको छैन ।
उनी राजदूतावाससँग सम्पर्कमा छिन् । उनका अनुसार कतिपय कम्पनीले सबै नेपालीलाई एकै ठाउँमा राखेका छन् ।

शहरभित्रै छिरेर प्यालेस्टिनी उग्रवादीहरुले हमला गरेकाले बाहिर निस्कने अवस्था नरहेको नेपाल प्रेसकर्मी राउतले बताएकी छन् ।

इजरायली सेनाले अहिले गाजामा हवाई कारबाही थालेको छ ।

हमासका सैन्य कमाण्डर मोहम्मद डैफले हमास मिडियामा सम्बोधन गर्दै इजरायलमाथिको आक्रमण सुरू भएको बताएका थिए ।

उनले जुनसुकै ठाउँमा रहेका प्यालेस्टाइनीहरूलाई लडाइँमा भाग लिन आह्वान गरेका थिए ।

‘यो संसारमा भएको अन्तिम अतिक्रमणलाई समाप्त गर्ने विशाल लडाइँको दिन हो,’ उनले भनेका छन् ।

इजरायलमाथि ५ हजार रकेट प्रहार गरिएको उनको दाबी छ । हमास र इजरायलबीच सन् २०२१ मा पछिल्लो लडाइँ भएको थियो । उक्त लडाइँ १० दिनसम्म चलेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *