मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीले भर्न पाउने – Nepal Press

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीले भर्न पाउने

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेड अब शेयर बजारमा जाने भएको छ । कम्पनीले कात्तिक १० गतेदेखि आईपीओ निष्कासन गर्ने जनाएको छ । श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने अनुमति पाएको जनाएको छ ।

पहिलो चरणमा १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओका लागि कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सी-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

मुक्तिनाथ कृषि कम्पनी, कृषक तथा कृषि व्यवसायीहरुको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक गुणस्तरीय उत्पादनका साधनहरु जस्तै मल, बीउ, विषादी, औजार, उपकरणसहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको साथै कृषि सुनिश्चितता गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरणसम्बन्धी क्रियाकलापहरु गरिरहेको कम्पनीको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर